Follow us:


Follow us

२३ जेठ २०८३, शनिवार
२३ जेठ २०८३, शनिवार


नेपाल इन्जिनियरिङ कलेजमा लारावेल एडभान्स कम्प्युटर तालिम शुरु

एक्सन खबर


नेपाल इन्जिनियरिङ कलेजमा लारावेल एडभान्स कम्प्युटर तालिम शुरु

काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजमा पिएचपी लारावेलबाट वेभसाइट निर्माण गर्ने एड्भान्स कम्प्युटर तालिम शुरु भएको छ । विश्वविद्यालय अनुदान आयोगको वित्तीय सहयोगमा ४ दिनसम्म चल्ने तालिममा प्रशिक्षार्थीहरुलाई पिएचपी लारावेल फ्रेमवर्कमा वेभसाइट निर्माण गर्ने ज्ञान दिइने छ ।

कलेजको डिपार्टमेन्ट अफ कम्प्युटर साइन्स एण्ड इन्जिनियरिङको संयोजनमा हिजोबाट भइरहेको तालिममा कलेजका २० जना फ्याकल्टी तथा भर्चुवल माध्यमबाट ४५ जना गरी करिब ६५ जनाले सहभागीता जनाइरहेको कार्यक्रमका सहजकर्ता असिस्टेन्ट प्रोफेसर कृष्णविक्रम शाहले बताए ।

‘तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई पिएचपी लारावेलको फ्रेमवर्क उपयोग गरी वेभ साइट निर्माण गर्ने, डाटाबेस, ब्लेड टेम्पलेट प्रणालीको साथ मुख्य टेम्पलेट्स र डाटाबेस परिवर्तन गर्न माइग्रेसनको कसरी प्रयोग गर्ने लगायतका विषयमा प्रशिक्षण दिइनेछ ।’ शाहले भने ।

यसका अलावा तालिममा प्रशिक्षार्थीहरुलाई फ्रेमवर्कको नियन्त्रण तथा मार्गको बारेमा समेत ज्ञान दिइनेछ । तालिमको रिसोर्स पर्सनहरुमा एसोसिएट प्रोफेसरद्वय दिनेश डंगोल तथा धिरजकुमार दास र असिस्टेन्ट प्रोफेसरद्वय नरेशप्रसाद दास र इश्वर पोखरेल रहेका छन् ।

कलेजका डिपार्टमेन्ट अफ कम्प्युटर साइन्स एण्ड इन्जिनियरिङका प्रमुख असिस्टेन्ट प्रोफेसर सुन्दर कुँवरले विश्वविद्यालय अनुदान आयोगको वित्तीय सहयोगमा सञ्चालित तालिम एड्भान्स रहेको बताए । तालिममा पिएचपी लारावेलको फ्रेमवर्कमा वेभ साइटहरु बनाउन सिकाइनेछ । साथै, लाइभ प्रोजेक्सनसमेत रहेकाले ४ दिनको तालिमबाट प्रशिक्षार्थीले वेभसाइट निर्माण गर्न सक्ने समेत जिकिर गरे ।

‘यो एड्भान्स कोर्ष हो । बाहिर तालिम लिँदा समय र पैसा दुवैको उत्तिकै खर्च हुन्छ । हामीले विश्वविद्यालय अनुदान आयोगको वित्तीय सहयोगमा निःशुल्क तालिम दिएका हौं ।’ डिपार्टमेन्ट प्रमुख कुँवरले भने । तालिममा कलेजका फ्याकल्टीहरु तथा दोश्रो, तेश्रो र चौथो वर्षका विद्यार्थीहरुले सहभागीता जनाइरहेका छन् ।

नेपाल इन्जिनियरिङ कलेजले विद्यार्थी तथा फ्याकल्टीहरुको विषयगत ज्ञान बढाउन बेलाबेलामा यस्ता तालिम सेमिनारहरु गर्दै आएको छ । कम्प्युटर साइन्स तथा इन्जिनियरिङ विधामा कलेजले प्रयोगात्मक शिक्षण विधिलाई अधिकतम प्रयोग गरेकाले कलेजको शैक्षिक स्तर उत्कृष्ट रहेको कलेजको भनाई छ ।

यहि असोज १० गतेदेखि १३ गतेसम्म विश्वविद्यालय अनुदान आयोगकै वित्तीय व्यवस्थापनमा ‘अनुसन्धानको अवसर र उच्च गुणस्तरीय अन्तर्राष्ट्रिय पत्रिकाहरुमा अनुसन्धान लेख प्रकाशन’ विषयमा समेत चारदिने तालिम सञ्चालन हुँदैछ ।













0 प्रतिकृया