‘मेगा प्रोजेक्ट आयोभने एकै पटक हजारौं इन्जिनियरहरुको अभाव हुन्छ’
एक्सन खबर
डेढ दशकअघिसम्म जो कोही विद्यार्थी डाक्टर, इन्जिनियर तथा पाइलट हुने सपना देख्दैनथे । तर, समयसँगै यी विषयहरु सर्वसुलभ बन्दै जाँदा डाक्टर, इन्जिनियर, पाइलट जस्ता गहन विषय अध्ययन गर्नेहरुको जमात बढ्दो छ ।
नेपालमा इन्जिनियरिङ विषयलाई मुलुकको विकास गर्ने आधार स्तंभका रुपमा लिइएको छ । कुनैबेला पुल्चोक क्याम्पसमा पढाईहुने इन्जिनियरिङ अहिले देशका ५०/५५ कजेलहरुमा पुगेपछि विद्यार्थीको आकर्षण बढेको छ । यद्यपि, विगतको तुलनामा इन्जिनियरिङ गर्नेहरु संख्यात्मक रुपमा बढेपनि गुणात्मक रुपमा नबढेको नेपाल इन्जिनियरिङ कलेजका प्रा.डा. हरिकृष्ण श्रेष्ठको अनुभव छ ।
डा. श्रेष्ठ नेपालमा इन्जिनियरिङ क्षेत्रमा दक्ष जनशक्तिको अझै अभाव रहेको बताउँछन् । चार दशकदेखि इन्जिनियरिङ शिक्षण पेशामा सक्रिय श्रेष्ठले इन्जिनियरिङ गरेकाहरुले कामै नपाएर हल्लिइरहेको नसुनेको बताए । दक्ष इन्जिनियर उत्पादनमा गुणात्मक बृद्धि नभएको उनको भनाई छ । २५ वर्षदेखि नेपाल इन्जिनियरिङ कलेजको शैक्षिक कमान्डिङ सम्हाल्दै आएका डा. श्रेष्ठले विद्यार्थीहरु पढाईप्रति सचेत नहुँदा उत्तीर्ण दर कम भएको ठान्छन् । प्रस्तुत छ, नेपालमा इन्जिनियरिङ शिक्षाको अवस्था, रोजगारीको अवस्था, चुनौति लगायतका विषयमा डा. श्रेष्ठसँग गरिएको कुराकानीको संक्षेपः
तपाईं इन्जिनियरिङ सकेर प्राध्यापन क्षेत्रमा कहिले प्रवेश गर्नुभयो ?
मैले २०३५ सालमा इन्जिनियरिङ गर्दा त्यतिखेर सिभिल ओभरसियर भनिन्थ्यो । सिभिल ओभरसियर भएर ३५ सालबाट हाईड्रोलोजी डिपार्टमेन्टमा काम गर्न थाले । स्नातक र स्नात्तोकर अमेरिकाबाट गरे । अमेरिकामा दुई वर्ष बसेर नासाको प्रोजेक्टमा काम गरें । २०५१ सालमा नेपाल फर्कँदा जुन सरकारी अफिसले मलाई अमेरिका पढ्न पठाएको थियो, त्यसले हाजिर गराएन । किन गराएन त्यो थाहा भएन । मैले त्यहाँ छोडे । ५१ सालमा नेपाल इन्जिनियरिङ कलेज खुलेको थियो । मैले कलेजमा अनौपचारिक कुरा गर्दै सिभी छोडेर गएको थिएँ ।
कलेजले एक हप्तापछि बोलाउँदा इभ्यालेसनको लागि कक्षा लिएँ । त्यसबेला अध्यक्ष लवराज सर र प्रिन्सिपल दिपक भट्टराई हुनुहुन्थ्यो । क्लास लिएको ठिक छ भनेपछि त्यहि दिनदेखि कलेजमा कार्यरत छु । त्यहि बीचमा मलाई कलेजले तीन वर्षकालागि पिएचडी गर्न जापान पठाएपछि जापानबाट पिएचडी गरेको हुँ ।
इन्जिनियरिङ, डाक्टर र नर्सिङ्गलाई सम्मानित शिक्षा र पेशा भनिन्छ, इन्जिनियरिङ पेशा र पढाईको अवस्था कस्तो छ ?
