Follow us:


Follow us

२२ जेठ २०८३, शुक्रवार
२२ जेठ २०८३, शुक्रवार


मोरङ ३ भानुभक्तको विकल्प खोज्दै मतदाताः रेखाले कसको भोट काट्लिन् ?

एक्सन खबर
असोज, २२, २०७९


मोरङ ३ भानुभक्तको विकल्प खोज्दै मतदाताः रेखाले कसको भोट काट्लिन् ?

विराटनगर, २२ असोज । मोरङ निर्वाचन क्षेत्र नं. ३ मा कांग्रेस नेता डा. सुनिल शर्मा र एमाले नेता भानुभक्त ढकालविच चुनाबी प्रतिष्पर्धामा राप्रपाकी उम्मेदवार अभिनेतृ रेखा थापाको उपस्थितिले चुनाबी माहौल तातिएको छ । आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा डा. शर्मा र ढकालविचको प्रतिष्पर्धामा रेखाको इन्ट्रीले चुनाबी माहौल रोचक बन्दै गएको हो ।

समाजसेवा तथा स्वास्थ्य सेवाबाट मोरङ ३ का जनता माझ लोकप्रिय बन्दै गएका कांग्रेसका उम्मेदवार डा. शर्माले ०७४ सालको निर्वाचनमै बाम गठबन्धनका साझा उम्मेदवार ढकाललाई आच्छुआच्छु पारेका थिए । पहिलोपल्ट निर्वाचनमा भाग लिएका डा. शर्माले त्यसवेला ४०,५०६ मत प्राप्त गर्दा ढकालले ४२,४१३ मत प्राप्त गरेका थिए । ढकालले उक्त निर्वाचन मात्र १९०६ मतले जितेका थिए ।

‘यो ५ वर्ष भानुभक्त ढकालले सरकारमा रहेर पनि आफ्नो क्षेत्रको लागि केही ठोस योजना दिएनन् बरु डा. शर्माले व्यक्तिगत तवरबाट भएपनि धेरै काम गरेका छन् ।’ कानेपोखरी २ का एक युवा भन्छन् । उनका अनुसार क्षेत्रमा अधिकांश युवाहरु योपल्ट डा. शर्माको पक्षमा छन् । डा. शर्माले ०७४ सालयता आफ्नो क्षेत्रको विकासका लागि ठूलै योगदान गरेको मतदाताको ठम्याई छ । खासगरी नोबेल शिक्षण अस्पतालमार्फत मोरङ ३ का जनताका घरघरमा निःशुल्क स्वास्थ्य सेवा पुर्याई दिएकाले डा. शर्मालाई एकपल्ट निर्वाचित गराए कम्तिमा स्वास्थ्य क्षेत्रमा भएपनि ठूलै परिवर्तन हुने मतदाताको अपेक्षा छ ।

‘सुनिल शर्माले व्यक्तिगत तवरले जे जति गरिरहेका छन् मन्त्री भएर भानुभक्तले त्यसको आधापनि काम गरेनन्, बेरोजगारी, सुकुम्बासी समस्या, नदी कटान, शिक्षा, स्वास्थ्य र सडकका समस्या हल गर्नु परै जावोस स्वास्थ्यमन्त्री हुँदा आफ्नै क्षेत्रका सरकारी अस्पताल सुधार्न पनि सकेनन् ।’ पथरी २ का गजेन्द्र बुढाथोकी भन्छन् ।  डा. सुनिल शर्माको राजनीतिक पहुँच पनि रहेको तथा उनी आफैंमा आर्थिक रुपमा सवल रहेकाले पनि चुनाब जिताएर पठाउँदा भ्रष्टाचार चैं गर्दैनन् भन्ने मतदाताको बुझाई पनि छ । त्यसो त डा. शर्माले आफु कमाउन भन्दापनि उक्त क्षेत्रको विकासका लागि राजनीतिमा लागेको बताउँदै आएका छन् ।

