वीपी प्रतिष्ठानमा ३० बेड आई.सि.यू. थप गरिँदै
एक्सन खबर
धरान, ८ असार । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले ३० बेडमा आइसियू जडान गर्ने भएको छ । प्रतिष्ठानले एक विज्ञप्ति जारी गर्दै विरामीहरुको चापलाई मध्य नजर गर्दै केही समयभित्रै ३० बेड आई.सि.यू. सञ्चालन गर्ने भएको हो ।
प्रतिष्ठानमा प्रदेश १, मधेश प्रदेश तथा छिमेकी मुलुक भारतबाट समेत उपचारार्थ दैनिक करिब चार हजारको संख्यामा बिरामीहरु आउने गरेको जनाउँदै प्रतिष्ठानले अति सिकिस्त बिरामीहरुलाई आवश्यक पर्ने आई.सि.यू.बेडको अभाव हटाउन थप ३० बेड थप गर्न लागेको जनाएको छ ।
प्रतिष्ठानमा भएको कुल बेड संख्याको अनुपातमा आई.सि.यू.बेडहरुको संख्यामा वृद्धिका लागि प्रतिष्ठानले पहल गर्दै आएको बताउँदै लामो समयदेखि विरामी तथा विरामीको आफन्तले गुनासो पोख्दै आएकाले सरकारलाई अनुरोध गरेर आई.सि.यू. थप गर्ने कार्य अगाडी बढेको प्रतिष्ठानका सह–प्रवक्ता डा. चुरामणि पोख्रेलले जनाएका छन् ।
‘सिकिस्त बिरामीहरुको बढ्दो चापलाई प्रतिष्ठानमा रहेको आई.सि.यू. बेडहरुले मात्र धान्न नसकेर अन्यत्र रेफर गर्नुपर्ने बाध्यात्मक परिस्थिति रहँदै आएको छ । प्रतिष्ठानमा भएको कूल बेड संख्याको अनुपात बमोजिम आई.सि.यू बेडहरुको संख्यामा बृद्धिका लागि प्रतिष्ठानले पटक पटक पहल गर्दै आएको र विगत लामो समयदेखि सेवाग्राही र सरोकारवाला सम्पूर्णको गुनासो रहनुका साथै आई. सि.यू. बेडको संख्या बृद्धि गर्नुपर्ने माग रहनुका साथै आवश्यक्ता समेत रहँदै आएको छ ।’ प्रतिष्ठानले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
तर, उक्त आई.सि.यू. वार्डहरुलाई आवश्यक पर्ने सामग्रीहरुको खरिद प्रकृयाको विषयमा आइरहेका समाचारहरुबाट भ्रम पर्न गएको प्रतिष्ठानको भनाई छ । आई.सि.यू. बेडहरुको खरिद प्रकृया कानुन सम्मत नभएको भन्ने विषयहरु आइरहेको सन्दर्भमा सम्मानीत सर्वोच्च अदालतको निर्णय तथा आदेश बमोजिम नै कार्य भइरहेको प्रतिष्ठानको जिकीर छ ।
0 प्रतिकृया