रोजगारीको कुरा गर्दा नेपालमा जोक गर्छन्, बाटोमा ढुंगाले हाने इन्जिनियरलाई लाग्छ भनेर । तर, मलाई बेला–बेलामा विभिन्न कम्पनीहरुबाट इ–मेल र फोनबाट पाँच जना, दश जना इन्जिनियर चाहियो भनेर सोधी रहन्छन् । मैले पुराना विद्यार्थीहरुलाई ‘खाली छौं कि’ भनेर सोध्दा कसैले पनि ‘खाली छौं’ भन्दैनन् । भन्नुको तात्पर्य, इन्जिनियरहरुले काम नपाएर बसेका छैनन् ।
यति भन्दैगर्दा, इन्जिनियरहरु पटक्कै नहल्लिरहेको भन्दिन । जसलाई इन्जिनियरिङ पेशामा चासो छैन, आमा–बुवाले कर गरेर इन्जिनियर बन्न पढेकाहरु ‘डी प्लस वा सिप्लस’ ल्याएर पास त गर्छन तर, कैयौंको व्याक पेपर बाँकी हुन्छ । बाहिरबाट हेर्दा चार वर्षको इन्जिनियरिङ सकियो तर, ब्याक पेपर चैं बाँकी हुन्छ । अर्थात पढाई पुरा नगरेकाहरु चैं हल्लिरहने हुन्छन् ।
अहिले सिभिल इन्जिनियर, आर्किटेक्चर इन्जिनियरहरु खाली भेटिँदैनन् । इलेक्ट्रोनिक्स सेक्टरमा आइटी पढेका मान्छेले केही नगरेपनि वेभसाइट बनाउने काम त गरेकै हुन्छन ।
रोजगारको कुरागर्दा अरुण हाईड्रो प्रोजेक्टको जस्ता मेगा प्रोजेक्ट आयोभने नेपालमा एकै पटक हजारौं इन्जिनियरहरुको अभाव हुन्छ । हामीले भारतीय र चिनियाँ इन्जिनियरहरु ल्याउनुपर्छ ।
कलेजको कुरागर्दा नेपालमा ५२/५३ वटा कलेजहरुले स्वीकृति पाइसकेका छन् । ति मध्ये कुनै सरकारी खर्चबाट चल्छन्, कुनै विद्यार्थीको खर्चबाट । कलेज धेरै हुनु नराम्रो होइन तर, नेपाल इन्जिनियरीङ काउन्सिल जसले यो क्षेत्रको अनुगमन गर्ने जिम्मा पाएको छ उसको प्राविधिक र जनशक्ति कम भएकाले नियमित अनुगमन छैन । जसले गर्दा क्वालिटीको कुरामा शंका गर्ने ठाउँ छ ।
काउन्सिलको अनुगमनलाई कमजोरी मान्ने कि विद्यार्थीको क्वालिटी हरायो ? अहिलेका विद्यार्थीमा पढ्ने जुनुन कत्तिको छ ?
संख्या मात्र बढाउन खोज्यौं भने क्वालिटी घट्छ । तर, क्वालिटी र संख्यालाई म्यानेज गर्ने होभने घट्दैन । यदि कुनै स्कुलले २०० जना विद्यार्थी भर्ना लिन्छ भने त्यो २०० जना विद्यार्थी भर्ना लिन स्वीकृति दिने बेलामा र स्वीकृति दिएपछि संख्याको आधारमा क्वालिटी मेन्टेन गरेको छकि छैन ? रेगुलर अनुगमन गर्नैपर्छ । नियमित अनुगमन हुँदा जसलाई साच्चिकै पढाउनु छ उनीहरु कलेज चलाएर बस्छन । अलि–अलि पढाएको जस्तो गर्ने नाफामा मात्र ध्यान दिनेहरु कि बन्द हुन्छन् कि क्वालिटी मेन्टेन गर्न लाग्छन् ।
नेपाल इन्जिनियरिङ काउन्सिललाई बलियो बनाउनु पर्छ । जसरी अहिले नेपाल मेडिकल काउन्सिल बलियो छ, उसको निर्देशन लागू हुन्छ, कुनै डाक्टरले नराम्रो गर्दा काउन्सिल आफैंले अनुसन्धान गरेर कारवाही गर्नसक्छ । इन्जिनियरिङ काउन्सिललाई पनि त्यस्तै बलियो बनाउनु पर्छ ।
अर्को कुरा, नेपालमा पुरानो बेलायती ढाँचाको एफिलेसन सिस्टम छ, गर्नुपर्ने चैं एक्रेडिसन सिस्टम हो । एक्रेडिसन सिस्टममा क्वालिटी नबढाई सुख छैन । विश्वविद्यालय अनुदान आयोगले पाँच वर्षको म्याद दिएर इन्जिनियरिङ कलेजहरुलाई एक्रेडिसन सिस्टममा जानु त भन्यो तर, तीन वर्षको अवधिमा थोरै मात्र कलेजहरु एक्रेडिसन सिष्टममा गए ।
इन्जिनियरिङ काउन्सिल होस्, युनिभर्सिटी ग्राण्ड कमिसन वा कुनै निष्पक्ष अधिकार सम्पन्न एक्रेडिसन बडी बनाउने र त्यसले नियमित अनुगमन गर्ने होभने कलेजहरु क्वालिटी बढाउन बाध्य हुन्छन् ।
आमाबुवाको इच्छा पुरा गर्न इन्जिनियरिङ विषय त लिन्छन् तर, पास आउट हुन सक्दैनन् । संख्यात्मक रुपमा इन्जिनियरिङ गर्नेहरुको रेसियो बढेपनि क्वालिटी घटेको छ ।
नेपाल इन्जिनियरिङ काउन्सिलको भूमिका कमजोर हुनुको कारण के हो ?
