Follow us:


Follow us

२३ जेठ २०८३, शनिवार
२३ जेठ २०८३, शनिवार


पढाईसँगै सफ्ट स्कील र आत्मनिर्भर शिक्षामा जोड दिँदै ‘नेपाल इन्जिनियरीङ कलेज’

एक्सन खबर


पढाईसँगै सफ्ट स्कील र आत्मनिर्भर शिक्षामा जोड दिँदै ‘नेपाल इन्जिनियरीङ कलेज’

काठमाडौं । नेपाल इन्जिनियरीङ कलेजको भाइस–प्रिन्सिपलमा एशोसिएट प्रोफेसर दुर्गाप्रसाद भण्डारी नियुक्त भएका छन् । साउन १४ गते बसेको कलेजको १४ औं बोर्ड बैठकले भण्डारीलाई कलेजको भाइस–प्रिन्सिपलमा नियुक्त गरेको हो ।

नवनियुक्त भाइस–प्रिन्सिपल भण्डारी २० वर्षदेखि कलेजमा आबद्ध छन् । कलेजको इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन विभागको पूर्व प्रमुखसमेत भइसकेका भण्डारीले कलेज पाठ्यक्रम अनुसार विद्यार्थीलाई सिपयुक्त र आत्मनिर्भर उन्मुख शिक्षा प्रदान गर्दै दक्ष जनशक्ति उत्पादनमा सक्रियता पूर्वक लाग्ने बताए ।

भाइस–प्रिन्सिपल भण्डारीले नेकमा इन्जिनियरीङ विधाका सबै विषयहरु अध्यापन हुने भएपनि नेपालको पढाई परीक्षामुखी भएको बताउँदै कलेजले आउँदा दिनहरुमा परीक्षामुखी भन्दापनि रोजगारमुखी, आत्मनिर्भरमुखी सिकाईमा जोड दिने बताए । ‘नेपालको पढाई सबै परीक्षामुखी मात्र भए । त्यो परिपाटीबाट नेक अछुतो नभएपनि अब हरेक डिपार्टमेन्टमा विद्यार्थीको पढाई सँगसँगै सिपमुलक, रोजगारी दिने आत्मनिर्भर हुने प्रकारको शिक्षा दिनुपर्छ भनेर आउँदा दिनहरुमा आत्मनिर्भर शिक्षामा जोड दिने मेरो योजना छ ।’

नेकबाट उत्पादन भएका जनशक्तिहरु भोलीका दिनमा जागिर खाने मात्र हैन कि जागिर दिनेपनि हुन सक्नुपर्ने उनको भनाई छ । त्यसका लागि कलेज तहबाटै स–साना स्टार्टअप इनोभेसन गर्ने, इण्डष्ट्रीयल गोष्टी, इन्टरनेशनल गेस्ट लेक्चरलहरु ल्याउने तथा अतिरिक्त कृयाकलापलाई समेत स्टार्टअप इनोभेसनमा जोड्ने लक्ष्य रहेको छ ।

‘विद्यार्थीले स्टार्टअप इनोभेसनलाई व्यवसायीक रुपमा रुपान्तरण गर्न सकुन् भनेर अब हरेक डिपार्टमेन्टहरुले सेमेस्टरमा अतिरिक्त कोर्षमा विद्यार्थीलाई आत्मनिर्भरता तर्फ उन्मुख गराउने गोष्टीहरु गर्ने, स्टार्टअप इनोभेसन गराउने, इण्डष्ट्रीहरुबाट गेस्ट लेक्चरहरु ल्याउने काम गर्नुपर्दछ । त्यसका लागि नेकले पाठ्यक्रम अनुरुप प्रयोगात्मक शिक्षण विधिलाई बढीभन्दा बढी आत्मसाथ गर्छ ।’ भाइस–प्रिन्सिपल भण्डारीले भने ।

उनको भनाईमा इण्डष्ट्री र सोसाइटीमा देखा परेका समस्या र मागहरु विद्यार्थीलाई फेस गराउनु पर्छ । इन्जिनियरीङको मुख्य उद्देश्य भनेकै समस्याको समाधान निकाल्ने हो । सोसाइटीको समस्या समाधानमा विद्यार्थीलाई जोडे इनोभेसन गर्न सक्छन् । ‘अहिलेका विद्यार्थीहरु बढि नै घोकन्ते भए । विद्यार्थीहरु क्लासमा आए, पढे, परीक्षा दिए, चारवर्ष पछि पास भए । यो वाहेक अन्य आइडिया उनीहरुसँग भएन । विद्यार्थीहरुले एउटा सामान्य प्रकारको निवेदन र प्रपोजल समेत लेख्न सकिरहेको पाउँदैनौं । यो प्रकारको परम्परागत शिक्षण विधिबाट नेकलाई माथि लैजानु छ ।’ भण्डारीको भनाई छ ।

