वी.पी. प्रतिष्ठानमा ७ दिने योग शिविर हुँदै, पूर्णरुपमा सञ्चालनमा आयो ब्लड बैंक
एक्सन खबर
धरान, ६ असार । अन्तर्राष्ट्रिय योग दिवस (२१ जुन) का अवसरमा धरान स्थित कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ७ दिने योग शिविर सञ्चालन हुने भएको छ । ‘तनाव व्यवस्थापनका लागि योग’ भन्ने नाराका साथ उक्त शिविर हुन लागेको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानको योगा एण्ड लाइफस्टाइल क्लिनिक, बेसिक एण्ड क्लिनिकल फिजियोलोजी विभागले प्रतिष्ठानका शिक्षक, चिकित्सक, कर्मचारी, विद्यार्थी र तिनका परिवारका लागि योग शिविर आयोजना गर्न लागेको उक्त विभागका विभागिय प्रमुख प्रा.डा.दिलीप ठाकुरले बताए ।
शिविरको उद्घाटन प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीबाट भोली बिहान ५ः३० बजे प्रतिष्ठानको अतिथी गृह प्राङ्गणमा हुनेछ । उक्त शिविर आषाढ १३ गते सम्म प्रत्येक दिन बिहान ६ बजेदेखि ७ बजेसम्म सोहि स्थानमा हुनेछ । उक्त शिविरमा विभाग अन्तर्गतको योगा एण्ड लाइफस्टाइल क्लिनिकका योग प्रशिक्षक नविन काप्mलेबाट प्रशिक्षण दिइनेछ ।
ब्लड बैंक पूर्ण रुपमा सञ्चालनमा
प्रतिष्ठानको प्याथोलोजी विभाग अन्तर्गत सञ्चालित ब्लड बैंक आषाढ २ गतेदेखि पूर्ण रुपमा सञ्चालन आएको छ । यस बैंकबाट बिरामीवर्गलाई पिसिभी, पिआरभी, एफएफपी जस्ता सेवाहरु प्रदान गरिने प्रतिष्ठानले जनाएको छ ।
रक्त अल्पता भएका र डायलाईसिस गर्नुपर्ने विरामीहरुका लागि पिसिभी सेवा दिइन्छ भने डेंगु र अन्य विभिन्न कारणले प्लेटलेट कम भएका विरामीहरुका लागि प्लेटलेट रिच प्लाज्मा (पिआरपी) सेवा उपलब्ध गराइन्छ ।
यसका साथै, कलेजोका विरामी र अन्य कारण कोगुलेसन कारक कमी भएकाहरु तथा ओपन हर्ट सर्जरी, आगोले जलेका केसमा आवश्यक पर्ने फ्रेस फोजन प्लाज्मा (एफएफपी) सेवा समेत उपलब्ध भएको प्रतिष्ठानको सूचना शाखाले जनाएको छ ।
0 प्रतिकृया