एक यो नेपाल मेडिकल काउन्सिल भन्दापनि कान्छो भयो । दोस्रो उसले गर्न खोजेको सुधार गर्न दिइएको छैन । जसरी मेडिकल काउन्सिलले आफैंले जाँच लिएर डाक्टरहरुलाई सर्टीफाई गर्छ, इन्जिनियरिङ काउन्सिलले पनि जाँच लिएर मात्रै इन्जिनियर बनाउन खोजेको हो । तर, गर्न दिइएको छैन । काउन्सिलले विधयेक बनाएको दश वर्ष भइसकेपनि प्रतिनिधिसभाको विषयमा परेन ।
काउन्सिलसँग जनशक्ति कम छ । मान्छे ल्याउन सकेको छैन । मास्टर लेभलमा के–के हुन्छ ? नम्र्स एण्ड स्ट्याण्डर्ड त निकाल्यो । अब अनुगमन कहिले गर्ने ? उसले आवश्यक अनुसार दक्ष विज्ञहरु राख्न सक्नुपर्छ ।
तपाईंहरुले पढ्दाखेरि विद्यार्थीमा पढ्नुपर्छ भन्ने जुनुन थियो, अहिलेको विद्यार्थीमा पनि छ ?
५० सालसम्मको कुरा गर्ने होभने सिट संख्या कम भएकाले सेलेक्टेड मात्र जान्थे । नेपालभरी इन्जिनियरिङ पढाउने संख्या २४ थियो । सिट छान्न पाइन्थ्यो, विद्यार्थीहरु साँच्चिकै पढ्दथे । अहिले त फेसन भएको छ । आमाबुवाको इच्छा पुरा गर्न इन्जिनियरिङ विषय त लिन्छन् तर, पास आउट हुन सक्दैनन् । संख्यात्मक रुपमा इन्जिनियरिङ गर्नेहरुको रेसियो बढेपनि क्वालिटी घटेको छ ।
इन्जिनियरिङमा धेरै क्षेत्रहरु छन्, नेपालमा बढी रुचाइएको र संभावना भएको विषय कुन हो ?
