Follow us:


Follow us

६ वैशाख २०८३, आइतवार
६ वैशाख २०८३, आइतवार


नेकमा दक्षिण एसियाको निर्माण क्षेत्रका विषयहरूमा संयुक्त अन्तर्राष्ट्रिय गोष्ठी

एक्सन खबर
असार, ४, २०७९


नेकमा दक्षिण एसियाको निर्माण क्षेत्रका विषयहरूमा संयुक्त अन्तर्राष्ट्रिय गोष्ठी

भक्तपुर, ४ असार । नेपाल इन्जिनियरिङ कलेज (नेक)मा शनिबार दक्षिण एसियाको निर्माण क्षेत्रको समसामयिक प्राविधिक विषयहरूमा नेक र भारतको आईआईटी बम्बईको आयोजनामा संयुक्त अन्तर्राष्ट्रिय गोष्ठी सम्पन्न भएको छ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरमा २०६० सालमा गैरनाफामूलक संस्थाको रूपमा दर्ता भई सोही जिल्लाको चाँगुनारायण नगरपालिकामा सञ्चालित देशकै प्रतिष्ठित शैक्षिक संस्थाका रूपमा परिचित नेकमा दक्षिण एसियाको निर्माण क्षेत्रको समसामयिक प्राविधिक विषयहरूमा संयुक्त अन्तर्राष्ट्रिय गोष्ठी भएको हाे

उक्त अन्तर्राष्ट्रिय गोष्ठीमा दुईवटा मूल विषयहरू ‘निर्माण क्षेत्रमा सुरक्षा र मजदुर थकान व्यवस्थापन’ तथा ‘सामग्री आपूर्ति साङ्लो व्यवस्थापन’मा केन्द्रित रहेर नेक तथा आईआईटी बम्बईका स्नातकोत्तर कार्यक्रममा विद्यार्थीले स्थलगत अनुसन्धानको क्रममा आफूहरूले देखेको भोगेको तथ्याङ्कहरू विश्लेषण गरी शोधको परिणाम प्रस्तुत गरेका थिए।

आईआईटी बम्बईका शोधकर्ताहरू किशोर भगत र अभिषेक राज सिंहले शोध भ्रमणको नेतृत्व गरेका थिए। शोध भ्रमणको क्रममा दुवै शैक्षिक संस्थाका विद्यार्थीहरूले दुई हप्ता सम्म नेपालका छ वटा ठूला निर्माण स्थलहरू भ्रमण गरी प्राविधिक तथा मजदुरहरूसँग अन्तरकृया पनि गरेका थिए।

निर्माण स्थलहरूमा अपनाउनु पर्ने सुरक्षाका न्यूनतम उपायहरू, थकित मजदुरहरूको उचित व्यवस्थापन, निर्माण सामग्री आपूर्तिकर्ता चयनमा अपनाउनु पर्ने वैज्ञानिक विधि जस्ता विषयहरूमा प्रस्तुतकर्ताहरू र सहभागीहरू बीच प्राविधिक तथा कानूनी पक्षमा छलफल भएको थियो ।

नेपाल, भारत र भुटानका विद्यार्थीहरूले दुई हप्ता सँगै काम गर्दा आफूहरूले भोगेका गैरप्राविधिक विषयहरूमा आपसी अनुभवहरू र पाएको शिक्षा पनि आदानप्रदान गरेका थिए। समुहमा मिलेर काम गर्ने सीप, भिन्न भाषा तथा संस्कृतिको कारण आउन सक्ने असमझदारी तथा वाधा जस्ता समस्याहरू कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा पनि गोष्ठीमा छलफल भएको थियो ।

अन्तर्राष्ट्रिय गोष्ठीको उपजको रूपमा आएका सिफारिसहरू कार्यान्वयनमा लान सकिए दक्षिण एसियाकै निर्माण व्यवस्थापनमा सुधार आउन सक्ने प्राचार्य प्रा.डा. हरिकृष्ण श्रेष्ठले धारणा राखेका थिए ।

गोष्ठीमा नेक, भारतको आईआईटी बम्बई र भुटानको विश्वविद्यालयका शोधकर्ता, शिक्षक र स्नातकोत्तर स्तरका विद्यार्थीहरू सहभागी भएका थिए । गोष्ठीमा पोखरा विश्वविद्यालयको प्रतिनिधिको रूपमा नेकको सञ्चालक समितिका सदस्य समेत रहेका उपप्राध्यापक इन्जिनियर अर्जुन गौतम, आईआईटी बम्बईका प्राध्यापक वेङ्कट सन्तोष कुमार, रोयल युनिभर्सिटी अफ् भुटानका प्राध्यापक हेमलाल भट्टराई र नेकका प्राचार्य प्रा. डा. हरिकृष्ण श्रेष्ठले गोष्ठीको महत्व बारेमा प्रकाश पारेका थिए ।

नेकका सहायक प्राचार्य सहप्राध्यापक दुर्गा प्रसाद भण्डारीले गोष्ठी आयोजनामा प्रमुख भूमिका निर्वाह गरेकाे थिए भने, शोध भ्रमणको संयोजन आईआईटी बम्बईका पूर्व विद्यार्थी सलिल राज अर्यालले गरेका थिए । उक्त गोष्ठी सञ्चालनकोलागि युरोपको इरास्मस प्लस कार्यक्रम अन्तर्गत समस्यामा आधारित सिकाई (पिबिएल साउठ एसिया) आयोजनाबाट वित्तीय सहयोग प्राप्त भएको कलेजले जनाएकाे छ ।

 
















0 प्रतिकृया