Follow us:


Follow us

५ वैशाख २०८३, शनिवार
५ वैशाख २०८३, शनिवार


अर्बिट इन्टरनेशनलकाे एउटै सेयर २ जनालाई बेचेर साढे तीन करोड ठगी गर्ने पक्राउ

एक्सन खबर
असार, ४, २०७९


अर्बिट इन्टरनेशनलकाे एउटै सेयर २ जनालाई बेचेर साढे तीन करोड ठगी गर्ने पक्राउ

काठमाडौं, ४ असार । एउटै शैक्षिक कन्सल्टेन्सीको सेयर दुई जनालाई बेचेर साढे तीन करोड रुपैयाँ ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । ठगी गर्ने भक्तपुरको चाँगुनारायण नगरपालिका–८ का ७२ वर्षिय केशवप्रसाद अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनले काठमाडौंको एक शैक्षिक कन्सल्टेन्सीका सेयरधनीलाई ३ करोड ५० लाख रुपैयाँ ठगेको उजुरीको आधारमा प्रहरीले पक्राउ गरेको बताएको छ ।

पूर्वसञ्चालक अधिकारीले काठमाडौं महानगरपालिका–३२ स्थित अर्बिट इन्टरनेसनलका सेयरधनी नुवाकोटका श्रीबहादुर तामाङलाई थाहै नदिई साढे तीन करोड ठगी गरेका हुन् । आफू ठगिएको भन्दै व्यवसायी तामाङको उजुरीपछि अधिकारीलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर टेकुले  बताएको छ ।

व्यवसायी तामाङबाट साढे तीन करोड लिएर अधिकारीले सोही शैक्षिक कन्सल्टेन्सीको सेयर शैक्षिक परामर्श संघ (इक्यान)का अध्यक्ष प्रकाश पाण्डेलाई समेत बेचेको खुलेको प्रहरीले बताएको छ । सेयर स्वामित्व हस्तान्तरण गर्ने भनी रकम लिएर तामाङलाई मन्जुरीनामा दिइसकेकाे अवस्थामा पटक–पटक ताकेता गर्दा पनि सेयर स्वामित्व हस्तान्तरण नगरी पाण्डेलाई बेचेको पाइएको हो ।

सो कम्पनीको सेयर किनेका पाण्डे भने कन्सल्टेन्सीको उक्त सेयर यसअघि बिक्री भइसकेको बारे आफूलाई जानकारी नभएको दाबी गर्छन् । हाल अधिकारी प्रहरी नियन्त्रणमा छन् । उनलाई प्रहरी परिसर टेकुमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यद्यपि उनी बिरामी परेको भन्दै वीर अस्पतालमा उपचार गराइरहेका छन् ।

उनलाई बिहीबार थप अनुसन्धानका लागि काठमाडौं जिल्ला प्रशासनबाट दुई दिन म्याद समेत थपिएको छ । यसअघि पटक–पटक विभिन्न मुद्दामा पक्राउ परेर पनि छुट्दै आएका अधिकारी यस पटक पनि आफूलाई ठगेर उम्किन्छन् कि भन्ने आशंका रहेको व्यवसायी तामाङ बताउँछन् ।

अधिकारीलाई सरकारी जग्गासमेत बैना गरी ५ करोड २० लाख रुपैयाँ ठगी गरेको भन्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गत जेठ १३ गते अधिकारीको तस्बिरसहित घटना विवरण सार्वजनिक गरेको थियो ।

उक्त दुई घटना सार्वजनिक भएसँगै हाल उनीबारे अन्य घटना समेत सार्वजनिक हुने क्रम बढेको छ । यसअघि उनी संलग्न रहेको अर्बिट एसोसिएटले समेत ललितपुर फाइनान्सको ३५ करोड रुपैयाँ ठगी गरेको आरोप छ ।

हाल अर्बिटकाे अध्यक्षमा प्रकाश पाण्डे रहेका छन् । शेषराज भट्टराई र थिरलाल भट्ट रहेका छन् ।













0 प्रतिकृया