महिलाहरूको बलिदानीपूर्ण संघर्षको जगमा गणतन्त्र र समाजवादोन्मुख संविधानः प्रधानमन्त्री
एक्सन खबर
काठमाडाैं, २४ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको राजनीतिक परिवर्तनका हरेक आन्दोलनमा महिलाहरूको निर्णायक सहभागिता र गुरूत्वपूर्ण नेतृत्व रहिआएको बताएका छन् । लोकतन्त्र प्राप्तिको आन्दोलन होस् वा जनयुद्ध र ऐतिहासिक आन्दोलन लगायतका गौरवपूर्ण संघर्षहरूमा महिलाहरूको सहभागिता, नेतृत्व एवं बलिदानीपूर्ण संघर्षको जगमा गणतन्त्र र समाजवादोन्मुख संविधान प्राप्त गरेकाे बताएका छन् ।
११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसकाे अवसरमा शुभकामना सन्देश प्रवाह गर्दै प्रधानमन्त्री दाहालले ऐतिहासिक उपलब्धि नेपाल र नेपालीहरूका लागि मात्र नभएर मुक्ति, समानता र स्वतन्त्रता चाहने विश्वभरिका जनसमुदायका निम्तिसमेत प्रेरणादायी रहेकाे पनि उल्लेख गरेका छन् ।
‘जनताको वीरतापूर्ण संघर्ष र बलिदानको बलमा नेपालले विश्वमै अग्रणी संविधान प्राप्त गरेको छ । नेपालको संविधानले अंश र वंशमा महिलालाई समान अधिकारका साथै नीति निर्माण र राज्य सञ्चालनका सम्पूर्ण अंगहरूमा सम्मानजनक र समानुपातिक प्रतिनिधित्व स्थापित गरेको छ ।’ प्रधानमन्त्री दाहाललकाे सन्देशमा उल्लेख छ ।
उनले बर्तमान संविधानले राष्ट्रपति र उपराष्ट्रपतिमध्ये, सभामुख र उपसभामुखमध्ये, राष्ट्रियसभाको अध्यक्ष र उपाध्यक्षमध्ये एक जना महिला हुनैपर्ने संवैधानिक व्यवस्था गरेकाे, संघीय र प्रादेशिक संसदमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्नुका साथै स्थानीय तहका प्रमुख र उपप्रमुख, अध्यक्ष र उपाध्यक्षमध्ये एक जना महिला हुनैपर्ने व्यवस्था गरेको, सम्पत्ति, कानुनी उपचार, आयआर्जन र वृत्तिविकासका क्षेत्रमा समेत महिलालाई प्राथमिकता दिएको उल्लेख गरेका छन् । ‘लैगिंक समानताका पक्षधर परिवर्तनकारी शक्तिका निम्ति यो अधिकार पर्याप्त नभए पनि विश्वभरिको व्यवस्था र अभ्यासका दृष्टिले गुणात्मक रहेको तथ्य हामीले स्मरण गर्नैपर्दछ ।’ प्रधानमन्त्रीले भनेका छन् ।
राजनीतिक अधिकारले जनताको जीवनमा सकारात्मक प्रभाव परे, सामाजिक मान्यता र परम्परामा परिवर्तन ल्याए, सांस्कृतिक रूपान्तरणको आधारशिला खडा गरे, महिलाहरूको राजनीतिक अधिकारका साथै आर्थिक अधिकारमा समानता, आत्मनिर्भर र स्वरोजगारको प्रबन्ध, बदलिएको राजनीतिक व्यवस्थाअनुरूप सामाजिक व्यवस्था रूपान्तरणमा प्रभाव पारे त्यसकाे सार्थकता रहने उनकाे भनाइ छ ।
‘महिलाविरूद्धको संरचनागत हिंसाको अन्त्य गर्दै उत्पादनका साधन र प्रक्रियामाथि महिलाको स्वामित्व कायम गर्न, महिला उद्यमशीलता र स्वरोजगारलाई विकास गर्न हाम्रा प्रयासहरू घनिभूत हुन जरूरी छ । यिनै प्रयासहरूले दीगो विकास लक्ष्य हासिल गर्दै हामीले खोजेको लैंगिक समानताको अवस्थामा पुग्न सक्नेछौँ ।’ प्रधानमन्त्रीले भनेका छन् ।
0 प्रतिकृया