‘यो भन्दा बढि राष्ट्रको अर्थतन्त्र ध्वस्त पार्ने तमासा अरु के हुन सक्छ ?’ केपी ओली
एक्सन खबर
काठमाडौँ, २० असार । नेकपा एमालेका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सरकारले अति नै गरेको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोलेका उनले सरकारले अति नै गरे पछि आफु बोल्न उभिएको बताए ।
अध्यक्ष ओलीले मुलुकको अर्थतन्त्र, परराष्ट्र सम्बन्ध लगायतका विषयमा सरकारकाे काम कारवाही अति भएको जिकीर गरे । ‘इनफ भएपछि बोल्न यहाँ आएको हुँ, इज इनफ, अब चाहिँ अति नै भयो ।’ ओलीले भने । आफ्ना सरकारको पालामा सबै कुरा ठीकठाक चलिरहेका बेला एकजना कांग्रेस सांसदले ‘इनफ इज इनफ’ भनेर बोलेको स्मरण गर्दै ओलीले वास्तविकता अर्थमा अति नै भएपछि आफू बोल्न उभिएको जनाए ।
सत्तापक्षका नेता र मन्त्रीहरूले विभिन्न विषयमा जथाभावी बोल्दै हिँडेको ओलीकाे भनाइ छ । एसपीपी, अर्थमन्त्रालयमा बजेट निर्माण भइरहेका बेलाको विषयलाई लिएर पनि ओलीले संसद्मा आपत्ति जनाए । बजेट बनाउँदा करकाे दायरामा यस्तो किसिमको सेटिङ इतिहासमै पहिलो पटक भएको उनकाे दावी छ । बजेट आउँदा सरकारले नीति तथा कार्यक्रमले उद्घोष गरेका सबै कुरा छरपष्ट देखिएको बताए ।
‘यो बजेट देशको बजेट हैन । यो त दुई चार जना घरानाहरुको बजेट हाे ।’ ओलीको भनाई थियो । उनले आर्थिक अराजकताको नमुना यो भन्दा अर्को कुनै हुनै नसक्ने जिकीर गरे । ‘यो भन्दा बढि राष्ट्रको अर्थतन्त्र ध्वस्त पार्ने तमासा अरु के हुन सक्छ ?’ ओलीले संसदमा प्रश्न गरे । सिसिटिभी फुटेज डिलिट गरेर सरकार झनै उदाङीएको ओलीकाे तर्क छ ।
अर्थ मन्त्रालयमा व्यापारी बोलाएर र उनीहरूकै इच्छाअनुसार करको दर परिवर्तन गरिएको भन्दै उनले व्यापारीका मान्छे राखेर बजेट बनाउनु आर्थिक अनुशासनहीनताको पराकाष्ठा भएको जनाए । यसबारे छानबिन गर्न अध्यक्ष ओलीले माग गरेका छन्
अर्थमन्त्री जनार्दन शर्माले एमाले को हो ? उसले भन्दैमा सिसिटिभी फुटेज दिनुपर्छ ? भनेर दिएको अभिव्यक्तिप्रति प्रतिवाद गर्दै ओलीले यसबारे मन्त्री मात्र होइन, सिंगो मन्त्रिपरिषद्सहित प्रधानमन्त्री जवाफदेही हुनुपर्ने जिकीर गरेका छन् ।
0 प्रतिकृया