नेक आइसोलेसन: जहाँ निःशुल्क खानादेखि वाइफाई र अक्सिजनकाे सुविधा छ
एक्सन खबर
भक्तपुर । चाँगुनारायण नगरपालिका र नेपाल इन्जिनियरिङ कलेजले कोभिड–१९ पोजेटिभहरुलाई बस्न सुविधा सम्पन्न आइसोलेसन सेन्टर बनाएको करिब एक महिना भइसक्यो । यो दौरानमा ९ जना कोभिड–१९ पोजेटिभ निको भएर घर गइसके । हिजो पुनः दुई जना कोभिड–१९ पोजेटिभ आएका छन् ।
आइसोलेसनको वातावरण र व्यवस्थापनले पनि कोभिडका विरामीलाई निको हुन सहयोग पुग्दछ भन्ने पुष्टि भएको छ । नेकको आइसोसेनमा बसेका ९५ प्रतिशत विरामी निको भएर गएका छन् ।
फराकिलो, शान्त तथा हरियाली वातावरण युक्त नेकको आइसोलेसनमा कोभिडका विरामीका लागि चाहिने सबै प्रकारका सुविधा छन् । खाना खाजादेखि कोभिडका विरामीले प्रयोग गर्ने व्यक्तिगत सरसफाइका सबै साधनहरु निःशुल्क उपलब्ध हुन्छ भने, आवश्यक पर्दा तत्कालै स्वास्थ्यकर्मीको उपलब्धताले नेकको आइसोलेसन कोभिडका विरामीलाई उत्तम स्थल छ ।
सामाजिक उत्तरदायीत्व अन्तरगत नेकले आफ्नो सभा हललाई आइसोलेसनमा परिणत गरेको हो । कूल १ सय वेड क्षमता रहेको आइसोलेसन सेन्टरमा अहिले महिला पुरुषलाई छुट्टाछुट्टै वेडहरु तयार गरीएका छन् । त्यहाँ महिलाका लागि सात र पुरुषका लागि ४३ वेड गरी ५० बेड तयारी अवस्थामा छ । बाँकी ५० वेड विरामीको चाप हेरेर आवश्यक्ताका आधारमा विस्तार गर्न सकिन्छ ।
अहिले नेकको आइसोलेसनमा खाना र खाजाको व्यवस्थापन नेपाल चेम्बर अफ कमर्स, भक्तपुर चेम्बर तथा नेपाल लायन्स भक्तपुर सेवा समितिले जिम्मेवारी लिएको आइसोलेसन व्यवस्थापक नेकका बरिष्ठ कर्मचारी मनोहर खनालले बताए । ‘हामीले विहानको ब्रेक फास्ट, खाना, दिउसोको खाना र बेलुकीको खाना मेन्यु बनाएर तयार गरेका छौं । आइसोलेटेड हुँदा खानपानमा उचित ध्यान दिनुपर्छ भन्ने मान्यता छ ।’ खनालले भने ।
नेकको आइसोलेसनमा विहानको ब्रेक फास्टमा अण्डा, चना र चीया छ भने, खानामा हरेक दिन चिकन खाना दिइरहेको छ । दिउसो खाजामा पनि चाउचाउ सुपहरु उपलब्ध हुन्छ बेलुकी चाहिँ साकाहारी खानाको व्यवस्थापन गरिएको छ । ‘कोभिडका विरामीलाई चाहिने पौष्टिक तत्वहरु पुर्ति होस भनेर सेडयुल बनाएरै खाना खाजाको व्यवस्था गरेका छौं ।’ खनालले भने । खानेपानीमा पनि नेकले विशेष व्यवस्था गरेको छ । प्रत्येक विरामीलाई मिनरल वाटर दिइएको छ ।
कोभिडका विरामीको व्यक्तिगत सरसफाईमा ख्याल गरिएको छ । प्रत्येक विरामीलाई टावल, साबुन, सेम्पो, दन्तमञ्जन, बाल्टीन, मग, चप्पल, हेण्डवास उपलब्ध गराइएको छ । शरीरको तापक्रम र अक्सिजनको लेवल नाप्न व्यक्तिगत रुपमै थर्मोमिटर र अक्सिोमिटर दिइएको छ । ट्वाइलेट वाथरुम प्रयोग गरेपछि आफैं सफा गर्नुपर्छ त्यसका लागि व्यक्तिगत रुपमै ट्वाइलेट ब्रस, हर्पिक तथा फिनेल, कुचो समेत दिइन्छ । ‘कोभिडका विरामीले प्रयोग गर्ने कुनैपनि सामान साझा हुनुहुँदैन भन्नेमा हामी सतर्क छौं । उहाँहरुलाई त्यसै अनुसार के गर्ने नगर्ने कसरी बस्ने सिकाइएको हुन्छ ।’ खनाल भन्छन् ।
यतिमात्र हैन, नेकले आइसोलेसनमा रहेका विरामीलाई समय व्यतित गर्न सजिलो होस भनेर निःशुल्क वाईफाइको पनि सुविधा दिएको छ । दुई सातासम्म वा कोभिड नेगेटिभ रिपोर्ट नआइन्जेल घरपरिवार र समुदायबाट टाढा भएर एकान्तमा बस्दा पट्यार नलागोस भनेर निःशुल्क वाईफाई व्यवस्था गरिएको हो ।
