काठमाडौं, २२ भदौ । कक्षा १२ को परीक्षाफल प्रकाशित भइसकेको छ । ब्याचलर तह अध्ययन गर्न चाहने विद्यार्थीहरु धमाधम कलेज छनौट, प्रवेश परीक्षा तथा भर्ना प्रक्रियामा सहभागी भइरहेका छन् ।
तर, गुणस्तरीय तथा राम्रो शैक्षिक वातावरण र अनुभवी शिक्षक शिक्षिका भएको कलेज छनौट गर्नु विद्यार्थी तथा अभिभावकको लागि चुनौति नै हो । त्यसमाथि विज्ञापन बजारमा कतिपयले अस्वस्थ प्रतिष्पर्धा गर्दै प्रोपोगण्डा मच्चाएर विद्यार्थीलाई आकर्षिक गर्ने गरेका छन् । इन्जिनियरिङ विधामा पनि यस्ता प्रोपोगण्डा मच्चाएर विद्यार्थी तान्ने लहर छ । यद्यपि, सामान्य केही जानकारी विद्यार्थीले गुणस्तरीय कलेज छनौट गर्न सक्छन् ।
चिकित्सा शिक्षा आयोग, नेपाल मेडिकल काउन्सिलले मेडिकल शिक्षाको नियमन र अनुगमन गरेजस्तै नेपाल इन्जिनियरिङ काउन्सिलले इन्जिनियरिङ कलेजहरुको नियमन, अनुगमन तथा स्थायी/अस्थायी स्वीकृति दिने कार्य गर्दछ । काउन्सिलले स्थायी/अस्थायी स्वीकृति दिन मापदण्ड समेत बनाएको छ ।

मापदण्ड अनुसार कलेजले ९० भन्दा माथि नम्बर प्राप्त गरे स्थायी स्वीकृति दिइन्छ । ७० देखि ८९ अंक पाउनेलाई अस्थायी स्वीकृति दिँदा ७० भन्दा कम अंक प्राप्त गर्नेलाई सुधारका लागि चेतावनी दिएर पुनः अनुगमन गर्ने गरेको छ । यस्तै स्थायी स्वीकृति हुनेहरुको २/२ वर्षमा अनुगमन हुन्छ भने, अस्थायी स्वीकृति पाउनेहरुको प्रत्येक वर्ष अनुगमन हुने गरेको छ ।
काउन्सिलको मापदण्ड अनुसार, कलेजको भौतिक पूर्वाधार कस्तो छ ? शिक्षक शिक्षिकाहरु कुन तहका छन् ? ल्याब कुन प्रकारको छ ? ल्याबमा प्रयोग हुने सामग्री पर्याप्त छकि छैन ? पुस्तकालय कस्तो छ ? पाठ्यक्रमहरु के कति छ ? इलाइब्रेरी छ कि छैन ? प्रोजेक्टर, नोटवुकहरु छन् कि छैनन् ? यावत कुराहरु निरीक्षण गरेर कलेजलाई स्थायी वा अस्थायी स्वीकृति दिने गरेको छ । यस्तैगरी, शिक्षकहरुलाई समयसमयमा तालिम दिने गरेको छ छैन, रिसर्चलाई बजेट ब्यवस्थापन गरेको छ छैन, कर्मचारी कति छन् उनीहरुको नियुक्ति कस्तो छ ? प्रशासनिक अवस्था कस्तो छ लगायत सबै कुरामा सुक्ष्म अध्ययन र अनुगमन गरेर मात्र स्वीकृति दिने गरेको छ ।
भर्खरै मात्र संसदले विधेयकमार्फत इन्जिनियरीङ पास गरेपछि काम गर्न लाइसेन्स लिनुपर्ने प्रावधान ल्याएको छ । यसको अर्थ इन्जिनियरिङ विधाका कुनैपनि विषयमा पढेपनि काम गर्नका लागि अनिवार्य काउन्सिलको परीक्षा पास गर्नै पर्दछ । तसर्थ, कक्षा १२ पछि इन्जिनियरिङ अध्ययन गर्ने सोच बनाएका विद्यार्थीहरुले सामान्यतया कलेज छनौटमा नेपाल इन्जिनियरिङ काउन्सिलबाट कुन प्रकारको स्वीकृति पाएका छन् त्यसबारेमा पनि जानकारी हासिल गरेर अगाडी बढ्न सक्छन् ।
