श्रीलंकामा आज राष्ट्रपति निर्वाचन, तीन जना प्रतिष्पर्धामा
एक्सन खबर
कोलम्बो, ४ साउन । श्रीलंकाको संसदले आज बुधबार नयाँ राष्ट्रपतिका लागि मतदान गर्दै छ । आक्रोशित प्रदर्शनकारीहरू निवासमा प्रवेश गरेपछि विदेश भागेर उतैबाट राजीनामा दिएका गोटाबाया राजापाक्षेको स्थानमा नयाँ राष्ट्रपतिका लागि बुधबार संसदमा मतदान हुँदैछ ।
राजापाक्षेको स्थानमा आउने नयाँ राष्ट्रपतिले देशमा जारी अभुतपूर्व संकट समाधानमा महत्वपूर्ण पहल गर्ने विश्वास गरिएको छ । श्रीलंकाका २ करोड २० लाख मानिस खाद्यान्न, औषधिजस्ता अत्यावश्यक सेवाको अभाव झेलिरहेका छन् ।
अभूतपूर्व आर्थिक संकटका कारण महिनौंदेखिको प्रदर्शनपछि राजापाक्षेलाई सेनाले उद्धार गरेर अज्ञात स्थल लगेको थियो । उनी माल्दिभ्स हुँदै सिंगापुर भागेका थिए । सिंगापुर सरकारले राजापाक्षेलाई शरण नदिएको बरु उनी निजी भ्रमणका क्रममा त्यहाँ आएको बताएका छन् ।
आज हुने निर्वाचनका लागि तीन जना उम्मेदवारले आफ्नो मनोनयन दर्ता गरेका छन् । कार्यवाहक राष्ट्रपति रनिल विक्रमसिंघे, जनता विमुक्ति पेरामुना पार्टीका अध्यक्ष अनुरा कुमारा दिशानायका र श्रीलंका पोदुजना पेरामुना पार्टीका सांसद दुल्लास अल्लाहपेरुमाले पदका लागि प्रतिष्पर्धामा छन् ।
0 प्रतिकृया