Follow us:


Follow us

१३ असोज २०८३, मङ्गलवार
१३ असोज २०८३, मङ्गलवार


नेकका आर्किटेक्चर दोश्रो वर्षका विद्यार्थीले बनाएको मोडलहरुको प्रदर्शनी (फोटो फिचर)

एक्सन खबर
असार, २२, २०७९


नेकका आर्किटेक्चर दोश्रो वर्षका विद्यार्थीले बनाएको मोडलहरुको प्रदर्शनी (फोटो फिचर)

भक्तपुर, २२ असार । नेपाल इन्जिनियरिङ कलेज (नेक) मा आर्किटेक्चरका दोस्रो वर्षका विद्यार्थीहरूले बनाएको मोडेलहरूको प्रदर्शनी भएको छ । मंगलबार कलेजमा आर्किटेक्चरका विद्यार्थीहरूले बनाएको मोडलहरू प्रदर्शनी गरिएको हो ।

घरको डिजाईन कागजमा मात्र नकोरी तीनवटै आयाम सहितको घरको भौतिक मोडेल बनाउने कलाको आर्किटेक्चर विधामा विशेष महत्व रहने गरेकोमा कलेजले विद्यार्थीहरुको क्षमता र दक्षता पहिचान गर्नका लागि प्रदर्शनी आयोजना गरेको हो ।

त्यसो त, कलेजले सुरुमा विद्यार्थीहरुले बनाएको मोडलहरुलाई प्रदर्शनीकै रुप दिने सोच बनाएको थिएन । आर्किटेक्चर दोश्रो वर्षका विद्यार्थीहरुको नियमित कार्यक्रम अनुसार सम्पन्न गर्ने भनिए पनि उनीहरुको सीप र दक्षता देखेर आर्किटेक्चर विभागले विद्यार्थीहरुलाई नै सरप्राइज दिने गरी कार्यक्रम बनाएको विभागीय प्रमुख सहप्राध्यापक न्हसला सायमीले बताइन् ।

‘विद्यार्थीहरुले बनाएको मोडलहरु उनीहरु विचमात्रै प्रदर्शनी गर्ने कार्यक्रम थियो तर, उनीहरुको काम देखेर अलिक बृहद रुप दिन विद्यार्थीहरुलाई पनि सरप्राइज दिएर प्रदर्शनी गर्यौं ।’ विभागीय प्रमुख सामयीले एक्सन खबरसँग भनिन् ।

घरको मोडलहरु बनाउन विद्यार्थीहरुलाई केही क्राइटएरिया दिइएको थियो । रंगहरु पनि २ वटा मात्रै प्रयोग गर्न भनिएको थियो । घरको भित्री तथा बाहिरी बनावट, सजावटमा समेत ध्यान दिइएको थियो । ती सबैमा विद्यार्थीहरुले अत्यन्त मेहनत गरेको पाइएको सायमीले बताइन् ।

घरको मोडल बनाउन ४८ जना विद्यार्थीहरूलाई १६ वटा समूहमा विभाजन गरी प्रत्येक समूहले मोडेलमा छुट्टै आफ्नोपन देखाउनु पर्ने क्राइटएरिया दिइएकोमा उल्लेखित १६ समूहले आ–आफ्नै ढंगले मोडेलहरु तयार पारेका थिए ।

मोडेल प्रदर्शनीमा कलेजका प्रिन्सिपल प्रा.डा. हरिकृष्ण श्रेष्ठले राखेका जिज्ञासाको उत्तरमा विद्यार्थी समूहहरूले मोडेल बनाउन लगभग एक हप्ता लागेको तथा मोडेल बनाउने क्रममा समूहमा काम गर्ने सीप तथा समय व्यवस्थापन गर्ने सीप विकास भएको जानकारी दिए । डा. श्रेष्ठले विद्यार्थीले अध्ययन गरेको विषयलाई प्रयोगात्मक रुपमा ढाल्दा उनीहरुको सीप र क्षमता कत्तिको रहेछ बुझ्ने अवसर मिल्ने बताए । साथै, नयाँ पुस्ताले सिकेको ज्ञान पुरानो पुस्ताले समेत बुझ्ने अवसर मिलेको बताए ।

मोडलहरु निर्माणको क्रममा सबै समूहलाई एउटै परिवेशमा आ–आफ्नो मौलिकता झल्किने मोडेल बनाउन भनिएको थियो । यस प्रकारको कृयाकलापबाट विद्यार्थीहरूमा व्यवहारिक सीप विकास हुने विभागीय प्रमुख सहप्राध्यापक न्हसला सायमीले बताइन् ।

इन्जिनियरिङ शिक्षामा नेपाल इन्जिनियरिङ कलेज आफैंमा एउटा ब्राण्ड हो । पोखरा विश्वविद्यालयबाट सम्बन्धन लिएर सामाजिक शैक्षिक संस्थाका रुपमा जिल्ला प्रशासन कार्यालय भक्तपुरमा समेत दर्ता भइ सञ्चालित कलेजको शैक्षिक गुणस्तर अन्तराष्ट्रिय स्तरको छ । विद्यार्थीको सिकाईलाई सहज बनाउन कलेजले अधिकतम प्रयोगात्मक शिक्षण विधी अपनाउने गरेकाले यहाँको पढाई अन्तराष्ट्रिय स्तरको रहेको छ ।




















0 प्रतिकृया