‘मेडिक्विज नेपाल’मा वीपी प्रतिष्ठानको टीमलाई प्रथम र दोश्रो स्थान
एक्सन खबर
धरान । तेश्रो अन्तर मेडिकल कलेज हाजिरी जवाफ प्रतियोगिता (मेडिक्विज नेपाल) मा आयोजक वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको टीमले प्रथम र दोश्रो स्थान हासिल गरेका छन् ।
प्रतिष्ठानमा आषाढ ३ र ४ गते सम्पन्न राष्ट्रिय स्तरको अन्तर मेडिकल कलेज हाजिरी जवाफ प्रतियोगितामा प्रतिष्ठानको टीम ‘बी’ बाट दिवाकर कोइराला, वेद प्रकाश पन्त र सुमित धमलाले प्रथम स्थान हासिल गरेका थिए भने दोस्रो स्थान प्रतिष्ठानकै टिम ‘ए’ बाट हार्दिक भण्डारी, सिन्जिन घिमीरे र अतुल कुमार चौहानले प्राप्त गरेका थिए ।
वीपीकेआइएच विद्यार्थी रक्तदान कमिटीले प्रतिष्ठानको सहयोगमा आयोजना गरेको प्रतियोगितामा पोखराको मनिपाल मेडिकल कलेजका डा. विजय दुवाडी, मनिष कोइराला र संजिव वास्तोलाको टीमले तेस्रो स्थान हासिल गरेका थिए ।
तेस्रो संस्करणमा पोखराको मनिपाल कलेज अफ मेडिकल साइन्सेस, विराटनगरको नोबेल मेडिकल कलेज, विराट मेडिकल कलेज, ललितपुरको पाटन एकेडमी अफ हेल्थ साइन्स,काठमाडौंको नेपाल आर्मी इन्स्टिच्युट अफ हेल्थ साइन्सेस, र धरानको वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान गरी ६ वटा मेडिकल कलेजका ९ वटा टिमको सहभागिता रहेको थियो ।
उक्त प्रतियोगिताको निर्णायक मण्डलमा प्रा.डा. बालकृष्ण भट्टराई, प्रा.डा. धनरत्न शाक्य तथा डा. रबिन मास्के रहेका थिए ।
सन् २०१८ मा मेडिक्विज नेपालको पहिलो संस्करण र सन् २०१९ मा दोस्रो संस्करण पनि प्रतिष्ठानमै भएको थियो । कोभिड १९ को महामारीका कारण सन् २०२० र २०२१ मा भने उक्त कार्यक्रमको आयोजना हुन नसकेको प्रतिष्ठानका सह–प्रवक्ता डा. चुरामणी पोखरेलले जनाएका छन् ।
0 प्रतिकृया