वामपन्थी शक्तिबीच तालमेल गर्न नारायणकाजीकाे प्रस्ताव
एक्सन खबर
काठमाडौं, ३२ असार । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले वामपन्थी शक्तिहरुबीच तालमेलको प्रस्ताव गरेका छन् । काठमाडौंमा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्दै श्रेष्ठले वमपन्थी शक्तिहरुबीच विभाजन हुँदा मुलुकको राष्ट्रियता कमजोर भएको भन्दै वामपन्थी शक्तिबीच तालमेलको प्रस्ताव गरेका हुन् ।
‘बामपन्थी शक्तिहरु दुई तिहाईमा छन् तर अहिले एकअर्कालाई सिध्याउने तल पार्ने कार्यमा लागिरहेका छन्, तुम शेर तो हम सवाशेर भन्ने प्रतिस्पर्धा अझै छ,’ श्रेष्ठले भने, ‘तर यस्तो प्रवृत्तिले मुलुकको राष्ट्रियता र सार्वभौमसत्तालाई जोगाउन सक्दैन, बामपन्थी शक्तिहरु एक हुनुपर्छ, बामपन्थीहरुबीच तालमेल र मोर्चा गर्न जरुरी छ ।’
तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन गरेकोमा आत्मलोचना गर्दै श्रेष्ठले भने, म बामपन्थी शक्तिहरु बिचको तालमेलका लागि आग्रह गर्दछु ।’
कार्यक्रममा उनले नेपालमा देशभक्त कोही भए वामपन्थी दलहरु मात्रै भएको दाबी पनि गरे । यही कारण वामपन्थी दलहरूलाई कमजोर बनाउन चौतर्फी रुपमा अक्रमण भइरहेको बताए । जब देशमा वामपन्थीहरू कमजोर हुन्छन् त्यसपछि अन्य मुलुकले पनि हस्तक्षेप गर्न सहज हुने भएकाले सबैले कमजोर बनाउन लागेको उनले बताए ।
उनले कार्यक्रममा उपस्थित केपी शर्मा ओलीलाई पनि वाम एकता जोगाउन नसकेकोमा आत्मलोचना गर्न आग्रह गरे । साथै अब कुनै निर्वाचनमा तालमेल गरेर हुन्छ वा अन्य कुनै उपायबाट वाम एकता हुनुपर्ने पनि बताए ।
0 प्रतिकृया