Follow us:


Follow us

५ वैशाख २०८३, शनिवार
५ वैशाख २०८३, शनिवार


‘एमालेले नक्कली बिहे गरेर सक्कली डिभोर्स गर्दैन’ केपी शर्मा ओली

एक्सन खबर
असार, २७, २०७९


‘एमालेले नक्कली बिहे गरेर सक्कली डिभोर्स गर्दैन’ केपी शर्मा ओली

काठमाडौं, २७ असार । प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा गठबन्धन नगरी प्रतिस्पर्धा गर्ने बताएका छन् । सोमबार पत्रकारहरुसँग कुरा गर्दै उनले यथास्थिति नै दोहोरिने खालका गठबन्धन बनाउन एमाले अग्रसर नहुने बताए ।

बिहे र डिभोर्सको प्रसङ्गलाई जोडेर गठबन्धनबारे ओलीले नक्कली बिहे गरेर सक्कली डिभोर्स नगर्ने बताए । ‘एकपल्ट बिहे हुन्छ फेरि डिभोर्स हुन्छ । फेरि बिहे हुन्छ, फेरि डिभोर्स पनि हुन्छ । यसको पछाडिको कारण डिभोर्स चैँ साँचो हुन्छ, बिहे चैँ नक्कली हुन्छ,’ ओलीले भने, ‘त्यस कारण साँचो डिभोर्स गर्नका लागि, नक्कली बिहे गर्न एमाले हत्तारिँदैन ।’ देश र जनतालाई हित र फाइदा नहुने गठबन्धन एमालेले नगर्ने भन्दै उनले देश परिवर्तनको शक्तिसहित अघि बढ्ने बताए ।
 
५६ हजार हस्ताक्षर गरे, औँलामा ठेला उठ्यो

ओलीले आफू प्रधानमन्त्री हुँदा मुद्दा मामिलाका लागि ५६ हजारवटा हस्ताक्षर गर्नुपरेको बताएका छन् । भ्रष्टाचार, अनियमितताका विषयमा एमाले न्यायिक बाटोमा जान्छ कि जाँदैन भन्ने प्रश्नको जवाफ दिने क्रममा अध्यक्ष ओलीले एमाले मुद्दा मामिला प्रति फ्रस्टेट भएको बताए ।

आफू प्रधानमन्त्री हुँदा सानातिना विषयमा प्रधानमन्त्रीलाई विपक्षी बनाएर मुद्दा दायरा हुँदा जवाफ दिँदा निकै हैरानी खेपेको उनले गुनासो गरे । सो क्रममा करिब ५६ हजार पटक हस्ताक्षर गरेको र हस्ताक्षर गर्ने क्रममा औँलामा ठेला नै उठेको ओलीको भनाइ छ ।

‘एउटा मुद्दा कम्तीमा छोटो लेख्दा पनि १० पेजको प्रतिवाद पत्र हुन्थ्यो । एउटा मुद्दा १० पेजको तीनप्रति प्रतिवाद पत्र लेख्नुपर्छ । । तीनप्रतिमै प्रधानमन्त्रीले सही गर्नुपर्छ, ३० पेज त भयो । ३० पेजको शिर र पिँधमा सही गर्नुपर्छ । छोटो भयो भने ६० वटामा सही गर्नुपर्छ,’ आफू प्रधानमन्त्री हुँदा सरकारलाई विपक्षी बनाएर दायर भएको रिटको जवाफ दिँदाको अवस्थाबारे जानकारी दिँदै ओलीले भने, ‘मैलै मोटामोटी हिसाब गर्दा ५५/५६ हजार सिग्नेचर मैले प्रधानमन्त्री हुँदा मुद्दाको मामलामा गर्नुपर्‍यो, यहाँनिर (हातको औँला देखाउँदै) ठेला उठ्यो । कम्युटरले सिग्नेचर गर्दैन हातलै गर्नुपर्यो ।’
 
देश श्रीलंकाभन्दा तल पुग्ने अवस्थामा

ओलीले अहिलेको सरकारको कारण देश श्रीलंका बाटो लागेको पनि बताएका छन् । यसकारण सबैजना सतर्क हुनुपर्ने अवस्था आएको उनको भनाइ छ । ओलीले यस सरकारका अर्थमन्त्रीले अनाधिकृत तरिकाबाट बजेट निर्माण, कमिसनको खेलमा हतियार खरिद प्रकरण जस्ता पृष्ठभूमिले देशको अर्थतन्त्र श्रीलंकाको भन्दा तल पुग्ने खतरा देखिएको दाबी गरे ।

‘बजेट निर्माणमा अनाडि मान्छेहरू सम्लग्न हुने, व्यापारीका प्रतिनिधिहरू सेटिङअन्तर्गत लाभको हिसाबकिताब जोडघटाउ गर्ने जस्ता कारणले देशका अर्थतन्त्र ध्वस्त भएको उनको भनाइ छ ।  कर दर, अन्तशुल्क छुट दिने जस्ता विषयमा अनाधिकृत मान्छे ल्याएर राष्ट्रिय बजेटलाई कमजोर र अर्थतन्त्रलाई नै ध्वस्त पार्नेगरी, अवान्छित तत्वहरूको हात घुसाउने काम गरेको उनले बताए ।

‘हतियार खरिद रक्षामन्त्री वा अर्थमन्त्रीले मात्र गर्न सक्छ । न बजेटमा यत्रो बदमासी अर्थमन्त्रीले मात्र गर्न सक्छ । अर्थमन्त्री एउटैको मात्र पनि चल्दैन र अर्थमन्त्रीको पृष्ठपोषणमा, हतियार खरिद प्रकरणमा गरिएका कुराहरू, पृष्ठभूमिमा देखिएको भरथेग त्यति सहज छैन भन्ने देखाउँछ । यसको प्रभाव कम्तिमा श्रीलंकामा पुग्ने लक्षण देखिँदैछ ।’ उनले भने ।

संवैधानिक परिषद् विधेयकका सम्बन्धमा बाेल्दै ओलीले भने–‘हामीले ल्याउँदा विरोध र मुद्दामामिलामा जानेहरु अहिले निर्लज्ज र स्वार्थप्रेरित ढंगले विधेयक अगाडि बढाउन खोजेका छन् । यस्तो विरोधाभाषी काम गर्नेहरुले विधेयक ल्याउनुभन्दा अघि मुद्दा फिर्ता लिएर जनतासँग माफी माग्नुपर्छ पहिले हामीले जानेनछौं भनेर ।’













0 प्रतिकृया