कर्मचारीतन्त्रको घाँटीमा घन्टी कसले बाँध्ने ?
एक्सन खबर
कुमार दाहाल
कर्मचारीतन्त्र स्वरुप होइन । प्रवृत्ति हो । कर्मचारीतन्त्रले विभिन्न स्वरुपमा भिन्नभिन्न प्रवृत्ति देखाउँछ । सार्वजनिक र निजी संगठनमा कर्मचारीतन्त्रको प्रवृत्ति फरक हुन्छ । संसारमा सार्वजनिक प्रशासनका विभिन्न स्वरूप छन् । तर कर्मचारीतन्त्रको विशेषता प्राय फरक छैन । हेनरि फेवेलकाे प्रशासनकाे स्वरुप र संगठनको धारणा कर्मचारीतन्त्रको धारणा होइन । संगठन निर्माणको सिद्धान्त हो । म्याक्स वेबरले संगठनभित्र कर्मचारीको प्रवृतिले देखाउने व्यवहार नै कर्मचारीतन्त्र हो भनेका छन् । स्वरुप कहिलेकाँही प्रवृति जस्तो पनि देखिन्छ । किनकि सधैंभरी कर्मचारीले संगठनको लागि कार्यसम्पादन गर्दछ । त्यसैले हामी समग्र प्रशासनको संगठनमा कहिलेकाहीँ गडबडी देख्छौं । तर यो भ्रम मात्र हो । कर्मचारीतन्त्रको खराबी आफैंबाट जन्मिन्छ भन्नेकुरा मेक्स वेवरले कर्मचारीतन्त्रको धारणामा स्पष्ट गरेका छन् ।
कर्मचारीतन्त्रको प्रवृत्ति राम्रो भएमा जुनसुकै संगठनमा पनि अब्बल देखिन्छ । हाम्रो देशमा पञ्चायतकालदेखि गणतन्त्र कालसम्म कर्मचारीतन्त्रले नतिजा दिन नसक्नुमा संरचना बाधक होइन । कर्मचारीतन्त्रको व्यवहार र कार्यशैली मुख्य विषय हो । यसको अर्थ नेपालमा हालका संगठनका संरचनाभित्र बसेर कर्मचारीतन्त्रले नतिजा दिन नसक्ने होइन । तर कर्मचारीतन्त्र आफ्नो प्रवृत्तिलाई दोष दिन तयार छैन । संरचना प्रति औँला देखाउँछ ।
कर्मचारीतन्त्रले आफ्नै दर्शन र कार्यविधिमा विश्वास गर्छ । र, राजनीतिकाे आदेशलाई कानूनको परिधिमा रहेर सम्पादन गर्छ । राजनीति नेतालाई त जनताले पाँच वर्षमा करेक्सन गर्छन् । चित्त नबुझेमा ब्यालेटबाट हटाउँछन् । र नयाँ नेतृत्व दिन्छन् । मंसिर ४ पछि जनताले मन पराएका नेता संघ, प्रदेश र स्थानीय सरकारमा पुगेका छन् । पुग्दैछन् । तर कर्मचारीतन्त्र जस्ताको तस्तै छ । उस्तै छ । अब आउने राजनीति नेतृत्वको मुखमण्डल र व्यवहारको परख गर्न कर्मचारितन्त्र अहिले उद्वेलित छ । नयाँ राजनीतिक नेतृत्वको उत्साहसँगै कर्मचारीतन्त्र आफ्नो व्यवहार परिवर्तन गर्न तयार छ ? कर्मचारीतन्त्रको घाटीमा घन्टी बाँध्न अबको राजनीति नेतृत्वले सक्ला ? यही प्रश्न भित्र आगामी दिनको विकास समृद्धि र सुशासन केन्द्रित छ ।
शासनमा कर्मचारीतन्त्र देखिँदैन राजनीति मात्र देखिन्छ भने त्यो प्रजातन्त्र हो । किनकी शासनका उतारचढावमा राजनीति उत्तरदायी हुन्छ । कर्मचारीतन्त्रले राजनीति नीतिकाे काम सम्पादन गर्छ । त्यसैले होला युरोप अमेरिका जस्ता विकसित देशमा कर्मचारितन्त्र शासनमा अगाडि देखिँदैन । भारतमा पनि देखिन छोडेको छ ।नेपालमा राजनीतिभन्दा कर्मचारीतन्त्रको देखिने प्रभाव उच्च छ । किन ? यसको दोष स्वयं कर्मचारीतन्त्र भन्दा राजनीति मै बढी छ ।
कर्मचारीतन्त्रलाई नियन्त्रण गर्न अहिले सम्मका सरकार असफल भए । राजनीतिसँग काम र जिम्मेवारीको विश्वास नहुँदा कर्मचारितन्त्र समेत उत्तम हुन सकेन । र प्रत्येक सरकार कर्मचारीतन्त्रले सहयोग नगरेको भन्न बढि रुचाउँछन् । यसको सरल जवाफ कर्मचारीतन्त्र सँग छैन । त्यसैले भनिन्छ कर्मचारीतन्त्र भन्दा राम्रो सरकार हुन सक्दैन। यो हुनलाई राजनितिक व्यक्तित्वले आफ्नो योग्यता शुद्ध बनाउनुपर्छ ।