कोभिड–१९ पोजेटिभ हुने वित्तिकै एकान्तवास अनिवार्य हो । सामान्य लक्षण देखिएका तथा नदेखिएकाहरु दुई हप्ता वा कोभिड–१९ नेगेटिभ नदेखिउन्जेल एकान्तबास (आइसोलेसन) मा बसे अरुलाई सर्ने खतरा हुँदैन । तर, राजधानी जस्तो अत्याधिक जनघनत्व भएको शहरमा आफ्नै घरमा एकान्तबास बस्न धेरै सकस छ ।
आज मात्रै नेकमा कोभिडको माहामारीमा फ्रन्ट लाइनमा काम गर्ने स्वास्थ्यकर्मीहरुलाई पनि राख्ने होकी भनेर गृहकार्य भइरहेको छ । चाँगुनारायण नगरपालिकाले नगरका स्वास्थ्यकर्मीहरु जसलाई कोरोना संक्रमितको उपचारमा सक्रिय भएपछि घर जान असहजता छ उनीहरुलाई सुरक्षित साथ नेकमा राख्न सकिने विषयमा पनि कुरा भइरहेको व्यवस्थापक खनालले बताए । ‘मेयर ज्यूसँग कुरा भइरहेको छ । फ्रन्ट लाइनमा रहेर विरामीको उपचारमा खटिनु भएका स्वास्थ्यकर्मीहरुको सुविधाका लागि नेकमा ल्याएर राख्ने होकि भन्ने कुरा भइरहेको छ । एक दुई दिनमा फाइनल होला ।’ स्वास्थ्यकर्मी नै नेकमा आएर बसे त्यहाँ रहेका संक्रमितको स्वास्थ्य हेरचाहमा थप सुविधा पुग्ने अपेक्षा छ ।
नेकको आइसोलेसनमा चाँगुनारायण नगरपालिकाले स्वास्थ्यकर्मी उपलब्ध गराएको छ । आइसोलेसनमा रहेका कुनैपनि विरामीलाई अफ्टेरो पर्दा तुरुन्तै नगर अस्पतालमा लैजाने व्यवस्था छ । आइसोलेसनमै दुई ठूला अक्सिजन सिलिण्डर समेत राखिएको छ । कोभिडका विरामीलाई कुनै समस्या परे पिपिई सहितका कर्मचारी जुनसुकै बेला सहयोगका लागि तयार रहेका हुन्छन् ।
कोभिड–१९ पोजेटिभ हुने वित्तिकै एकान्तवास अनिवार्य हो । सामान्य लक्षण देखिएका तथा नदेखिएकाहरु दुई हप्ता वा कोभिड–१९ नेगेटिभ नदेखिउन्जेल एकान्तबास (आइसोलेसन) मा बसे अरुलाई सर्ने खतरा हुँदैन । तर, राजधानी जस्तो अत्याधिक जनघनत्व भएको शहरमा आफ्नै घरमा एकान्तबास बस्न धेरै सकस छ । त्यसमाथि यहाँका ९० प्रतिशत घर तथा भवनहरु भाडामा लगाइएको छ । जहाँ ६० प्रतिशत मानिसहरु फ्ल्याट/कोठा भाडामा लिएर बसेका छन् । ‘यस्तोमा एउटै फ्ल्याट/कोठामा संयुक्त परिवारमा बस्ने मध्ये कुनै एक जनालाई कोभिड–१९ पोजेटिभ भयो भने त्यो परिवार र घरका सबैलाई संक्रमण सर्ने अत्याधिक संभावना हुन्छ । बरु तत्कालै त्यस्ता व्यक्तिहरुलाई आइसोलेसन सेन्टरमा राख्नसके जोखिम न्यूनिकरण गर्न सकिन्छ ।’ नेकका प्रिन्सिपल प्रा.डा. हरिकृष्ण श्रेष्ठ भन्छन् ।
नेकको आइसोलेसन कोभिड संक्रमितको उपचार र व्यवस्थापनका लागि उपयुक्त भएको श्रेष्ठको भनाई छ । घरमा परिवारसँग बस्दा सामाजिक दुरी कायम नहुन सक्छ । परिवारका अन्य सदस्यलाई पनि संक्रमण सर्ने अत्याधिक जोखिम हुन्छ । बरु, आइसोलेसनमा आए बढी हेरचाह र स्वास्थ्य स्याहार हुने गर्दछ । ‘सबैको घरमा एट्याच शौचालय, किचन हुँदैन । एकाधले सामाजिक दुरी कायम गर्न सक्लान् तर, जसको संयुक्त परिवार छ, जो भाडामा बसेको छ । शौचालय, धारा एउटै प्रयोग गरिन्छ भने उहाँहरु आइसोलेसनमा बस्दा राम्रो । यसले आफ्नो मात्र हैन परिवार र समाजकै स्वास्थ्य सुरक्षामा टेवा पुग्छ ।’ प्रिन्सिपल श्रेष्ठले भने ।
विश्व स्वास्थ्य संगठनले कोभिड–१९ बाट बच्ने एक मात्रै उपाय सामाजिक दुरी भनेको छ । यदी कोभिड संक्रमण भइहालेमा पनि शुरुवाती चरणमै एकान्तवास गरे, पर्याप्त मात्रामा स्वास्थ्य सुरक्षा र सावधानी अपनाए कोरोना भाइरसलाई समुदाय स्तरमा फैलन रोक्न सकिन्छ । त्यसका लागि एकान्तबास पनि सबै मापदण्ड अनुसारको हुनु अपरिहार्य छ । नेकको आइसोलेसनले ती सबै मापदण्ड पुरा गरेकोले कोभिड संक्रमितको एकान्तवासका लागि उपयुक्त छ ।
0 प्रतिकृया