Follow us:


Follow us

६ वैशाख २०८३, आइतवार
६ वैशाख २०८३, आइतवार


आज गुरु पूर्णिमा र भानु जयन्ति

एक्सन खबर
असार, २९, २०७९


आज गुरु पूर्णिमा र भानु जयन्ति

काठमाडौं, २९ असार । आज असार शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा । यस दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट गर्ने गरिन्छ ।

आजको दिन आफूलाई शिक्षा दिने, मन्त्र दिने गुरुलाई सम्मान गर्ने दिन हो । आज पूर्णिमा व्रत ब्यास पूजा जयन्ती हो । गुरुलाई आमा–बुबा सरह सम्मान गर्ने प्रचलन छ ।

संस्कृतमा ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश हुन्छ ।  वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिइन्छ ।

वेदव्यासले वेदान्त, अठार पुराण, उपनिषद‍्लगायतका धार्मिकग्रन्थ लेखी हिन्दू संस्कृतिलाई ठूलो गुन लगाएको मानिन्छ ।

यस्तै, नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०९औं जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । संस्कृत भाषामा लेखिएको ‘रामायण’ लाई भानुभक्तले नेपाली भाषामा रूपान्तरण गरेर नेपाली साहित्यमा अनुकरणीय गुण लगाएका छन् ।

विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तलाई सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती उपदेश दिएपछि उनले रामायणलाई नेपाली भाषामा लेखेका हुन् ।

नेपाली साहित्यमा भानुभक्तका अन्य कृतिहरू पनि रहेका छन् । ‘बधुशिक्षा’ रामायण पछि उनको अर्को प्रसिद्ध कृति हो । ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’ तथा उनका धेरै फुटकर रचनाहरू छन्  ।भानु जयन्तिका अवसरमा बिहान काठमाडौंको रानीपोखरी अगाडि रहेको राष्ट्रिय विभूति भानुभक्तको प्रतिमामा माल्यार्पण र नगर प्रभातफेरी गर्ने कार्यक्रम रहेको बताइएको छ ।

भानुभक्तको निधन विसं १९२५ असोजमा भएको थियो । भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किम, भुटान, बर्मालगायत नेपाली भाषाभाषी रहेका देशमा पनि मनाउने गरिएको छ ।













0 प्रतिकृया