महानगरले सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीलाई खाजा खर्च दिने, नगर प्रहरीलाई खाना खाजा खर्च
एक्सन खबर
काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्रका सरकारी विद्यालयमा आठ कक्षासम्म अध्ययन गर्ने सबै बालबालिकालाई दैनिक २५ रुपैयाँ खाजा खर्चबापत उपलब्ध गराउने भएको छ । नेपाल सरकारले कक्षा ६ सम्म अध्ययन गर्ने बालबालिकालाई खाजास्वरुप १५ रुपैयाँ दिने र त्यसमा महानगरपालिकाले १० रुपैयाँ थप्नेगरी प्रस्ताब भएको हो ।
काठमाडाैं महानगरपालिकाको आज बसेको कार्यपालिकाले ७ र ८ कक्षामा अध्ययन गर्ने बालबालिकालाई पनि खाजा खार्च उपलब्ध गराउने प्रस्ताव गरेको हो । यसका लागि नगरपालिकाले नौ करोड रुपैयाँ बजेट विनियोजन गरिसकेको छ ।
यस्तै, बालबालिकालाई उनीहरूको विद्यालय उपस्थितिको हाजिरी हेरेर खाजा खर्चबापत उपलब्ध गराइने महानगरको शिक्षा विभागले जनाएको छ ।
नगर प्रहरीलाई दैनिक पाँच सय भत्ता
यस्तै, महानगरपालिकाले नगर प्रहरीलाई खाना र खाजाबापत दैनिक पाँच सय रुपैयाँ भत्ता दिने भएको छ । काठमाडौंका सडकमा फुटपाथ नियन्त्रणका लागि खटिएका नगर प्रहरीलाई दैनिक पाँच सय रुपैयाँ भत्ता दिने प्रस्ताव पेस भएको हो ।
यसअघि महानगरले नगर प्रहरीलाई दैनिक तीन सय रुपैयाँ भत्ता उपलब्ध गराउँदै आएकोमा यसपटकदेखि पाँच सय रुपैयाँ पुर्याइएको हो । महानगर प्रमुख साहले भत्ताबापतको रकम वृद्धिको प्रस्ताव पेस गर्न महानगरको प्रशासन प्रमुखलाई निर्देशन दिएका थिए ।
0 प्रतिकृया