नेकले अब पुल डिजाइनको पाठ्यक्रम तयार पारी अध्यापन गराउने
एक्सन खबर
काठमाडौं । गुणस्तरीय डिजाइन नहुँदा हरेक वर्ष नेपालमा वर्षायाममा पुलहरुमा क्षति पुग्ने तथा भत्कने गर्दछ । यसका अलावा अधिकांश नेपाली कम्पनीहरुसँग पुल डिजाइनका लागि चाहिने दक्ष जनशक्ति अभाव समेत रहेको छ ।
यस्तो परिप्रेक्ष्यमा इन्जिनियरिङ शिक्षा प्रदान गर्ने नेपालकै अग्रणी शैक्षिक संस्था नेपाल इन्जिनियरिङ कलेजमा अब पुलहरु डिजाइन गर्ने पाठ्यक्रमको समेत पढाई हुने भएको छ ।
नेकले स्नातक तहमा स्थानीय पुल इकाईसँगको सहकार्यमा पुलको डिजाइन सम्बन्धी पाठ्यक्रम समेत तयार गरी अध्यापन शुरु गर्न लागेको हो । कलेजका प्राचार्य प्रा.डा. हरिकृष्ण श्रेष्ठले स्थानीय तहमा निर्माण हुने पुललाई कसरी बलियो, टिकाउ र गुणस्तरीय बनाउन सकिन्छ भन्ने सन्दर्भमा जनशक्ति उत्पादन गर्ने बताए । ‘नेपालमा पुल निर्माणमा दक्ष तथा गुणस्तरीय जनशक्ति अभाव छ, अब नेकले त्यस सम्बन्धी पाठ्यक्रम नै तयार पारी स्नातक तहको कार्यक्रम सञ्चालन गर्नेछ ।’ प्रा.डा. श्रेष्ठले भने ।
कलेज र स्थानीय सडक पुल इकाई बीच पुलको डिजाइन सम्बन्धी पाठ्यक्रम विकास गर्न तथा अध्यापन गराउने सवालमा समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको छ ।
पुल इकाईले नेपालका स्थानीय सडकहरूमा पुल निर्माण गर्दा डिजाइन र सुपरभिजनमा प्राविधिक सहयोग गर्दै आएको छ ।
उक्त समझदारी पत्रमा कलेजको तर्फबाट कलेजका प्राचार्य प्रा.डा. हरिकृष्ण श्रेष्ठ तथा स्थानीय सडक पुल इकाईको तर्फबाट इकाईका टिम लिडर इन्जिनियर सकिल मानन्धरले हस्ताक्षर गरेका छन् ।
अब कलेज र इकाईले संयुक्त रुपमा नेपालका स्थानीय सडकहरूमा दिगो र टिकाउ पुल बनाउन के कस्ता प्राविधिक पक्षहरूलाई ध्यान दिने तथा कसरी चुस्त पुलहरू डिजाइन गर्ने भन्ने विषयको पाठ्यक्रम तयार गर्नेछन् । साथै, स्नातक तहका इन्जिनियरिङ विद्यार्थीहरूलाई अध्यापन समेत गराइने छ ।
सो विषयमा प्रोजेक्ट गर्न चाहेमा विद्यार्थीहरुलाई तथ्याङ्क तथा फिल्डमा जाने बस्ने खर्च समेत उपलब्ध गराउने सहमति भएको छ । ‘पुल निर्माण र डिजाइनमा अध्ययन गर्ने विद्यार्थीलाई फिल्ड वर्कमा जाँदा कलेजले नै आवश्यक खर्च व्यहोर्नेछ ।’ प्राचार्य डा. श्रेष्ठले भने ।
0 प्रतिकृया