Follow us:


Follow us

११ असोज २०८३, आइतवार
११ असोज २०८३, आइतवार


डा.शर्माले एकैदिन तीन ठाउँमा सञ्चालन गराए निःशुल्क स्वास्थ्य शिविर

एक्सन खबर
असोज, ११, २०७९


डा.शर्माले एकैदिन तीन ठाउँमा सञ्चालन गराए निःशुल्क स्वास्थ्य शिविर

मोरङ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले सोमबार मोरङको क्षेत्र नं.३ का तीन स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गराएका छन् । डा.शर्माले नोबेल अस्पतालमार्फत बेलबारी, सुन्दरहरैंचा र पथरीशनिश्चरेमा शिविर सञ्चालन गराएका हुन् ।

तीन वटै शिविरबाट ५८० जना विरामीको निःशुल्क उपचार गरिएको नोबेल शिक्षण अस्पतालले जनाएको छ । बेलबारी नगरपालिका वडा नं. २ मा सञ्चालित शिविरमा नोबेल अस्पतालका छाती तथा फोक्सो रोग बिशेषज्ञ प्रा.डा.रामहरी घिमिरे र स्त्रीरोग बिशेषज्ञ प्रा.डा.सिता घिमिरे नेतृत्वको डाक्टरहरुको टोलीले २१३ जना विरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ । शिविरमा ८३ जनाको इसीजी, १०१ जनाको रक्त परीक्षण र ९८ जनाको भिडियो एक्सरे गरिएको छ ।

त्यस्तै, ज्येष्ठ नागरिकहरुलाई लक्षित गरेर सुन्दरहरैंचा वडा नं.१० मा शिविर सञ्चालन गरिएको छ । शिविरमा १४० जनाको स्वास्थ्य परीक्षण गरिएको छ । जसमध्ये ९६ जनाको मुटुको जाँच इको गरिएको छ । शिविरमा नोबेलका मुटुरोग बिशेषज्ञ प्रा.डा.राजेश नेपालसहितको डाक्टरहरुको टोलीले विरामीको जाँच गरेको थियो ।

यता, पथरीशनिश्चरे वडा नं.७ मा सञ्चालित शिविरमा २२७ जना विरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । शिविरमा स्त्रीरोग बिशेषज्ञ डा.मिलुना भुसाल नेतृत्वको डाक्टरहरुको टोलीले ६३ जनाको इसीजी, ११३ जनाको रक्त परीक्षण र ८५ जनाको भिडियो एक्सरे गरेको नोबेल अस्पतालका प्रवन्धक नारायण दाहालले जानकारी दिए ।

तीन वटै शिविरबाट थप उपचारका लागि १३४ जना विरामीलाई नोबेल अस्पताल रेफर गरिएको छ । उनीहरुलाई नोबेलकै गाडीमा अस्पताल लगेर उपचार गरी घर फर्काउँने व्यवस्था मिलाइएको छ । डा.शर्माले नै यो सुविधा उपलब्ध गराएका हुन् । डा.शर्माले यो क्षेत्रमा बर्षौ अघिदेखि नियमित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर त्यहाँका जनतालाई स्वास्थ्य उपचारमा ठूलो सहयोग पुर्याउँदै आएका छन् ।

सामाजिक काममा सक्रिय डा.शर्मालाई अहिले नेपाली कांग्रेस मोरङ क्षेत्र नं. ३ ले आसन्न प्रतिनिधि सभा निर्वाचनमा उम्मेद्वारका लागि सिफारिससमेत गरेको छ ।















0 प्रतिकृया