नेपाल इन्जिनियरिङ परिषद् ऐन,२०५५को दफा २१ नेपाल इन्जिनियरिङ परिषद् नियमावली, २०५७–(संसोधन सहित) को नियम १५ तथा परिषद्को इन्जिनियरिङ शिक्षण संस्थालाई मान्यता प्रदान गर्ने विनियमावली, २०६६ (चौथो संशोधन, २०७० सहित) बमोजिम परिषद्ले २०७८/१२/१७) सम्म इन्जिनियरिङ शिक्षण संस्थाहरुलाई अध्ययन/अध्यापन गराउन स्वीकृति दिएको हुन्छ । त्यसकै आधारमा पनि कुन कलेजको शैक्षिक स्तर कस्तो होला पहिल्याउन सहज हुन्छ ।
देशभरका विश्वविद्यालय मार्फत संबन्धन लिएर सञ्चालित मध्ये शैक्षिक स्तर राम्रो भएका कलेजलाई स्थायी स्वीकृति दिइन्छ । काउन्सिलका अनुसार २०७८/१२/१७ सम्म देशभरका ५१ इन्जिनियरिङ कलेजहरु मध्ये ६ वटालाई स्थायी स्वीकृति दिएको छ । बाँकी ४५ वटा कलेजहरुसँग अस्थायी स्वीकृति रहेको छ ।
काउन्सिलका अनुसार पोखरा विश्वविद्यालय अन्तरगत गण्डकी कलेज अफ इन्जिनियरिङ पाेखरा, लुम्बिनी इन्जिनियरिङ, म्यानेजमेन्ट एण्ड साइन्स कलेज रुपन्देही, नेपाल इन्जिनियरिङ कलेज चाँँगुनारायण भक्तपुर, युनाइटेड टेक्निकल कलेज भरतपुरले स्थायी स्वीकृति पाएका छन् । यस्तै, त्रिभूवन विश्वविद्यालय अन्तरगत पुल्चोक क्याम्पस ललितपुर, पश्चिमाञ्चल क्याम्पस, पोखराले स्थायी स्वीकृति पाएका छन् ।
पोखरा विश्वविद्यालयका चार कलेजले स्थायी स्वीकृति पाएकोमा उपत्यकामा चाँगुनारायण स्थित नेपाल इन्जिनियरिङ कलेजसँग मात्र स्थायी स्वीकृति रहेको छ । उपत्यकामा सञ्चालित अधिकांश निजी इन्जिनियरिङ कलेजहरुसँग स्थायी स्वीकृति छैन । नेपाल इन्जिनियरिङ कलेजले धेरै वर्षदेखि स्थायी स्वीकृति पाउँदै आएको छ । पोखरा विश्वविद्यालय अन्तरगत चलेका कलेजहरु मध्ये नेकको शैक्षिक स्तर सबैभन्दा माथि रहेको छ ।
काठमाडौं विश्वविद्यालय अन्तरगत धुलिखेलको स्कूल अफ इन्जिनियरिङले मात्र स्थायी स्वीकृति पाएको छ । काउन्सिलले दिने स्थायी/अस्थायी स्वीकृतिले कलेजहरुको शैक्षिकस्तर मापन गर्न सहज हुनेछ । काउन्सिलले हरेक वर्ष कलेजहरुको शैक्षिक नतिजा, शिक्षक शिक्षिकाहरुको विवरण, कक्षाकोठा, ल्याव लगायत पूर्वाधारको अवस्था समेतको भौतिक निरीक्षण गरी स्थायी अस्थायी प्रमाणपत्र दिने गरेको छ ।
स्थायी/अस्थायी स्वीकृति पाएका नेपालका इन्जिनियरिङ कलेजहरु
0 प्रतिकृया