अब बन्ने सरकारसँग यो चुनौती घनिभूत छ । किनकि जनताले राजनीतिमा घन्टी बजाइ सकेका छन् । यो घन्टीको आवाज कर्मचारीतन्त्रको कानसम्म अझै पुगेको छैन । यदि यही कर्मचारीतन्त्रको फन्दामा आगामी राजनीतिक नेतृत्व पर्ने हो भने जनताका विश्वास जित्न राजनीतिक नेतृत्वले ठूलो चुनौती सामना गर्नुपर्छ ।
कर्मचारीतन्त्रको विकल्प यसलाई राम्ररी काम लगाउन जान्नू हाे । सुझबुझ राजनीतिक नेतृत्व नभएमा कर्मचारीतन्त्रले आदेशको पालन मात्र गर्छ । तर यो कुरा राजनीतिक नेतृत्वलाई थाहा हुँदैन । किनकी नेतृत्वको योग्यता हेरेर कर्मचारीतन्त्रले कामको नतिजा दिन्छ । मुख्य विषय राजनीतिक नेतृत्वकाे व्यक्तित्व र योग्यता नै हो । पालिकाका प्रमुखहरु इमान्दार, उत्तरदायी, स्वार्थरहित भएका ठाउँमा कर्मचारीतन्त्रले नतिजा दिएको छ । पालिकाहरूको राजनीतिक बेमेलका कारण कर्मचारीतन्त्र अल्मलिएको छ । सङ्घ र प्रदेशमा पनि राजनीतिक नेतृत्वको योग्यता र व्यक्तित्वले कर्मचारीतन्त्रको कार्यसम्पादनमा धेरै फरक ल्याएको छ । यसले प्रथमतः राजनीतिक नेतृत्व सच्चिनु पर्छ भन्ने देखाउँछ ।
राजनीतिले दिन खोजेका नतिजा कर्मचारीतन्त्रको कारणले पूरा नभएका थुप्रै उदाहरण छन् । तर कर्मचारीतन्त्रलाई कसरी करेक्सन गर्ने ? एकपटक स्थायी भएपछि पुग्ने, जति गल्ति गरे पनि सच्चिन पाइरहनु पर्ने, नतिजा नदिँदा पनि हुने, उमेरमै लोकसेवा पास गरेमा सचिव र मुख्य सचिवको दाबी पुगिहाल्ने, कुनै असल कार्य सम्पादन देखाउनै नपर्ने, नतिजा प्रति उत्तरदायी हुने नपर्ने, चुपचाप, कुनै परिणामप्रति दायित्व बिना नै सुविधा पाइरहने, यो कर्मचारीतन्त्रले हामीलाई कहाँ पुराएको छ ? यसबाट करेक्सन हुनु जरुरी छ कि छैन ?
आगामी सरकारले कर्मचारीतन्त्रको यही गुणबाट नतिजा दिन सजिलो छैन । यसका लागि सच्चिनुपर्ने ठाउँ राजनीति र कर्मचारीतन्त्र दुबैमा छन् । तर कर्मचारितन्त्र सजिलै सुध्रिँदै अवस्थामा देखिँदैन । किनकि स्थायी सरकारलाई जनताले प्रत्यक्ष रुपमा अनुगमन गर्ने ठाउँ भनेको राजनीतिक नेतृत्वको माध्यमबाट नै हो । जसलाई कर्मचारीतन्त्रले नजिकैबाट आँकलन गरिसकेको छ ।
स्थायी सरकारको अर्थ निष्पक्ष ततस्थ र प्रतिबद्ध हुनु पनि हाे । तर नेपालको कर्मचारितन्त्र राजनीति दल, नेतृत्वकाे डम्फुमा ताली बजाउन मन पराउँछ । हाम्रो कर्मचारीतन्त्रलाई राजनीतिले नीति, नियमबमोजिम चलाउन किन सकेन ? किनकि स्वयम् मन्त्रीहरु फाइदाकालागि कानुनविपरित काम गर्न बढि रुचाउँछन् । तर
कर्मचारीतन्त्र सबैभन्दा बढी कानुनबाट डराउँछ । कर्मचारीतन्त्रलाई कानून विपरित काम गर्न राजनीतिले नै सिकाउँछ । र कर्मचारीतन्त्रले राजनीतिक संरक्षण प्राप्त गर्छ ।
कर्मचारीतन्त्रलाई नतिजामा हेर्नु र कानुनबमोजिम काममा स्वतन्त्रता दिनुनै यसको घाँटीमा घन्टी झुन्ड्याई दिनु भन्ने कुरा राजनीति र राजनीतिक नेतृत्वले कहिले बुझ्ने ? जुनदिन राजनीतिले बनाएको कानुन बमोजिम कर्मचारीतन्त्रले स्वतन्त्र रुपमा काम गर्न सक्छ त्यो दिनदेखि प्रत्येक कर्मचारीको घाँटीमा घन्टी बजिरहन्छ । यसको आवाज प्रत्यक्ष रूपमा जनताले सुन्छन् । भोलिको सरकारले यो कुरा आजैदेखि बुझ्नुपर्छ । पुरानै ढर्रामा राजनीति र प्रशासन संयन्त्र चल्ने हो भने आगामी जनताको घन्टी कसरी बच्छ । यो समयले नै देखाउनेछ ।
0 प्रतिकृया