Follow us:


Follow us

१५ असोज २०८३, बिहिवार
१५ असोज २०८३, बिहिवार


राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने राप्रपाकाे निर्णय

एक्सन खबर
फागुन, २४, २०७९


राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने राप्रपाकाे निर्णय

काठमाडौं, २४ फागुन । राष्ट्रपति निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहभागी नहुने भएको छ । राप्रपाले राष्ट्रपति चयनका लागि भाेली हुने निर्वाचनमा कांग्रेस, एमाले दुवै उम्मेदवारलाई भोट नहाल्ने निर्णय गरेकाे हाे ।

राप्रपाको केन्द्रीय समितिको बैठकले राष्ट्रपति चुनावमा कुनै पनि उम्मेदवारलाई भोट नहाल्ने निर्णय गरेको प्रचार विभाग प्रमुखसमेत रहेका प्रवक्ता मोहन श्रेष्ठले बताए । 'राप्रपा नेपालले राष्ट्रपति निर्वाचनमा कुनै पनि उम्मेदवारलाई भोट नहाल्ने, निर्वाचन प्रक्रियामा सहभागी नहुने निर्णय गरेकाे छ,' उनले भने ।

राप्रपाको मतभार २ हजार ४५० रहेको छ । संघमा १४ र प्रदेशमा २८ सांसद छन् । राप्रपाले राजसंस्था पुन:स्थापनाको माग गर्दै आएकोले केन्द्रीय समितिमा राष्ट्रपति निर्वाचनमा भोट हाल्न नहुने मत बलियो भएकाे थियाे । राजसंस्था पुन:स्थापना मुख्य राजनीतिक ऐजेन्डा बनाउने दलले गणतन्त्रको प्रतीक मानिने राष्ट्रपतिमा मतदान गर्नु राजनीतिक कार्यदिशाभन्दा फरक हुने मत पार्टीभित्र प्रभावी भएपछि यो निर्णय आएको राप्रपाले जनाएकाे छ ।

राप्रपाले २०७४ सालमा भएको राष्ट्रपति निर्वाचनमा नेकपा एमाले उम्मेदवार विद्यादेवी भण्डारीलाई मत हालेको थियो । त्यसबेला संघीय संसद्‌मा राप्रपाका वर्तमान अध्यक्ष राजेन्द्र लिङ्देन मात्रै सांसद थिए । तत्कालिन परिस्थितिलाई दृष्टिगत गर्दै बृहत्तर राष्ट्रिय हित, एकता र प्रजातन्त्रको संरक्षण संवर्द्धनको साथै सबै पक्षहरुको बीच संयोजनकारी भूमिकाको अपेक्षा गर्दै राप्रपाले राष्ट्रपति निर्वाचनमा भण्डारीलाई मतदान गर्ने निर्णय गरेको थियाे ।

निर्वाचन आयोगले राष्ट्रपति पदको निर्वाचनको तयारी पूरा भएको जनाएको छ । भोलि बिहीबार नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा निर्वाचनका लागि मतदान केन्द्र तयार पारिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।  

नयाँ राष्ट्रपति चयनका लागि बिहीबार बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदान कार्यक्रम छ । राष्ट्रपति पदका लागि एमालेबाट सुवासचन्द्र नेम्वाङ र कांग्रेसबाट रामचन्द्र पौडेल उम्मेदवार छन् ।

राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सभा, प्रतिनिधिसभा र प्रदेश सभाहरूका सांसद मतदाता हुने संवैधानिक व्यवस्था छ । राष्ट्रपति निर्वाचनका लागि मतदान संघीय संसद् भवन नयाँ बानेश्वरमा हुनेछ ।













0 प्रतिकृया