ओलीकाे कार्यकर्तालाई प्रश्नः जित्ने कि हार्ने ?
एक्सन खबर
काठमाडाैं, ५ फागुन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरू देशमा सबल राष्ट्रिय शक्ति निर्माण गर्ने प्रयासमा रहेको बताउँदै सत्ता नै सबै चिज हो भन्ने मान्यता बोकेका सङ्कीर्ण र स्वार्थी तत्व राष्ट्रिय शक्ति निर्माण हुन नदिने प्रयासमा रहेको बताएका छन् । पार्टीले आजदेखि शुरू गरेको पार्टी सुदृढीकरण तथा विस्तार अभियान ‘मिसन ग्रासरुट’ कार्यक्रमको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सत्ताका लागि घुँडा टेक्नेहरूसँग प्रतिस्पर्धा रहेको बताएका हुन् ।
पार्टी केन्द्रीय कार्यालयबाट सात प्रदेश र राजधानीमा आयोजित विशेष कमिटीको अभिमुखीकरण कार्यक्रमलाई भर्चुअल माध्यमबाट एकसाथ सम्बोधन गर्दै अध्यक्ष ओलीले अबको पार्टीको अभियान आउने निर्वाचनमा एक्लै स्पष्ट बहुमत ल्याउने हुने बताए । ‘पार्टीको अबको अभियान मिसन ५१ प्रतिशत हुने छ । अर्को निर्वाचनमा स्थानीय तह, प्रदेश र संघमा आफ्नै बलबुतामा ५१ प्रतिशतमा विजय प्राप्त गर्ने लक्ष्यका लागि ‘मिसन ग्रासरुट’ ले बलियो जग निर्माण गर्ने छ ।’ ओलीले भने ।
गत निर्वाचनमा अलिकति पछि परे पनि सङ्घर्ष र आन्दोलनबाट स्थापित एमालेहरू निराश नभई अगाडि बढ्नु पर्ने भन्दै अध्यक्ष ओलीले भने ‘ग्रासरुट अभियानका क्रममा पार्टीमा माथिदेखि तलसम्म हाम्रा कमजोरी कहाँ छन् पत्ता लगाई सुधार गर्नुपर्छ ।’
अध्यक्ष ओलीले अहिले देशभक्त परिवर्तनकारी शक्तिलाई समाप्त पार्न खोजिएको, न्यायको पक्षमा बोल्ने, चल्ने शक्तिलाई कमजोर पार्न खोजिएको छ, राष्ट्रियता, राष्ट्रिय हित दमित गर्न खोजिँएकाे पनि बताए । विगत निर्वाचनमा सबै प्रकारका घेरावन्दीबीच जनताको रोजाइको पहिलो पार्टी बनाउन सफल भएकामा पार्टीपङ्तीलाई धन्यवाद पनि दिए । ‘धेरै ठाउँमा जित्न सक्ने अवस्था हुँदा पनि हामी आफैले सक्ने जति काम गरेनौं कि ?, जति सक्रिय हुनुपर्ने हो भएनौं कि ?, इमान्दारी देखाएनौं कि ? एकपटक आफै सौँचौं । निष्ठावान कार्यकर्ता भएँ भइन भनेर आफै विचार गर्नु जरूरी छ ।’ ओलीले भने ।
पार्टीलाई अपराजित शक्तिका रूपमा स्थापित गर्नुपर्छ भन्दै अध्यक्ष ओलीले पार्टीलाई आगामी निर्वाचनमा सहज विजय हासिल गर्न हरेक जनताका घर आँगनमा पुर्याएर मानिसहरूलाई मानसिक, वैचारिक अन्यौलता र विरोधीले फैलाएको भ्रमबाट मुक्त गर्ने काममा लाग्न निर्देशन पनि दिए । ‘भ्रमको तुवालोबाट मुक्त भएपछि मानिसले राम्रो बाटो समात्ने छन् । हामी आन्दोलनको जटिल मोडमा छौं । हामीले जित्ने कि हार्ने, सफल हुने कि असफल हुने ?’ उनले कार्यकर्तासँग प्रश्न गरे ।
पार्टीका विरोधी स्वस्थ र स्वच्छ प्रतिस्पर्धा गर्ने अवस्थामा छैनन् उनीहरू प्रतिस्पर्धा गर्दा कस्ताे तरिका अपनाउँछन्, त्यो प्रतिस्पर्धालाई पनि पराजित गर्ने गरी विचारमा आधारित सुदृढ संगठन बनाई पराजित गर्नुपर्ने बताए । ‘गएको निर्वाचनमा थुप्रै अस्वस्थता देख्यौं, राज्यसत्ताको चरम दुरुपयोग, गुण्डा परिचालन । लोकतान्त्रिक मूल्य मान्यता बुझि बुझिकन पनि जसरी पनि जित्नुपर्छ भन्ने मान्यतामा हाम्रा विरोधी प्रतिस्पर्धी रहे र त्यो प्रवृत्ति बदलिएको छैन । उनीहरुलाई लोकतान्त्रिक आचरण पार्टीमा विचारमा कुनै समस्या अन्यौल नरहेको तर पार्टीको संगठनात्मक जीवन कमजोर रहेको वताउँदै त्यसलाई स्वीकार गरी पार्टीलाई सर्वाधिक मजदुत शक्तिका रूपमा स्थापित गर्नुपर्छ ।’ ओलीले भने ।
राजनीतिक अधिकारका लागि गरिएको बलिदानी सङ्घर्ष र विगतमा खासगरी नेपाली काँग्रेसबाट कम्युनिष्ट पार्टी र नेताकार्यकर्ताले भोग्नुपरेको पीडा, कष्ट र यातनाको चर्चा गर्दै अध्यक्ष ओलीले भने ‘हामीले राणाशाही, पञ्चायती तानाशाही र ज्ञानेन्द्र शाहको प्रतिगामी कदमलाई पराजित गरेर आजको अवस्थामा आइपुगेका हौं । तर, विगतमा हामीले नेपाली काँग्रेसबाट धेरै प्रताडित हुनुपर्यो । २००८ सालदेखि २०१३ सालसम्म नेपाली काँग्रेसका सभापति मातृकाप्रसाद कोइराला प्रधानमन्त्री रहेकै समयमा कम्युनिष्ट पार्टीले प्रतिबन्धित अवस्थामा रहनुपर्यो । राणाशाही फालिसकेपछि पनि चिनियाकाजी, भीमदत्त पन्त लगायत धेरै साथीहरू मारिए । वीपी कोइरालाको आदेशमा कमलराज रेग्मीलाई गाडि चलेको अवस्थामा पनि पक्राउ गरी पैदल काठमाडौं ल्याइयो । के भौग्यौं, के भोगेनौं ।’
२००७ सालदेखि हालसम्मको आन्दोलन र तिनका उपलब्धि एमालेकाे बलिदानबाट प्राप्त भएको बताउँदै विपक्षीले बाह्य शक्ति र सञ्चारमाध्यमको जोडबलमा एकलौटी जस लिएकाे दावी गरे ।
0 प्रतिकृया