Follow us:


Follow us

५ वैशाख २०८३, शनिवार
५ वैशाख २०८३, शनिवार


चेक रिपब्लिकले नेपाली श्रमिक लैजान छोडेपछि व्यवसायी मर्कामा

एक्सन खबर
साउन, ३, २०७९


चेक रिपब्लिकले नेपाली श्रमिक लैजान छोडेपछि व्यवसायी मर्कामा

काठमाडौं, २ साउन । युरोपियन मुलक चेक रिपब्लिकले नेपाली श्रमिक लैजान छोडेपछि त्यहाँका व्यवसायीहरू मर्कामा परेका छन् । धेरै नेपाली त्यहाँ रेस्टुरेन्ट लगायतका व्यवसाय गरेर बसेका छन् ।

तर,अहिले भने त्यहाँको सरकारले नेपाली श्रमिकका लागि भिसा दिएको छैन । अन्यत्रका श्रमिकलाई महंगो सेवा सुविधा दिनुपर्ने भएका कारण नेपाली व्यवसायीले नेपाली श्रमिक नै लैजाने गरेका थिए । कोरोना महामारीले थला परेका व्यवसायीहरू अहिले श्रमिक अभावले थप मर्कामा परेका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) चेक रिपब्लिकले राजदूत रामकाजी खड्कासँग गरेको एउटा अन्तर्क्रियामा नेपालीहरूले आफ्ना समस्याहरू अवगत गराएका थिए । चेक रिपब्लिकमा कार्यरत नेपालीको समस्या तथा समाधानका उपायकाबारेमा राजदूत खड्कासँग एनआरएनएले अन्तर्क्रिया आयोजना गरेको थियो । चेक रिपब्लिकमा नेपाली दूतावास छैन । त्यहाँको मामिला हेर्ने जिम्मेवारी जर्मनीको बर्लिनस्थित नेपाली दूतावासको हो ।

नेपाल सरकारले खड्कालाई चेक रिपब्लिकका लागि आवासीय राजदूतको जिम्मेवारी दिएको छ । एनआरएनए चेक रिपब्लिकका प्रवक्ता उत्तम कुमार आचार्यका अनुसार खड्का आफ्नो ओहोदाको प्रमाण पत्र बुझाउन जर्मनीबाट चेक रिपब्लिक पुगेका बेला त्यहाँका नेपालीले आफ्ना पीडा पोखेका हुन् ।

चेक रिपब्लिकमा नेपालीको संख्या अन्य मुलुकमा भन्दा न्यून छ । त्यहाँ झण्डै १३ सय नेपाली रहेको अनुमान छ । यीमध्ये कतिपय विद्यार्थी हुन् । त्यहाँ केही नेपालीको आफ्नै व्यवसाय छ भने अरु बाँकी रेष्टुरेण्ट तथा कम्पनीहरुमा काम गर्छन् ।

एनआरएनए चेक रिपब्लिकका अध्यक्ष यदुराम पन्थीका अनुसार त्यहाँ प्राय नेपाली गर्ने भनेको रेष्टुरेण्ट व्यवसाय हो । केही समयअघिसम्म यहाँ ५० भन्दा बढी नेपाली व्यवसायीले सञ्चालन गरेका रेष्टुरेण्ट थिए । तर, अहिलेको अवस्था त्यो छैन । अहिले नेपालीले सञ्चालन गरेका केही रेष्टुरेण्ट बन्द भइसकेका छन् भने केही बन्द हुने अवस्थामा छन् ।

नेपालीको व्यवासयमा असर पर्नुको एउटा कारण कोभिडको महामारी पनि हो । तर, योबाहेक अन्य कारणले पनि नेपाली व्यवसायी चपेटामा परेका छन् ।

पछिल्लो समय त्यहाँको सरकारले होटल तथा रेष्टुरेण्ट क्षेत्रमा काम गर्ने नेपालीलाई नयाँ भिसा जारी गरेको छैन । त्यसैले व्यवसायीलाई श्रमिकको अभाव छ । स्थानीय तथा अन्य मुलुकका श्रमिकलाई काममा राख्ने हो भने उनीहरुलाई अत्यन्तमा महङ्गो सेवा सुविधा उपलब्ध गराउनुपर्छ ।

स्थानीयको तुलनामा नेपालीलाई रोजगारी दिन सस्तो पर्छ । नेपाली व्यवसायी नेपालबाटै श्रमिक लैजान चाहन्छन् तर, त्यसका लागि त्यहाँको सरकारले तदारुकता लिनुपर्ने आवश्यकता छ । पछिल्लो समय त्यहाँको सरकारले बंगलादेशलगायतका मुलुकबाट श्रमिक लैजान सम्झौता गरेको छ ।

नेपालबाट श्रमिक लैजाने बाटो भने लगभग बन्द जस्तै छ । यसैको मारमा नेपाली व्यवसायी र श्रमिक परेका छन् । केही नेपाली रेष्टुरेण्ट श्रमिक अभावकै कारण बन्द भएका हुन् । केही नेपालीका ३/४ वटासम्म रेष्टुरेण्ट छन् । उनीहरुले श्रमिकलाई यताउता तानतुन गरेर भएपनि धानिरहेका छन् । तर, यो दिर्घकालीन समधान होइन ।

अन्तरक्रियामा नेपालीहरुले यिनै समस्या राजदूत खड्कालाई सुनाएका थिए । उनीहरूले सरकारी तहबाट केही पहल नभए आफूहरु थप समस्या पर्ने भनेर गुनासो गरेका थिए ।

राजदूत खड्काले उनीहरुलाई आफूले त्यहाँको सरकारसँग यस विषयमा पहल गर्ने आश्वासन दिएका थिए । अन्तर्क्रिया कार्यक्रममा अनलाइन प्रविधिमार्फत समेत नेपाली सहभागी भएका थिए । कार्यक्रममा एनआरएनएका यूरोप क्षेत्रीय संयोजक सन्तोष भट्टराई र उपसंयोजक नवराज रोसायाराले पनि भर्चुअल सम्बोधन गरेका थिए ।













0 प्रतिकृया