Follow us:


Follow us

१२ असोज २०८३, सोमवार
१२ असोज २०८३, सोमवार


सप्तकोसीले धार बदल्दा चार हजार घर उच्च जोखिममा

एक्सन खबर
असार, १९, २०७९


सप्तकोसीले धार बदल्दा चार हजार घर उच्च जोखिममा

ईश्वर तामाङ
चतरा, १९ असार । शुक्रबारदेखिको अविरलको वर्षासँगै आएको बाढीपछि सप्तकोसी नदीले धार बदलेको छ । नदीको धार बदलिएसँगै चार हजार घर नदी कटान तथा डुबानको उच्च जोखिममा परेको छन् ।

सप्तकोसीको सम्भावित कटान र डुबान रोक्न सशस्त्र प्रहरी बलले बाँध निर्माणलाई तिव्रता दिएको छ । नदीको धार गाउँतिर सोझिँदा बेलका नगरपालिकाका चार वडाका एक दर्जनभन्दा बढी बस्ती उच्च जोखिममा परेका छन् । नदी गत वर्षदेखि पश्चिमपट्टि सोझिदा तीव्र कटान हुन थालेको हो । कटानका कारण बेलका नगरपालिकाको वडा नम्बर २, ३, ८, ९ उच्च जोखिममा परेका छन् । बेलका नगरपालिका–८ डुम्रिबोटमा नदीले कटान तीव्र पारेपछि सशस्त्र प्रहरीले बाँध निर्माणलाई जोड दिएको हो ।

कोसी सम्झौताअनुसार भारत सरकारले नदीको दुवैतर्फ स्थायी तटबन्ध नबनाएका कारण पछिल्लो केही वर्षयता बाढी र डुबानको समस्या अझ बढेको स्थानीयबासी बताउँँछन् ।

स्थानीयवासी भन्छन् ‘नदी पूरै गाउँतिर सोझिएको छ, ढुक्कले निदाउँन सक्ने अवस्था छैन । सप्तकोसी नदी बराह क्षेत्र नगरपालिकाको मध्यभागबाट बग्छ । बर्खामा नदीले वर्षेनी धेरै जनधनमा क्षति पुर्‍याउँदै आएको छ । बाढी आउँदा घर जग्गा डुबाउने र घट्दा किनारामा जमिन कटान तीव्र रुपमा गर्दा सप्तकोसी किनाराका हजारौंँ बासिन्दा घरबारविहीन बनिसकेका छन् ।

सप्तकोसीले धार परिर्वतन गर्दा गतवर्षदेखि नै उदयपुरको बेलका नगरपालिका– ८ को लाहुरे खोँचमा कटान गर्दा सोमबारे, डुम्रीबोटे, मसानघाट, धौरी टप्पु, चिलिया टप्पु, एबीसी, श्रीलंका टापु, रामनगर, बोची, भागलपुर, क्रान्ति टोल, बानडाँडा र कोशी टप्पु आरक्षका चार हजार घरपरिवार उच्च जोखिममा छन् । अहिले बेलका नगरपालिका– ८ को लाहुरे खाेँच र डुम्रिबोटेमा कटान तीव्र पारेको छ ।

तीन सय मिटर कटान

यसवर्ष पनि सप्तकोसीमा पानीको सतह बढेसँगै यस क्षेत्रका बासिन्दा जोखिममा परेका हुन् । कोसीले गतवर्ष ६ सय मिटर कटान गरेको थियो भने यस वर्षको बाढीले थप तीन सय मिटर कटान गरी सकेको छ । अब दुई सय मिटर कटान गरे सप्तकोसीले नयाँ मार्ग बनाउने र यहाँ बसोबास गर्ने चार हजार घरपरिवार बिस्थापित हुनुपर्ने अवस्था रहेको बराह क्षेत्र नगरपालिका–६ का निर्वतमान वडा सदस्य श्यामबहादुर लिम्बूले बताए ।

नदीको कटना रोक्न तत्काल प्रयत्न नगरे बेलका नगरपालिकाका–२, ३, ८, ९ र  बराहक्षेत्र नगरपालिका–६ सहित सप्तरीको फत्तेपुर, कन्चनरुप, भारहद, राजविराज हुँदै कुनैली नाका भएर नदी बग्ने लिम्बूको भनाइ छ ।

चार विद्यालय नदी कटानपछि विस्थापित

सप्तकोसी कटानले बराह क्षेत्र नगरपालिका–६ चिलिया टप्पुस्थित बाल सेवा आधारभूत विद्यालय, जनता आधारभूत विद्यालय, कौशिका आधारभूत विद्यालय बेलका नगरपालिका–३ तर्फ सरस्वती आधारभूत विद्यालयसहित २ वटा स्वास्थ्य संस्था विस्थापित भई सकेको निर्वतमान वडा सदस्य लिम्बूले बताए । त्यहाँ रहेको एकता, सिर्जना, एबीसी, गिनेरी, रामनगर, बुधबारे, चिलिया टप्पु विस्थापित हुने अवस्थामा रहेको उनले बताए ।

कटान गरेको क्षेत्रमा प्रमुख जिल्ला अधिकारी विरेन्द्रकुमार यादव, सुरक्षा निकायका प्रमुखहरूलाई स्थलगत अवलोकन गराएको बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बताए । अनुगमनपछि कटान रोक्न निगरानी गरी तत्काल अस्थायी मर्मत गर्न प्रदेश सरकार, प्रदेश योजना आयोग, नेपाल सरकार र भारत सरकारलाई आग्रह गरेको नगर प्रमुख कार्कीले जानकारी दिए ।

सुनसरीको भाण्टाबारी कोसी ब्यारेजदेखि उत्तर बराह क्षेत्रसम्मका बाँध मर्मत सम्भार गर्ने र कटान नियन्त्रण गर्ने दायित्व भारत सरकारको हो । कोसी ब्यारेज निर्माण सम्झौताअनुसार भारत सरकारले वर्षेनी कटान रोक्ने प्रयास गरे पनि पूर्णरुपमा सफल हुन नसक्दा नेपाली भू–भाग कटान र डुबानमा पर्दै आएका छन् ।

कोसी तथा बक्राहा नदी नियन्त्रण आयोजना विराटनगरका अनुसार कोशी सम्झौताअनुसार चतरादेखि ब्यारेजसम्म सप्तकोसीको दुवै किनारामा भारत सरकारले तटबन्ध निर्माण गर्नुपर्नेछ । कटानका बेला अस्थायी रुपमा भारत सरकारले मर्मत गर्दै आए पनि सम्झौताअनुसार भारत सरकारले तटबन्ध निर्माण नगरेको स्थानीयको गुनासो छ ।














0 प्रतिकृया