Follow us:


Follow us

२३ जेठ २०८३, शनिवार
२३ जेठ २०८३, शनिवार


नेकका प्राध्यापकलाई ‘प्रोफेसनल इन्जिनियरिङ अवार्ड’

एक्सन खबर


नेकका प्राध्यापकलाई ‘प्रोफेसनल इन्जिनियरिङ अवार्ड’

काठमाडौं । नेपाल इन्जिनियरिङ काउन्सिलले प्रोफेसनल इन्जिनियरिङ अवार्ड वितरण गरेकोमा नेपाल इन्जिनियरिङ कलेज (नेक) का चार प्राध्यापक डाक्टरले उक्त अवार्ड ग्रहण गरेका छन् ।

साउन २६ गते शनिबार काउन्सिलको कार्यालयमा आयोजित अवार्ड समारोहमा कलेजका प्राचार्य प्रा.डा. हरिकृष्ण श्रेष्ठसँगै इ.डा. तुसिता चाँदनी, डा. खेमराज शर्मा तथा डा. पदम बहादुर शाही उक्त अवार्डबाट सम्मानीत भएका हुन् ।

अमेरिकाबाट स्नातक तथा स्नातकोत्तर गर्दै जापानबाट पिएचडी गरेका डा. श्रेष्ठ २६ वर्षदेखि नेकमा कार्यरत छन् । डा. चाँदनी पनि एक दशकयता नेकमा कार्यरत छिन् । भने, डा. शाही नेककाे पुल्चाेक स्थित स्नातकाेत्तर कलेजकाे डाइरेक्टर भइसकेका व्यक्ति हुन् । यता डा. शर्मा पनि कलेजमै कार्यरत रहेका छन् ।

यूकेको सिभिल इन्जिनियरहरुको संस्था आइसी यूकेका प्रतिनिधि प्रोफेसर भरतराज पाण्डेको प्रमुख आतिथ्यतामा भएको अवार्ड समारोहमा नेकका ४ प्राध्यापकसहित २० जनाले प्रोफेसनल इन्जिनियरिङ सर्टिफिकेट अवार्ड प्राप्त गरेका छन् ।

काउन्सिलले उल्लेखित चार इन्जिनियरहरु सहित सरोजकुमार उपाध्याय, अनन्त आचार्य, इन्द्रलाल प्रधान, मनोहर श्रेष्ठ, रामप्रसाद धिताल, इन्दु शर्मा ढकाल, जयराम भट्टराईलाई पनि प्रोफेसनल इन्जिनियरिङ सर्टिफिकेट अवार्ड प्रदान गरेको छ । यसैगरी, हरिप्रसाद ढकाल, रामकुमार लम्साल, उमेश झा, हरिओम श्रीवास्तव, प्रेमकुमार श्रीवास्तव, विन्देश्वरप्रसाद शाह, भरतराज पहारी, पदमप्रसाद पोखरेल र रुपक राजभण्डारीलाई सर्टिफिकेट प्रदान गरेको छ ।

नेपाल इन्जिनियरिङ काउन्सिलका अनुसार केही महिना अगाडी नै वितरण गर्नुपर्ने प्रोफेसनल इन्जिनियरिङ सर्टिफिकेट कोरोना संक्रमण र लकडाउनका कारण पछि सरेको थियो । इन्जिनियरिङ विधामा काउन्सिलले प्रदान गर्ने प्रोफेसनल इन्जिनियरिङ सर्टिफिकेटको छुट्टै महत्व रहेको बताइन्छ ।

के हो प्रोफेसनल इन्जिनियरिङ सर्टिफिकेट ?

नेपाल इन्जिनियरिङ काउन्सिलले प्रदान गर्ने प्रोफेसनल इन्जिनियरिङ सर्टिफिकेट अन्तराष्ट्रिय मापदण्ड अनुसार तयार पारिएको छ । आइसी यूकेको अवधारणा अनुसार यसको परीक्षा हुन्छ । व्याचलर, मास्टर्स गरी २० वर्ष इन्जिनियरिङ विधामा काम गरेकाहरु सर्टिफिकेट प्राप्त गर्न योग्य रहेको काउन्सिलका रजिष्ट्रार इ. शिव मंगल गिरीले बताए ।

काउन्सिलले प्रोफेसनल इन्जिनियरिङ सर्टिफिकेटका लागि कार्यविधि र नियमावली नै बनाएर परीक्षा लिने गरेको छ । ‘यो हाम्रो देशको लागि विलकुलै नयाँ कार्यक्रम भएपनि अन्तराष्ट्रिय स्तरमा यसको निक्कै महत्व छ ।’ रजिष्ट्रार इ. गिरीले भने–‘इन्जिनियरिङ विधामा ब्याचलर, मास्टर्स गरेर २० वर्षसम्म अनुभव भएकाहरुले यो सर्टिफिकेटका लागि आवेदन दिन सक्छन् । त्यसपछि काउन्सिलले कार्याविधि अनुसार उहाँहरुको परीक्षा लिन्छ । त्यसमा उत्तिर्ण भएकालाई मात्र यो सर्टिफिकेट दिइन्छ ।’

प्रोफेसनल इन्जिनियरिङ सर्टिफिकेट प्राप्त गरेपछि स्वदेश तथा विदेशका ठूला प्रोजेक्टहरुमा काम गर्न सहज हुनेछ भने, प्रोफेसनल इन्जिनियरले बनाएका ड्रइङ डिजाइनहरुले अन्तराष्ट्रिय मान्यता पाउने अवसर हुन्छ । साथै यो उपाधि पाउने इन्जिनियरहरुका लागि अन्तराष्ट्रिय स्तरमा निश्चित अधिकार पनि सुनिश्चित गरिएको छ ।

काउन्सिलले अहिलेसम्म यसको परीक्षा ३ पल्ट सञ्चालन गरेकोमा हालसम्म ६१ जना इन्जिनियरहरु पास भएका छन् । काउन्सिलको बोर्ड बैठकले प्रोफेसनल इन्जिनियरिङ सर्टिफिकेटको परीक्षा गर्ने निर्णय पास गरेर मात्रै यसको परीक्षा लिने गरेकोमा ‘ए, वि र सी’ तहको सर्टिफिकेट प्रदान गर्नेछ । ‘ए’ तहको सर्टिफिकेट प्राप्त गर्न २० वर्ष कार्यानुभव चाहिन्छ । ‘वि’ भनेको विदेशीहरुका लागि हो । ‘सि’ चैं ब्याचलर गरी ४ वर्ष कार्यानुभव भएकाले लिन सक्नेछन् । काउन्सिलले अहिलेसम्म ‘ए’ तहको मात्र परीक्षा सञ्चालन गरेको छ ।













0 प्रतिकृया