विद्यार्थीको कोर स्कील सँगै सफ्ट स्कील समेत बढाउन जरुरी छ । पाठ्यक्रम अनुसार सफ्ट स्कीलमा फोकस गरे पढाई प्रति विद्यार्थीको आकर्षण पनि बढ्छ । ‘अबको शिक्षाले विद्यार्थीलाई आत्मनिर्भर, सफ्ट स्किल र टेक्निकल स्किलसहितको हुनुपर्छ । विगतको जस्तो परम्परागत रुपमा इन्जिनियरिङको शिक्षा अगाडी बढाउने हो भने अब इन्जिनियरिङ आत्मनिर्भर शिक्षा बन्न सक्दैन ।’ उनी भन्छन् ।

त्यसो त इन्जिनियरीङमा मात्र हैन हरेक शिक्षाले विद्यार्थीलाई आत्मनिर्भरता तर्फ उन्मुख बनाउनु जरुरी छ । नयाँ नेपाल निर्माणको अभियानमा दक्ष तथा स्कील युक्त जनशक्तिको भूमिका महत्वपूर्ण भएपनि हाम्रो परम्परागत शिक्षा प्रणाली जसलाई हामी ‘घोकन्ते शिक्षा’ पनि भन्दछौं त्यसलाई परिमार्जन गर्नु आजको अनिवार्य आवश्यक्ता हो ।

अर्को कुरा नेपालमा इन्जिनियर भन्दा ‘सिभिल इन्जिनियर’ मात्रै भन्ने बुझिन्छ । तर, इन्जिनियरीङका धेरै विषयहरु छन् । ती विषयलाई आम विद्यार्थी र अभिभावक माझ पुर्याउन पनि जरुरी छ । हाम्रो देशमा अवसर भएपनि इन्जिनियरीङ शिक्षा विस्तारै अगाडी बढेकाले चुनौति छ । ती चुनौतिहरु फेस गर्न र इन्जिनियरीङ शिक्षालाई बलियो र उत्पादीत इन्जिनियरलाई आत्मनिर्भर बनाउनु अपरिहार्य छ । नेक आउँदा दिनहरुमा पाठ्यक्रम अनुरुप विद्यार्थीलाई सव स्कील दिने सवालमा गम्भिर छ ।

अतिरिक्त कृयाकलाप भन्ने वित्तिकै हामीहरु फुटवल, भलिवल जस्ता खेलहरुलाई मात्रै मान्दछौं तर, अतिरिक्त क्रियाकलापलाई पनि इनोभेसन र सफ्ट स्कीलमा जोड्ने हो भने विद्यार्थीलाई भोलीका दिनमा आत्मनिर्भर हुन ठूलो टेवा दिनेछ । ‘विद्यार्थीले पढेर जागिर खानु मात्रै ठूलो कुरा हैन, अरुलाई जागिर दिन सक्नु ठूलो कुरा हो । मेरो तीन वर्षे कार्यकालमा मुख्य रुपमा मैले नेकमा अध्ययन गर्ने विद्यार्थीलाई आत्मनिर्भरता तर्फ उन्मुख गराउने, सफ्ट स्कील युक्त बनाउन भूमिका निर्वाह गर्नेछु ।’ भण्डारी भन्छन् ।

नेपालको इन्जिनियरीङ शिक्षामा नेपाल इन्जिनियरीङ कलेजको ठूलो योगदान छ । अढाई दशक यता नेकले हज्जाराैं दक्ष इन्जिनियरहरु उत्पादन गरीसकेको छ । नेकबाट उच्च शिक्षा हासिल गरेको सयौं जनशक्ति अहिले स्वदेश र विदेशमा छन् । नेकमा अध्ययन गरेर नै विश्वका उत्कृष्ट विश्वविद्यालयहरुमा छात्रवृत्ति पाएर अध्ययन गर्ने विद्यार्थीहरुको संख्या दर्जनौं रहेको छ । सामाजिक शैक्षिक संस्थाका रुपमा २०५१ सालमा स्थापना भएको नेपाल इन्जिनियरिङ कलेजमा इन्जिनियरीङ विधामा स्नातक, स्नातकोत्तर तथा मास्टर्स तहका विभिन्न विषयमा अध्ययनअध्यापन हुने गर्दछ ।













0 प्रतिकृया