नेकको आइसोलेसन सेन्टरबाट ४ जनाले कोरोनालाई जितेर घर फर्किए
एक्सन खबर
भक्तपुर । नेपाल इन्जिनियरिङ कलेज (नेक) को कोभिड–१९ आइसोलेसन सेन्टरबाट चार जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । उनीहरु १० दिन आइसोलेसनमा बसेर कोरोना नेगेटिभ भएर घर फर्किएका हुन् ।
आइसोलेसनको व्यवस्थापन हेर्दै आएका कलेजका बरिष्ठ कर्मचारी मनोहर खनालका अनुसार भक्तपुर खरीपाटीका एक दम्पत्ति र चाँगुनारायण नगरपालिका वडा नं. ५ का आमा छोरा कोभिडलाई पराजित गर्दै घर फर्किएका हुन् ।
उनीहरुलाई आज विहान आइसोलेसन सेन्टरका व्यवस्थापक खनाल लगायत स्थानीयले फुलगुच्छासहित विदाई गरेका छन् । सो क्रममा कोरोना मुक्त भउका दम्पत्तिले कलेजको आइसोलेसनको व्यवस्थापन र वातावरणले आफुहरुलाई ५० प्रतिशत कोरोना मुक्त भएको आभाष भएको बताए ।
‘आइसोलेसनमा आउनु अगाडी हामीलाई धेरै गाह्रो भएको थियो, कस्तो ठाउँ होला, कसरी बस्ने चिन्ता थियो । तर, यहाँ एकदमै राम्रो व्यवस्थापन गरेको पायौं । अक्सिजन समेत रहेकाले हामी अझ सुरक्षित भयौं ।’ दम्पत्ति पत्नीले बताइन् । कलेजको आइसोलेसन सेन्टरको वातावरण, व्यवस्थापन राम्रो भएकाले पनि आफु कोरोना संक्रमित हुँ भन्ने महशुष नभएको उनीहरुको प्रतिक्रिया छ ।
आइसोलेसन सेन्टरमा अब ३ जना कोरोना पोजेटिभ रहेको र उनीहरुले पनि चाँडै कोरोनालाई जित्ने खनालले बताए । सफा हरियाली युक्त, स्वच्छ वातावरणमा रहेको नेपाल इन्जिनियरिङ कलेजको कोभिड–१९ आइसोलेसन सेन्टर चाँगुनारायण नगरपालिकासँगको सहकार्यमा तयार पारीएको हो । कूल एक सय वेड क्षमताको आइसोलेसन सेन्टरमा संक्रमतिलाई खाना खाजा वाहेक अन्य सबै कुरा सेन्टरले उपलब्ध गराउँदछ ।
0 प्रतिकृया