Follow us:


Follow us

२३ जेठ २०८३, शनिवार
२३ जेठ २०८३, शनिवार


मानव गैरमानवका क्रियाकलापले दुवैलाई हुनसक्छ असर: विज्ञ

एक्सन खबर


मानव गैरमानवका क्रियाकलापले दुवैलाई हुनसक्छ असर: विज्ञ

काठमाडौं । ‘बुश टु बेन्च टु बेडः द क्रिटिकल रोल अफ फिल्ड रिसर्च इन बायोडाइवर्सिटी कन्जर्भेसन एण्ड ट्रान्सलेशनल साइन्स’ मा भएको वेभिनारमा मानवबाट गैरमानव र गैरमानवबाट मानवमा संक्रमण हुन सक्ने संभावनाबारे सहभागीहरुले चासो र चिन्ता व्यक्त गर्दै यस विषयमा बृहद खोज तथा अनुसन्धान हुनुपर्ने बताएका छन् ।

नेपाल इन्जिनियरिङ कलेज एमएससी प्राकृतिक संसाधन व्यवस्थापन कार्यक्रम (एमएसी एनआरएम) ले अमेरिकाको वाशिंटन विश्वविद्यालयसँगको सहकार्यमा ‘बुश टु बेन्च टु बेडः द क्रिटिकल रोल अफ फिल्ड रिसर्च इन बायोडाइवर्सिटी कन्जर्भेसन एण्ड ट्रान्सलेशनल साइन्स’ शिर्षकको वेभिनारमा सहभागीहरुले मानवबाट गैरमानव र गैरमानवबाट मानवमा संक्रमण हुन सक्ने सम्भावना भएका जुनोटिक रोगहरूको बारेमा चर्चा गर्दै जैविक विविधताका अवस्था पत्ता लगाउन निरन्तर अनुसन्धान र खोज हुनुपर्ने बताएका हुन् ।

वेभिनारका मुख्य प्रस्तुतकर्ता प्राध्यापक डा. राण्डल सी कायसले जैविक विविधताको स्थिति पत्ता लगाउन दीर्घकालीन निगरानी महत्वपूर्ण रहेको जिकिर गर्दै बिभिन्न देशहरूमा उनले गरेका जैविक विविधताका अनुसन्धानका अनुभवहरु शेयर गरेको नेकका प्राध्यापक डा. नारायणप्रसाद कोजूले बताए ।

डा. कोजूका अनुसार यसपल्टको वेभिनार छैटौं पटक पटक भएको हो । वेभिनारको मुख्य उद्देश्य विद्यार्थी तथा अनुसन्धानकर्ताहरुलाई फिल्ड रिसर्चमा जान अभिप्रेरित गर्ने, पछिल्लो समय मानव र वन्यजन्तुविचको अन्तरद्वन्द्वले देखा परेको असर खुट्याउनु रहेको थियो ।

‘मुख्य रुपमा मानवले गरेका कृयाकलापले वन्यजस्तुहरुमा कस्तो असर परेको छ, प्रकृतिको इको सिस्टमलाई कसरी प्रभाव पारेको छ भन्ने कुराहरु अनुसन्धानकर्ताहरुले फिल्डमा गएर अनुसन्धान गर्ने र ल्यावमा ल्याएर रिसर्च गर्न विद्यार्थी तथा अनुसन्धानकर्ताहरुलाई अभिप्रेरित गर्न खोजिएको हो ।’ डा. कोजूले भने ।

यसअघि मेथिसिलिन–प्रतिरोधी स्टेफिलोकोकस आरियस (एमआरएसए) ले काठमाडौं उपत्यकाको बाँदरहरूमा एउटा अनुसन्धान गरेको थियो । मानव क्रियाकलापले पशुपति, त्रिपुरेश्वर, निलबाराही क्षेत्रका बाँदरहरुको स्वास्थ्यमा पुर्याएको असरका बारेमा अनुसन्धान गर्दा ९६ प्रतिशत बाँदरहरुमा बंशानुगत रुपमा मानिसमा हुने व्याक्टेरिया सरेको पाइएको डा. कोजूले बताए ।

‘बागमति तथा उपत्यकाका नदीहरुमा मानव मलमुत्र विर्सजन हुँदा त्यसले मानवलाई मात्र हैन वन्यजन्तुहरुको जिवनमा समेत असर गरेको पाइयो । पशुपति, त्रिपुरेश्वर तथा निलबाराहीका बाँदरहरुले बागमतीको पानी खाए, त्यहाँ मानव मलमुत्र रहेकाले त्यसैको माध्यमबाट बाँदरहरुमा मानवमा हुने जुका लागेको पायौं ।’ उनका अनुसार वन्यजन्तुहरुमा मानव व्याक्टेरिया सर्दा त्यसले नयाँ प्रजातिको भाइरस उत्पादन हुन सक्छ । अहिले कोरोना भाइरसको नयाँ प्रजाति भनेजस्तै मानवमा रहेका रोगहरु वन्यजन्तुहरुमा सर्ने र त्यसबाट नयाँ प्रजातिको जन्म हुन सक्ने खतरा रहन्छ ।

यसले मानव र वन्यजन्तुको जीवनचक्रमा असर त गर्छ नै कतिपय वन्यजन्तुहरु लोप हुने अवस्थामा पनि पुग्दछन् । मानवका क्रियाकलापले वन्यजन्तु र स्वयं मानवलाई हुने हानी न्यूनीकरणमा यस्ता फिल्ड अनुसन्धानहरुले टेवा दिने बताइएको छ ।

डा. कोजू आफैंमा प्रकृतिसँग जोडिएर रिसर्च गर्दछन् । यसअघि नेपालमा हिम चितुवा रहेको उनैको टीमले पत्ता लगाएको थियो । अहिले डा. कोजू विश्वविद्यालय अनुदान आयोग मार्फत गौरिशंकर संरक्षण क्षेत्रमा रहेका हिमचितुवाको आहारसम्बन्धी अनुसन्धान गर्दैछन् ।

डा. कोजूकै सक्रियतामा भएको वेभिनारमा विभिन्न कलेजमा स्नातक, स्नातकोत्तर अध्ययनरत ६० जना विद्यार्थी तथा अनुसन्धानकर्ताको सहभागीता रहेको थियो । जहाँ त्रिभुवन विश्वविद्यालयका जिव विज्ञान विभागकका सह प्राध्यापक लक्ष्मण खनाल, केन्द्रीय वनस्पति विज्ञान विभागका सह प्राध्यापक अच्युत तिवारीले समेत प्रकृतिसँग सम्बन्धीत विषयमा बोलेका थिए । यसअघि भएका ५ वटा वेभिनारहरु समेत जैविक विविधता संरक्षण र प्राकृतिक संसाधन प्रवर्द्धनका बिषयहरूमा भएका थिए ।













0 प्रतिकृया