Follow us:


Follow us

२३ जेठ २०८३, शनिवार
२३ जेठ २०८३, शनिवार


नागरिकताका सवालमा एमाले विरूद्ध भ्रम छरियाेः केपी शर्मा ओली

एक्सन खबर
भदौ, २७, २०७९


नागरिकताका सवालमा एमाले विरूद्ध भ्रम छरियाेः केपी शर्मा ओली

धनुषा, २७ भदाै । आगामी निर्वाचनमा नेकपा (एमाले) जनताको साथ लिएर आफ्नै बलवुतामा प्रतिस्पर्धा गर्ने नेकपा एमालेका अध्यक्ष ओलीले बताएका छन् । मंसिर ४ गते हुने निर्वाचनले देशको भाग्य र भविष्यको फैसला गर्ने भएकाले विचार पुर्याएर मतदान गर्न सबैमा ओलीले आग्रह गरे ।

लोकतन्त्रको रक्षा र देशमा विकासको अभियान चलाउनका लागि एमालेलाई जिताउन पर्ने  ओलीले जिकीर गरे । नागरिकताको सवालमा अन्य दलहरूले एमालेविरुद्ध भ्रम छर्न खोजेको भन्दै एमाले जन्मसिद्ध नागरिकका सन्तानले वंशजको आधारमा नागरिकता पाउनुपर्ने पक्षमा रहेको स्पष्ट पारे ।
 
ओलीले नेपाली काँग्रेस र माओवादी केन्द्रले भ्रमको राजनीति गरिरहेको भन्दै एमाले त्यस्तो खेती नगरी जनतालाई सचेत र संगठित बनाएर अघि बढ्ने पनि जनाए । नागरिकताको समस्या गम्भीर रहे पनि गठबन्धन सरकारले समस्या समाधानतर्फ ध्यान नदिई गलत मुद्दा उठान गरेको कारण सफल हुन नसकेको उनकाे दावी छ ।

जनकपुरधाम एउटा पवित्र भूमि भएको र यहाँ चार हजार बर्ष अगाडि विभिन्न खालका शास्त्रार्थ र दर्शन बारेमा छलफल हुने गरेको भए पनि यहाँको अवस्था दयनीय भएको भन्दै यस्तो किन भएको भन्ने विषयको खोजी गर्न जनतालाई आग्रह गरे ।



कार्यक्रममा नेकपा एमालेका सचिव एवम मधेश प्रदेशका ईन्चार्ज रघुवीर महासेठले विरोधीहरूले एमालेको विरुद्धमा भ्रम फैलाई राखेकाले त्यसलाई चिर्न नेताकार्यकर्तालाई आग्रह गरे । कार्यक्रममा एमालेका स्थायी कमिटीका सदस्य अग्नि खरेल, पोलिटब्युरो सदस्य जुली महतो लगायत नेताहरूले सम्बोधन गरेका थिए ।

कार्यक्रममा नेपाली काँग्रेस, जनता समाजवादी पार्टी र लोेकतान्त्रिक समाजवादी पार्टीका नेताहरू आफ्ना करिव दुईहजार कार्यकर्ता, समर्थकसहित नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।   

नेकपा (एमाले) धनुषा जिल्ला कमिटीद्वारा आज तिरहुतिया गाछीमा आयोजित जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा ओलीले नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गरे ।  एमाले प्रवेश गर्नेहरूमा जसपाका मधेस प्रदेससभा सदस्य अन्जु कुमारी यादव, लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य अरबिन्द साह, नेपाली काँग्रेस धनुषाका युवा नेता सन्तोष यादव लगायत स्थानीय नेताकार्यकर्ताहरू रहेका छन् ।

यस्तै,  ओलीले आजै नेपाल बुद्धिजीवी परिषद मधेस प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने उद्देश्य पूरा गर्नका लागि आगामी निर्वाचनपछि एमाले नेतृत्वको सरकार बन्नुपर्ने बताए । ‘मंसिर ४ गतेको निर्वाचनबाट एमालेको सरकार गठन गर्नु अनिवार्य छ,’ उनले भने ‘पछिल्ला १४ महिनामा गठबन्धन सरकारले देशलाई अधोगतितिर लगिरहेको र अब पनि यही गठबन्धनले सरकार गठन गर्ने अवस्था आएमा देश बर्बादीतर्फ जान्छ ।’

अध्यक्ष ओलीले आगामी निर्वाचनले देश, लोकतन्त्र, विकासप्रति समर्पित सरकार दिन सक्नुपर्ने बताए । उहाँले पाँच दलीय गठबन्धन देश र जनताका लागि नभएर तिनै दलका नेताहरूको स्वार्थमा केन्द्रित रहेको बताए ।













0 प्रतिकृया