भोलीदेखि महानगरले कुहिने र नकुहिने फोहर छुट्टाछुट्टै संकलन गर्ने
एक्सन खबर
काठमाडौं, ३२ असार । काठमाडौं महानगरपालिकाले भोलीदेखि कुहिने र नकुहिने फोहर छुट्टाछुट्टै संकलन गर्ने भएको छ । महानगरको फोहरको समस्यालाई दिर्घकालिन रुपमा समाधान खोज्न र घरबाट निस्कने फोहरलाई घरैबाट व्यवस्थित गराउन कुहिने र नकुहिने फोहर छुट्याएर संकलन गर्ने योजना बनाइएको हो ।
महानगरपालिका वातावरण तथा कृषी विभागका अनुसार साउन १ गते आइतबारबाट साताको ४ दिन फोहर संकलन गर्नेमा आइतबार र बुधबार कुहिने फोहर संकलन गर्नेछ । सोमबार र शुक्रबार नहुकिने फोहर संकलन गर्नेछ ।
यसका लागि महानगरपालिकाले महानगरबासीलाई कुहिने र नकुहिने फोहर छुट्टाछुट्टै भाँडोमा राख्न अनुरोध गरेको छ । साथै, सकेसम्म कुहिने फोहरलाई घरमै कम्पोष्ट मल बनाएर करेसाबासी र कौसी खेतीमा प्रयोग गर्न भनेको छ । नकुहिने फोहरलाई समेत कवाडीमा बेचेर आम्दानी गर्न महानगरपालिकाको अनुरोध छ ।
महानगरले साउन १ गते कुहिने र नकुहिने फोहर छुट्याएर राखेको नपाइए फोहर संकलन नगर्ने तथा महानगरपालिकाको वातावरण तथा प्राकृतिक श्रोत संरक्षण ऐन, २०७७ को दफा ५१ को (थ) तथा फोहर मैला व्यवस्था ऐन २०६८ को दफा ३८ (थ) अनुसार कसुर मानी प्रत्येक पटक रु ५०० जरिमाना गरिने समेत जनाएको छ ।
तस्विरः टेकुस्थित ट्रान्सफर स्टेशनमा रहेको केही भाग फोहोरमा जीवातु राखेर प्लाष्टिकले छोपिएकाे
0 प्रतिकृया