०७४ सालको चुनाबमा ढकालसँग एमाले र माओवादी केन्द्र (बाम गठबन्धन) को मत थियो । योपल्ट कांग्रेस माओवादी केन्द्र, एकीकृत समाजवादी केन्द्र जनमोर्चासहितको गठबन्धन भएकाले डा. शर्मालाई चुनाब जित्न सहज छ । स्वास्थ्यमन्त्री हुँदा ढकाल विवादित भएको तथा आफ्नो चुनाबी क्षेत्रमा सिन्को नभाँचेको कारण मोरङ ३ का जनता माझ अलोकप्रिय बनेको फाइदा डा. शर्माले लिन सक्छन् ।

कोरोना महामारी नियन्त्रणमा पुरै असफल भएका ढकाललाई कोरोना स्वास्थ्य सामग्री खरिदमा ठूलै भ्रष्टाचार गरेको आरोप पनि लागेकाले मंसिर ४ गतेको निर्वाचनमा उनले त्यसकै स्पष्टिकरण दिँदै हिँड्नु परेको अवस्था छ । त्यसमाथि उनको रुष्ट बोली र व्यवहारका कारण पनि योपल्ट चुनाब जित्नेमा शंका छ । साथै, एमालेको जनाधार आफैंमा कमजोर भएको फाइदा कांग्रेस उम्मेदवारले उठाउने देखिन्छ । क्षेत्रमा कांग्रेसभित्र पनि असन्तुष्टी रहेपनि डा. शर्माले सबैलाई मिलाएर लैजाने रणनीति अपनाएका छन् ।

एमालेको भोट काट्दै रेखा थापा

राप्रपा नेपालबाट मोरङ ३ को उम्मेदवार बनेकी अभिनेतृ रेखा थापाको ‘सेलिब्रेटी लोकप्रियता’ले महिला तथा युवाहरुको भोट बटुल्ने देखिएको छ । रेखा यतिबेला आफ्नो क्षेत्रका मतदाता माझ गइरहँदा उनीसँग सेल्फी खिच्ने र एकपल्ट हेर्नहरुको ताँती लाग्ने गरेको छ । उनले एमालेको भोट बढी तान्ने आंकलन गरिएको छ । ‘रेखा थापाको लोकप्रियता छ तर, संगठन कमजोर रहेकोले जित्ने आधार छैन । बरु उनले एमालेको भोट काट्ने छिन् ।’ माओवादी केन्द्र मोरङ ३ का एक सदस्यले भने । भानुभक्त ढकालले गतिलो काम नगरेका कारण उनलाई पुनः भोट हाल्नुको सट्टा रेखा थापालाई भोट दिएर रिस पोख्ने मनस्थितिमा एमालेकै संगठित कार्यकर्ताहरु देखिएका छन् । यद्यपि, पछिल्लाे समय स्वतन्त्र उम्मेदवारहरूकाे पनि चर्चा चलिरहेका अवस्थामा रेखालाई मत जान सक्छ ।

स्थानीय तह एमालेले जिते पनि फरक नपर्ने कांग्रेसको दावी

यद्यपि, स्थानीय तहमा यो क्षेत्रको पथरी शनिश्चरे नगरपालिका, कानेपोखरी गाउँपालिका, सुन्दरहरैंचा नगरपालिका तथा बेलबारी नगरपालिका नेकपा एमालेले जितेकोले मंसिर ४ गतेको निर्वाचनमा पनि सोहि प्रकारको नतिजा आउने एमालेको अपेक्षा छ । मोरङ ३ कांग्रेस भने, स्थानीय तहको निर्वाचनको परिणामले केन्द्रको निर्वाचनलाई कुनै असर नगर्ने बताउँछन् । डा. सुनिल शर्मा आफैंमा सो क्षेत्रमा लोकप्रिय नेताका रुपमा उदाएकाले कांग्रेसले आफ्नो जित सुनिश्चित ठानेको छ ।













0 प्रतिकृया