Follow us:


Follow us

२३ जेठ २०८३, शनिवार
२३ जेठ २०८३, शनिवार


वीपी प्रतिष्ठानको स्वास्थ्य बीमा कार्यक्रम साउन ७ गतेसम्म चालू रहने

एक्सन खबर
असार, १९, २०७९


वीपी प्रतिष्ठानको स्वास्थ्य बीमा कार्यक्रम साउन ७ गतेसम्म चालू रहने

धरान, १९ असार । स्वास्थ्य बीमा बोर्डले लामो समयदेखि बीमा बापतको रकम भुक्तानी नगर्दा अफ्टेरोमा परेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले असार २० गतेदेखि स्वास्थ्य बीमा सेवा स्थगित गर्ने भनेकोमा साउन ७ गतेसम्म स्वास्थ्य बीमाको सेवा नरोक्ने भएको छ ।

असार २० गतेदेखि स्वास्थ्य बीमाको सेवा स्थगित गर्ने सुचना जारी गरेको प्रतिष्ठानले उक्त निर्णयबाट पछि बीमा सेवालाई साउन ७ गतेसम्म सुचारु गर्ने निर्णय गरेको हो । प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीले बीमा बोर्ड, धरानका मेयर र मानव अधिकार आयोगले पनि बीमाको सेवाहरु नरोक्न अनुरोध गरेकोले साउन ७ गतेसम्म सेवा सुचारु हुने बताएका छन् ।

प्रतिष्ठानले बीमा बोर्डबाट शोधभर्ना पाउनुपर्ने रकमको भुक्तानी लामो समयदेखि नपाउँदा प्रतिष्ठान सञ्चालनार्थ कठिनाई भएको भन्दै बीमा कार्यक्रम स्थगित गर्ने भनेको थियो । उपकुलपति डा. गिरीले साउन ७ गतेसम्म बीमा बापतको शोधभर्ना नपाए पुनः साउन ८ गतेदेखि बीमाको सबै सेवा स्थगन गर्ने जनाएका छन् ।

प्रतिष्ठानले बीमा सेवा रोक्ने सूचना प्रकाशित गरेसँगै धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले प्रतिष्ठानका अधिकारीहरुलाई बोलाएर साउन भरि सेवा नरोक्न आग्रह गरेका थिए । मेयरले बीमा बोर्डमा समेत भुक्तानीका लागि बोर्डका कार्यकारी निर्देशकलाई फोन नै गरेर अनुरोध समेत गरेका थिए ।

बोर्डबाट स्वास्थ्य बीमाको ३४ करोड बढी रकम शोधभर्ना पाउन बाँकी रहेको प्रतिष्ठानले जनाएको छ । पछिल्लो समय आर्थिक संकटसँग जुधिरहेको प्रतिष्ठानले चिकित्सक तथा कर्मचारीहरुलाई तलब भत्ता समेत नियमित रुपमा भुक्तानी गर्न सकिरहेको छैन । सरकारले प्रतिष्ठानलाई तलब भक्ता तथा दैनिक प्रशासनिक खर्चमा बजेट नदिई भौतिक पुर्वाधार तथा स्वास्थ्य उपकरण खरिदमा मात्र बजेट दिने गरेको छ ।













0 प्रतिकृया