‘नेपाल सधैभर एक चीन नीतिको समर्थन गर्छ’
एक्सन खबर
काठमाडौं, २० साउन । नेपालले चीन–ताइवान बढ्दो तनावलाई नजिबाट नियालीरहेको बताएको छ । परराष्ट्र मन्त्रालयका आज आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले उक्त कुरा बताएकी हुन् ।
‘नेपालले यस घटनालाई नजिकबाट नियालिरहेको छ । नेपालले सधैं एक चीन नीतिको समर्थन गर्दै आएको छ,’ प्रवक्ता लम्सालले भनिन् । उनले नेपाल र चीन दुवै मुलुकले एकअर्काको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाधिनताको सम्मान गर्दै आएकाे बताइन् । ‘एक शान्तिप्रिय राष्ट्रको रुपमा नेपाल सदैव अन्तर्राष्ट्रिय शान्ति र स्थायित्वको पक्षमा रहेको जानकारी गराउन चाहन्छु ।’ परराष्ट्र प्रवक्ता लम्सालले भनिन् ।
पत्रकार सम्मेलनमा उनले परराष्ट्रमन्त्री डा. नारायण खड्काले यही साउन २४ देखि २६ गतेसम्म गर्ने चीन भ्रमणलाई चीन–ताइवान बढ्दो तनावसँग जोडेर नहेर्न आग्रह गरिन् । ‘घटना पछि भएको हो, परराष्ट्रमन्त्रीको चीन भ्रमणको तयारी धेरै पहिला देखि सुरु भएको हो,’ उनले भनिन् ।
अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले यसैसाता चीनको चेतावनीको
बाबजुद ताइवानको भ्रमण गरेपछि अहिले चीन–ताइवान र चीन–अमेरिका सम्बन्धमा
तनाव बढेको छ । पेलोसीले ताइवानको भ्रमण गरेको जवाफमा अहिले चीनले
ताइवान वरपर अहिलेसम्मकै ठूलो सैन्य अभ्यास गरिरहेको छ । चीनले ताइवानको
सीमा नजिक मिसाइल समेत प्रहार गरेको छ ।
0 प्रतिकृया