Follow us:


Follow us

१५ असोज २०८३, बिहिवार
१५ असोज २०८३, बिहिवार


गोठगाउँमा मेडिकल कलेज चलाउन कोशी अस्पताल प्रयोग गर्न त्रिपक्षीय सम्झौता

एक्सन खबर
फागुन, १५, २०७९


गोठगाउँमा मेडिकल कलेज चलाउन कोशी अस्पताल प्रयोग गर्न त्रिपक्षीय सम्झौता

काठमाडौं, १५ फागुन । मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालनका लागि कोशी अस्पताललाई प्रयोग गर्ने गरी सम्झौता भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र पूर्वाञ्चल विश्वविद्यालयबीच कलेजको प्रयोगात्मक अभ्यासका लागि कोशी अस्पताल प्रयोग गर्ने गरी त्रिपक्षीय सम्झौता भएको हो ।

मन्त्रीपरिषदले पूर्वाञ्चल विश्वविद्यालयलाई मेडिकल कलेज सञ्चालन गर्न स्वीकृति दिएपछि कोशी अस्पताललाई प्रयोग गरेर कलेज सञ्चालन गर्ने गरी त्रिपक्षीय सम्झौता गरिएको प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले जानकारी दिए । ‘कोशी अस्पताललाई प्रयोगात्मक अभ्यासका लागि प्रयोग गरेर पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज चलाउँने गरी सम्झौता भएको छ,’ डा.शर्माले भने, ‘अब चिकित्सा शिक्षा आयोगबाट बाँकी प्रकृया पुरा गरेर मेडिकल कलेज सञ्चालन गर्छौ ।’

सम्झौता पत्रमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेल र पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति यादवराज कोइरालाले हस्ताक्षर गरेका छन् । यसअघि ०७८ माघ २४ गते विराटनगरस्थित कोसी अस्पतालले पूर्वाञ्चल विश्वविद्यालयलाई अभ्यासका लागि अस्पताल प्रयोग गर्न दिने सहमति जनाएको थियो । सहमतिको एक वर्षपछि ०७९ माघ २३ गते मन्त्रिपरिषद बैठकले विश्वविद्यालय र कोसी अस्पतालबीचको सम्झौता अनुमोदन गर्दै मेडिकल कलेज सञ्चालनको बाटो खोलेको हो । मन्त्रीपरिषद्को स्वीकृतिपछि शिक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय र पूर्वाञ्चल विश्वविद्यालयबीच त्रिपक्षीय सम्झौता गरेर थप प्रकृया अघि बढाइएको हो ।

मेडिकल कलेज सञ्चालनका लागि ३ सय बेडको अस्पताल चाहिने प्रावधान छ । तर, पूर्वाञ्चल विश्वविद्यालयसँग हाल सो क्षमताको अस्पताल छैन । सोही कारण चिकित्सा शिक्षा अध्ययनका क्रममा विद्यार्थीले विराटनगरस्थित कोशी अस्पतालमा अभ्यास गर्ने गरी सम्झौता गरिएको हो । विद्यार्थीको पढाई भने गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयमै हुनेछ ।

यता, पूर्वाञ्चल विश्वविद्यालयमै रहेको अस्पतालको क्षमता विकास गर्ने गरी काम पनि भइरहेको छ । प्रतिनिधि सभा सदस्य डा.शर्माले त्यसका लागि निरन्तर पहल गरिरहेका छन् । मोरङको क्षेत्र नं. ३ बाट निर्वाचित सांसद शर्माले गोठगाउँमा मेडिकल कलेज सञ्चालन गर्ने बिषय चुनावी एजेण्डाकै रुपमा अघि सारेका थिए । सोही अनरुप उनी मेडिकल कलेज सञ्चालन गराउँन दौडधुप गरिरहेका छन् ।














0 प्रतिकृया