फरवार्ड माइक्राेफाइनान्सकाे नाफा ६५.६५ प्रतिशत बृद्धि
एक्सन खबर
सुनसरी, २१ साउन । महिला आर्थिक सशक्तिकरणकी अगुवा नेतृ भगवती चाैधरीले नेतृत्व गरेकाे फरवार्ड माइक्राेफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडकाे आर्थिक सूचकांक उत्कृष्ट देखिएकाे छ । फरवार्ड माइक्रोफाइनान्सकाे गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार खुद नाफा ६५.६५ प्रतिशतले बढेर ८४ करोड ५३ लाख ७६ हजार रुपैयाँ पुगेकाे छ ।
अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकको खुद नाफा ५१ करोड ३ लाख ३५ हजार रुपैयाँ रहेको थियो । असार मसान्तसम्मको अवधिमा बैंकको सञ्चालन नाफामा उल्लेखनीय प्रगति हुँदा खुद नाफामा समेत सुधार आएको छ ।
यस अवधिमा लघुवित्तको सञ्चालन नाफा ४९.५१ प्रतिशतले बढेर १ अर्ब २० करोड २ लाख ९९ हजार रुपैयाँ पुगेकाे छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तको सञ्चालन नाफा ८० करोड २८ लाख ४३ हजार रुपैयाँ रहेको थियो ।
अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म १ अर्ब २५ करोड ५ लाख ८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले गत आर्थिक वर्षको सोहि अवधिमा आइपुग्दा खुद ब्याज आम्दानी १ अर्ब ३६ करोड ११ लाख ८१ हजार रुपैयाँ पुर्रयाएकाे छ ।
समिक्षा अवधिमा लघुवित्तको चुक्तापूँजी ८४ करोड ४४ लाख ५१ हजार रुपैयाँ, सापटी रकम १६.८२ प्रतिशतले बढेर १० अर्ब ८ करोड ८३ लाख ७४ हजार रुपैयाँ, जगेडा कोष ७२.३१ प्रतिशतले बढेर १ अर्ब ८४ करोड ७९ लाख ३२ हजार रुपैयाँ, निक्षेप संकलन १९.८७ प्रतिशतले बढेर ७ अर्ब ९५ करोड ९१ लाख १ हजार रुपैयाँ, कर्जा २७.९६ प्रतिशतले बढेर १९ अर्ब ८१ करोड १४ लाख ७९ हजार रुपैयाँ आर्जन गरेको जनाएकाे छ ।
कम्पनीको खराब कर्जा ३.६७ प्रतिशतबाट घटेर १.८३ प्रतिशत कायम भएको छ । याे सुखद् पक्ष हाे । यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १०० रुपैयाँ ११ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ ३१८ रुपैयाँ ८३ पैसा रहेको छ ।
सुनसरीकाे दुहवीमा प्रधान कार्यालय रहेकाे फरवार्ड माइक्राेफाइनान्सकाे देशका ४० भन्दा बढी जिल्लाहरूमा शाखा तथा उपशाखाहरू रहेका छन् । फरवार्ड माइक्राेफाइनान्सले आर्थिक सशक्तिकरणको अभियानलाई समेत प्रमुखताका साथ अगाडी बढाउँदै गएको छ ।
स्थापनाकालदेखि नै महिलालाई आर्थिक रुपमा बलियो र सवल बनाउनु पर्दछ भनेर सीपमुलक तालिम सहित वित्तीय साक्षरता अभियान सञ्चालन गरेकाले फरवार्डमा आबद्ध भएर उद्यमशील भएका महिलाहरु हज्जारौं छन् । ‘फरवार्डले ग्रामिण अर्थतन्त्रलाई उकास्न, ग्रामिण महिलाहरु विच वित्तीय साक्षरता सहित विभिन्न तालिमहरु पनि एक साथ चलाएकाले ग्रामिण अर्थतन्त्र, रोजगारी सृजना गर्ने सवालमा योगदान पुर्याएको बुझेका छौं ।’ फरवार्ड माइक्रोफाइनान्सकी अध्यक्ष भगवती चौधरी भन्छिन् ।
फरवार्ड माइक्रोफाइनान्सले बेरोजगारी समस्या न्यूनीकरणमा समेत टेवा दिएको पाइएको छ । संस्थामा प्रत्यक्षरुपमा करिब एक हजारको हाराहारीमा कर्मचारी रहँदा अप्रत्यक्ष रुपमा फरवार्डसँग जोडिएर उद्यमशील हुने, स्वरोजगार हुने युवाहरुको संख्या ठूलो छ । कतिपय स्थानीय तहमा फरवार्डका शाखाहरुबाट लघुउद्यम कर्जा लिएर स्वरोजगार हुनेहरुले अरुलाई समेत रोजगारी दिन सफल भएका छन् ।
0 प्रतिकृया