नेकको आइसोलेसनमा संक्रमितलाई अब खाना खाना
एक्सन खबर
भक्तपुर । नेपाल इन्जिनियरङ कलेजमा रहेको आइसोलेसन सेन्टरमा निःशुल्क खाना तथा खाजाको व्यवस्थापन भएको छ । यसअघि कोभिड–१९ संक्रमित आफैंले खाना र खाजाको व्यवस्थापन गर्नुपर्ने बाध्यता थियो ।
भक्तपुर उद्योग वाणिज्य संघले नेपाल इन्जिनियरिङ कलेजमा चाँगुनारायण नगरपालिकाको संयोजनमा संचालित आइसोलेसन सेन्टरमा रहेका विरामीहरूलाई सोमबारदेखि नै लागु हुने गरी खानाखाजाको खर्च व्यहोरेपछि आइसोलेसनमा रहेका संक्रमितलाई राहत भएको छ ।
‘हामीले कोभिड–१९ संक्रमितलाई एकान्तबास र सरसफाइका साधनहरु उपलब्ध गराएपनि खाना र खाजा दिन सकेको थिएनौं, भक्तपुर उद्योग वाणिज्य संघले त्यसको जिम्मा लिएकाले अब यहाँ आउने संक्रमितले कुनै पनि समस्या झेल्नु पर्दैन ।’ आइसोलेसन सेन्टरको व्यवस्थापन हेर्दै आएका नेकका बरिष्ठ कर्मचारी मनोहर खनालले भने ।
सामाजिक उत्तरदायित्व बोधसहितको भक्तपुर उद्योग वाणिज्य संघको यस निर्णयलाई नेपाल इन्जिनियरिङ कलेजको तर्फबाट स्वागत गरिएको छ । यसअघि पनि चाँगुनारायण नगरपालिका वडा नं २ बाट उक्त आइसोलेसन केन्द्रलाई चाहिने खानेपानी (मिनरल वाटर) को व्यवस्था भएको थियो ।
नेकको आइसोलेसनमा ७ जना संक्रमित बसेकोमा ५ जना निको भएर घर फर्किसकेका छन् ।
कलेजले सामाजिक उत्तरदायित्व अन्तर्गत कलेजको सभाहलमा एक सय वेडको आइसोलेसन सेन्टर सञ्चालन गरेको छ । उक्त आइसोलेसन सेन्टरको सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको छ ।
0 प्रतिकृया