बोलीचालीको भाषामा राम्रो विषय सिभिल हो । अहिले जुन कलेजमा इन्जिनियरिङ पढाइन्छ त्यहाँ सिभिल हुन्छ नै । सिभिलको सिट पनि बढी छ । नेपालमा विकास पूर्वाधारमा काम गर्न धेरै छ । बाटो बनेकै छैनन्, बनेपनि लो क्वालिटीको छ । गाउँपालिकाको बाटोहरु कम बजेटमा बन्छन् । त्यस्तोको मर्मत सम्भार गर्न, क्वालिटी बढाउन, स्तरोन्नती गर्नपनि सिभिल इन्जिनियर चाहिन्छ । खानेपानी, ढल निकास नहर कुलोको काम सिभिल इन्जिनियरले गर्ने भएकोले माग धेरै छ ।
अहिले नेपालमा कम्प्युटर इन्जिनियर, सफ्टवेयर इन्जिनियरहरुले विदेशका सफ्टवेयर कम्पनीहरुसँग सिधै डिल गरेर एउटा सानो अफिस बनाएर वा घरबाटै गर्छन् र सफ्टवेयर विदेश पठाउँछन् । यसले रेमिट्यान्स त बढायो तर, त्यसको नीतिगत व्यवस्थापन भएन । सफ्टवेयर त एक्सपोर्ट गरियो तर, इन्जिनियरसँग एक्सपोर्ट लाइसेन्स छैन । कर तिर्ने र पैसा आएको स्रोत बताउन नमिल्ने समस्या छ ।
आर्किटेक्टमा सबैले राम्रो गरिरहेका छन् । नयाँ–नयाँ भवन, हल, मल बनेका छन् । इलेक्ट्रोनिक्स इन्जिनियरमा थुप्रै सम्भावना हुँदापनि सरकारले ध्यान नदिएकोले डिमाण्ड कम छ । जस्तैः बनेपामा आइटी पार्क बनाउने भनेर शिलान्यास गर्यो बनेको छैन । ठाउँ–ठाउँमा आइटी पार्क बन्ने होभने धेरै संभावना छ । भारतको बैंगलोरले आइटीमा गर्नसक्ने नेपालले गर्न नसक्ने छैन ।
संभाव्यताको हिसाबले नेपालमा इलेक्ट्रोनिक इन्जिनियरिङ राम्रो देखियो हैन ?
हो, इलेक्ट्रोनिक इन्जिनियरिङको धेरै संभावना छ । तर, व्यवहारमा लागू गर्न सरकारले पोजिटिभ रोल खेल्दिनुपर्छ । सरकारले आफैं आइटी पार्कहरु खोल्नुपर्छ । नीजि कम्पनीहरुलाई वातावरण बनाईदिनु पर्यो । हामीसँग कानुन, संरचना, लगानी तथा वातावरण भएन । सूचना प्रविधिमा अरु भन्दापनि फास्ट इन्टरनेट र बिजुली २४ सै घण्टा चाहिन्छ । नेपालमा इलेक्ट्रोनिक र आइटी इन्जिनियरिङमा प्रशस्तै संभावना छ ।
पछिल्लो समय सरकारले उर्जामा लगानी बढाएको छ, नेपालका इन्जिनियरहरु उर्जामा काम गर्न सक्छन् कि सक्दैनन् ?
जनशक्ति धेरै कम छ । मैले २०–२२ वटा हाईड्रो प्रोजेक्टमा काम गर्दा हरेकमा इलेक्ट्रिकल इन्जिनियर अभाव थियो । पावर सिष्टम डिजाइन गर्ने इन्जिनियर नै छैन भन्छन् । अनि बाध्य भएर भारत र चीनबाट कामदार ल्याउनुपर्ने हुन्छ । १० देखि ४० मेगावाटको आयोजनाहरु नेपालीले गर्न थालेपनि अलिकति ठूलो प्रोजेक्ट हुने बित्तिकै माथिल्लो तहमा कन्सल्ट्यान्ट र कन्ट्रयाक्टर विदेशी हुन्छन् ।
जर्मनका थुप्रै कम्पनीहरु यहाँको हाइड्रो पावरमा काम गरिरहेका छन्, उनीहरुका २०/३० जना इन्जिनियरहरु सधैं यतै हुन्छन् । हामीसँग जनशक्ति छैन, भएका जनशक्तिलाई अवसर दिइएको छैन । अवसर नदिएपछि अनुभव नहुने, अनुभव नभएपछि ‘अनुभव नै छैन’ भनेर विदेशीको भर पर्नुपर्ने परिस्थिती छ ।
हामीसँग ठूला टर्वाइन डिजाइन गर्ने जनशक्ति छैनन् । केही नेपालीहरुले २०० किलोवाट सम्मका टर्वाइन डिजाइन गरेपनि ठूला बनाएका छैनन् । अवसर दिए बनाउन सकिन्छ तर, सरकारले अवसर र वातावरण बनाइदिनुपर्छ । कसैले टर्वाइन बनाउँछ भने सरकारले सर्टिफाई गरिदिनुपर्छ । यसोगर्दा टर्वाइन र जेनेरेटर किन्न वर्षेनी अरबौं रकम विदेश जानबाट रोकिन्छ ।
जुनसुकै राजनीतिक विचारधाराको इञ्जिनियरले गर्ने डिजाइनको फर्मुला एउटै हुन्छ । उत्तर एउटै हुन्छ । शैक्षिक क्षेत्रमा राजनीतिकरण ठूलो चुनौती हो ।
0 प्रतिकृया