Follow us:


Follow us

२३ जेठ २०८३, शनिवार
२३ जेठ २०८३, शनिवार


एक सय शय्याका आफ्नै अस्पताल नहुँदा देशभरका ७८ नर्सिङ कलेज बन्द, नर्सिङ जनशक्ति अभाव हुने अवस्था

एक्सन खबर
असार, २१, २०७९


एक सय शय्याका आफ्नै अस्पताल नहुँदा देशभरका ७८ नर्सिङ कलेज बन्द, नर्सिङ जनशक्ति अभाव हुने अवस्था

काठमाडाैं, २१ असार । देशभर निजी क्षेत्रबाट सञ्चालित ७८ वटा कलेज नर्सिङका विद्यार्थी पढाउनबाट वञ्चित भएका छन् । चिकित्सा शिक्षा ऐनमा नर्सिङ कलेज सञ्चालन गर्न १०० शय्याको अस्पताल अनिवार्य हुनुपर्ने व्यवस्था अनुसार १०० शय्याको अस्पताल बनाउन नसकेका कारण उक्त कलेज बन्द भएका हुन् ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बाट सम्बन्धन लिएका ती कलेज बन्द हुँदा तीन हजारभन्दा बढी विद्यार्थी नर्सिङ पढ्नबाट वञ्चित भएका छन् । उनीहरूले गत वर्षबाट विद्यार्थी भर्ना गर्न पाएका छैनन् ।

स्वास्थ्य तथा प्रविधि विज्ञान मञ्चका अध्यक्ष डा. नेत्रराज चटौतले सीटीईभीटीको मापदण्ड अनुसार ५० र १०० शय्याको अस्पतालसँग सम्बन्धन प्राप्त गरी सञ्चालनमा रहेका ती शैक्षिक संस्थाले ऐनमा भएको १०० शय्याको आफ्नै अस्पताल हुनुपर्ने व्यवस्थाले भर्ना लिन नपाएको बताए ।

ऐनले नै दुई वर्ष भित्र १०० शय्याको अस्पताल बनाउन भनेकोमा एकाध कलेजहरूले मात्र अस्पताल बनाए । सरकारले मापदण्ड पूरा नगरेका कलेजलाई भर्ना लिन रोक लगाएको बताएकाे छ । नर्सिङमा एक कलेजले ४० जना विद्यार्थीमा ४ जना सरकारी पूर्ण छात्रवृत्ति र ३६ जना शुल्क तिरेर पढ्दै आएका थिए ।

निजी शिक्षण संस्थाहरूले हरेक वर्ष ३१२ जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गर्दै आएकाेमा त्याे समेत प्रभावित भएकाे छ । पहिलो वर्षको भर्ना रोकिए पनि दोस्रो र तेस्रो वर्षको भने पढाई भइरहेको छ । यसरी कलेज बन्द हुँदा हरेक वर्ष ३ हजार १२० जना विद्यार्थी नर्सिङ पढ्नबाट वञ्चित भएका छन् ।

भर्ना रोकिएपछि मास्टर डिग्री गरेका ७८ जना नर्स, ब्याचलर डिग्री गरेका ८८० नर्स, पीसीएल नर्सिङ तथा पारामेडिकल एक हजार ३७० जना, प्रशासनिक कर्मचारी एक हजार ७५ जना र सपोर्ट स्टाफ एक हजार २९० जना गरी चार हजार ६९३ जनाको रोजगारी समेत गुमेकाे छ । अबको दुई वर्ष भित्रमा ती नर्सिङ शिक्षण संस्थामा कार्यरत सबैको रोजगारी गुम्ने परिस्थिति समेत सृजना भएकाे छ ।

अहिले पहिलो वर्षमा पढाउने शिक्षक, प्रशासनिक कर्मचारी, ड्राइभर, कार्यालय सहयोगी, सुरक्षा गार्ड लगायतका कर्मचारी कटौती भइसकेका छन् । दोस्रो र तेस्रो वर्षमा पढाइरहेका शिक्षक, कर्मचारीलाई पनि पढाई सकिने बित्तिकै जागिर छोड्न भनिएकाे छ ।

