राष्ट्रपति निर्वाचनः मतभारमा कमजाेर एमालेकाे रणनीति के हाेला ?
एक्सन खबर
काठमाडाैं, २० फागुन । यहि २५ गते हुने राष्ट्रपति निर्वाचनमा आफ्ना उम्मेदवारलाई जिताउन कांग्रेस सहित ८ गठबन्धन दल र नेकपा एमालेकाे कसरत चलिरहेकाे छ । कांग्रेसले सातै प्रदेशका सांसदहरूसँग अभिमुखीकरण गर्दै रामचन्द्र पाैडेललाइ मत दिन अनुराेध गर्याे । एमालेले भने रास्वपा, राप्रपा, लाेसपा, जनमत पार्टी लगायतसँग सुवासचन्द्र नेम्वाङका लागि मत मागिरहेकाे छ ।
राष्ट्रपति जित्न ५१ प्रतिशत अर्थात्, २६ हजार ३ सय ९४ मत आवश्यक पर्छ, तर, नेकपा एमालेकाे मतभारको समीकरण हेर्दा उसँग मत क्रस नगराई उम्मेदवारलाई जिताउन सक्ने परिस्थिति छैन । संविधानको धारा ६२ (३) अनुसार, राष्ट्रपति जित्न २६ हजार ३ सय ९४ मतभार प्रष्ट पौडेलको पक्षमा छ ।
संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेससँग मतभार १६ हजार २ सय ६९ मतभार रहँदा एमालेको १५ हजार १ सय ५४ छ । माओवादी केन्द्रको ७ हजार ६ सय ४९, राष्ट्रिय स्वतन्त्र पार्टीको १ हजार ५ सय ८०, राप्रपाको २ हजार ४ सय ५०, जसपाको २ हजार १ सय ४५ र एकीकृत समाजवादीसँग २ हजार ५ सय ७४ मतभार छ । यस्तै, जनमत पार्टीसँग १ हजार २ सय ४२, लोसपासँग ९ सय ७१, नागरिक उन्मुक्तिसँग ८ सय १३, नेमकिपासँग २ सय २३ र राष्ट्रिय जनमोर्चासँग २ सय ६ मतभार रहेकाे छ ।
आठ दलीय सत्ता गठबन्धनका कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, लोसपा, जनमत, नागरिक उन्मुक्ति र राष्ट्रिय जनमोर्चाको मत जोड्दा ३१ हजार ८ सय ६९ मतभार हुन्छ । याे मत रामचन्द्र पाैडेललाई राष्ट्रपति चुन्न पर्याप्त हाे ।
यता एमालेसँग १५ हजार १ सय ५४ मतभार मात्रै छ । एमालेकाे आफ्नै मात्र मतले राष्ट्रपति जित्ने संभावना छैन । एमालेलाई अन्य दलले खुलेर समर्थन पनि जनाएका छैनन् । १ हजार ५सय ८० मतभार रहेको राष्ट्रिय स्वतन्त्र पार्टी र २ हजार ४ सय ५० मतभार रहेका राप्रपाले कसलाई मत दिने प्रष्ट भनेका छैनन् ।
यदि राप्रपाले एमाले उम्मेदवारलाई सघाए नेम्वाङको मत १७ हजार ६ सय ४ पुग्छ । रास्वपाले सघाउँदा पनि १९ हजार १ सय ८४ मात्र हुन्छ । यति गर्दा पनि एमालेको उम्मेदवार राष्ट्रपतिमा चुनिन थप ७ हजार २ सय १० मतभार पुग्दैन । नेकपा एमालेले अपुग मत तान्न आठ दलीय सत्ता गठबन्धनका सांसदहरूलाई व्यक्तिगत मत माग्ने रणनीति अपनाएकाे छ ।
निर्वाचनमा प्रतिनिधि सभा सदस्य २ सय ७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेश सभा सदस्य ५५० गरी कुल मतदाता सँख्या ८८४ हुन्छ । राष्ट्रपति चुनावमा प्रतिनिधि तथा राष्ट्रिय सभा सदस्यको मतभार ७९ र प्रदेश सभा सदस्यको मतभार ४८ तय गरिएको छ ।
संघीय संसदका सदस्यहरुको मतभार २६ हजार ३८६ र प्रदेश सभा सदस्यहरुको २६ हजार ४४० गरी जम्मा मतभार ५२ हजार ७८६ छ । राष्ट्रपतिको चुनाव जित्न कम्तीमा ५१ प्रतिशत मतभार चाहिन्छ ।
एमालेकाे रणनीति
मतभारमा कमजाेर रहेकाे नेकपा एमालेले आठ दलीय सत्ता गठबन्धन भित्रै खेलेर मत क्रस गर्ने रणनीति अपनाएकाे छ । सुवासचन्द्र नेम्वाङ रामचन्द्र पाैडेल भन्दा बढी परिपक्व, अनुभवी, शालिन र याेग्य उम्मेदवार भएकाे उसकाे ठहर छ ।
एमालेले जनजाति समुदायकाे उम्मेदवार भएकाले आठ दलीय सत्ता गठबन्धनका जनजाति सांसदहरूले मत क्रस गरेरै सहयाेग गर्छन् भन्ने साेचेकाे छ । त्यसका लागि उसले आफ्ना नेता तथा जनजाति सांसदहरूलाई समेत व्यक्तिगत रूपमा कुराकानी गर्न खटाएकाे छ । एमालेले फागुन २५ गते अगाडी नै कांग्रेस गठबन्धन भत्काउने रणनीति पनि अपनाएकाे छ ।
0 प्रतिकृया