धरानका मेयर साम्पाङ विरूद्ध पूर्वउपमेयर भण्डारीले दिइन् साइबर व्यूराेमा उजुरी
एक्सन खबर
धरान, १९ साउन । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ विरूद्ध साइबर क्राइम गरेकाे भन्दै प्रहरीमा उजुरी परेकाे छ । पुर्वउपमेयर एवं नेकपा एमाले नेतृ मञ्जु भण्डारीले मेयर हर्क साम्पाङ विरुद्ध नेपाल प्रहरीकाे साइबर ब्युरोमा उजुरी दिएकी छिन् ।
मेयर साम्पाङको आधिकारिक फेसबुक पेज ‘हर्क साम्पाङ अ रेभुलेसन’बाट आफ्नो फेक आइडी बनाएर सामाजिक तथा जातीय सद्भावमा चोट पुग्ने गरि पोष्ट भएको स्क्रिन सट सम्प्रेषण गरेको भन्दै भण्डारीले साइबर ब्युरोमा उजुरी दिएकी हुन् ।
मेयर साम्पाङले पोष्ट गरेको उक्त स्क्रिन सर्टमा उल्लेख भएको आइडी आफ्नो नभएको जिकीर गर्दै फेक आइडी सृर्जना गर्दै धरानकाे सामाजिक तथा जातीय सद्रभाव भाँड्न खाेजेकाे भण्डारीकाे भनाइ छ ।
उनले बराह पीडित संघर्ष समितिको संयोजक खगेन्द्र नेपालीसँग आफु र नेकपा एमालेलाई जोडेर वास्तविक पिडितहरुको आन्दोलनलाई राजनीतिकरण गरी डाइभर्ट गर्न खोजेको समेत भण्डारीकाे तर्क छ ।
उनले मेयर साम्पाङलाई सचेत गराउँदा उल्टै आफ्नो फेक आइडी बनाएर पोष्ट आएपछि बाध्य भएर साइबर ब्युरोमा मुद्दा दिनुपरेको बताएकी छिन् । साथै, उनले अपराधिक घटना भएको र अन्य व्यक्तिहरू पनि पीडित नहुन् भनेर प्रमाणसहित उजुरी गरेकाे जिकीर गरेकी छन् ।
यस्तै ग्यालेक्सी टेलिभिजनका सञ्चारकर्मी मिलन बुढाथाेकीले पनि मेयर हर्क साम्पाङकाे फेसवुक पेजमा प्रकाशित स्क्रिन सटकाे भ्रामक रूपमा भाइरल भएपछि साइबर ब्युरोमा जातीय सद्भाव बिगार्ने विषय उल्लेख गरी आफ्नो नाम र तस्बिर प्रयोग गरेर बिना अनुमति सामाजिक सञ्जालमा पोस्ट गरिएको भन्दै छानबिन र कारबाहीको माग गर्दै निवेदन दिएका छन् ।
0 प्रतिकृया