सामान्यतया नर्सिङ कलेजमात्र चलाएकाहरूले एक सय वेडकाे अस्पताल चलाउन सक्ने परिस्थिति छैन । एक सय बेडको अस्पताल खोल्नु भनेको उपत्यका बाहिर ५० करोडभन्दा माथि र उपत्यकाभित्र दुई करोड लगानी गर्नु हाे ।

ऐनको मापदण्ड पूरा नगरेका मेडिकल कलेजलगायत कुनै पनि शिक्षण संस्थालाई सिट निर्धारण गर्न नसकिने राष्ट्रिय चिकित्सा शिक्षा आयोगले जनाएको छ । सीटीईभीटीले ऐनको प्रावधान संशोधन नभए कलेजहरू बन्द हुने अवस्थाकाे जानकारी शिक्षा मन्त्रालयलगायत सरोकारवाला निकायलाई गराएको भएतापनि कतैबाट चासाे नै दिइएन ।

डा. गोविन्द केसीको लामो समयको अनसन पछि सरकार राष्ट्रिय चिकित्सा शिक्षा ऐन ल्याउन बाध्य भएको थियो । ऐन आइसकेपछि पीसीएल लेभलका नर्सिङ कलेजलाई दुई वर्षभित्र १०० बेडका अस्पताल बनाउन भनिएकाे छ । तर, साना लगानीमा सञ्चालित ती कलेजले २० देखि ५० बेडका अस्पतालमा प्रयोगात्मक अभ्यास गराउँदै आएका थिए । ऐनले १०० बेडको अस्पताल बनाउन बाध्यकारी व्यवस्था ल्याएपछि केही कलेज बाहेक अधिकांशले १०० बेडको अस्पताल बनाउन सकिरहेका छैनन् ।

चिकित्सा शिक्षा ऐनको उक्त व्यवस्था संशोधन गर्न प्रस्ताव शिक्षा मन्त्रालयमा पठाइएको भएतापनि डा. गाेविन्द केसीका कारण ऐन संसाेधनमा सबै डराए । प्रस्ताव शिक्षा मन्त्रालयले कानुन मन्त्रालयमा पठाएपछि केपी ओली नेतृत्वको सरकारले संसाेधनकाे तयारी गर्दागर्दै सरकार परिवर्तन भयो ।

निजी शिक्षण संस्थाको भर्ना रोकिँदा अर्बौँको लगानी जोखिममा परेको बताएका छन् भने वर्षेनी हज्जाराैं विद्यार्थीहरू नर्सिङ अध्ययनकै लागि भारत, बंगलादेश लगायत विदेश जानुपर्ने बाध्यता बढेकाे छ ।

गत वर्ष निजी क्षेत्रमा तीन हजार १२० जना विद्यार्थी नर्सिङ पढ्नबाट वञ्चित हुँदा नेपालमा ठूलाे संख्यामा नर्सिङ जनशक्तिकाे अभाव देखिन सक्ने संभावना बढेकाे छ । नर्सिङ काउन्सिलको तथ्याङ्क अनुसार नेपालमा अनमीसहित एक लाख ५ हजारले नर्सिङको लाइसेन्स पाएका छन् ।

अहिले सरकारले एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन गरिरहेको छ । त्यस्तै नगरपालिकाका प्रत्येक वडामा स्वास्थ्य कार्यक्रम सञ्चालन गर्दै आएको छ । सरकारले हरेक पालिकामा ५ देखि १० शय्याको आधारभूत अस्पताल निर्माण गरिरहेको छ । अब ती क्षेत्रमा चाहिने जनशक्ति अभाव हुने देखिएकाे छ ।

चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा उच्चस्तरीय कार्यदलको प्रतिवेदन २०७२ ले सन् २०३० सम्म मुलुकमा ७० हजार नर्स आवश्यक पर्ने औंल्याएको छ ।













0 प्रतिकृया