घरघरमा इन्जिनियर बनाउँदै ‘नेपाल इन्जिनियरिङ कलेज’
एक्सन खबर
काठमाडौं । इन्जिनियरिङ शिक्षामा नेपालकै नमुना शैक्षिक संस्थाका रुपमा उभिएको नेपाल इन्जिनियरिङ कलेज (नेक) गैरनाफामुलक सामाजिक शैक्षिक संस्था हो भन्ने उसले गरेको कृयाकलापबाटै प्रष्ट हुन्छ । सन् १९९४ मा स्थापना भएको कलेजले प्रदान गर्ने विभिन्न प्रकारका छात्रवृत्ति तथा सामाजिक उत्तरदायित्व अन्तरगत गर्ने क्रियाकलापले यो कलेज पूर्णतः सामाजिक शैक्षिक संस्था हो भन्ने प्रमाणित गर्दछ ।
स्थापना कालदेखि नै कलेजले स्थानीय, जेहेन्दार, गरिब तथा कमजोर आर्थिक अवस्था भएका तर, इन्जिनियरिङ शिक्षा हासिल गर्ने चाहना भएका विद्यार्थीलाई विभिन्न प्रकारका छात्रवृत्तिहरु दिइरहेको कलेजका प्रिन्सिपल प्रा.डा. हरिकृष्ण श्रेष्ठले बताए ।
शिक्षा क्षेत्रमा केही गर्ने प्राज्ञिक सोच र भिजन भएका स्वर्गिय प्रा.डा. दीपक भट्टराई, हरि पाण्डे लगायतको टीमले स्थापना गरेको नेपाल इन्जिनियरिङ कलेजले स्थापना कालदेखि नै विभिन्न शिर्षकमा छात्रबृत्तिहरु प्रदान गर्ने गरेको छ । ‘नेक नाफामुलक शैक्षिक संस्था नभएकाले स्थानीय तह, गरिब जेहेन्दार, उत्कृष्ट विद्यार्थीलाई ५० देखि शतप्रतिशतसम्म छात्रबृत्ति दिइरहेका छौं । भने, सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न कार्यहरुमा पनि कलेजले सक्दो सहभागिता जनाउने गरेको छ ।’ प्रिन्सिपल प्रा.डा. श्रेष्ठले भने । इन्जिनियरिङ शिक्षामा सबैको पहुँच हुनुपर्छ भनेर जसरी नेकले काम गरेको छ, मुलुकका कुनैपनि शैक्षिक संस्थाहरुले गर्न सकेका छैनन् । शिक्षालाई गैरनाफा मुलक बनाउनुपर्छ भन्ने सरकारको योजना हो भने त्यसको लागि नेकको कार्य अनुकरणीय हो ।
स्थानीय तहलाई पनि प्राथमिकता
निजी स्तरबाट मात्र हैन, सरकारी तवरबाट सञ्चालित धेरै शैक्षिक संस्थाहरुले स्थानीय तहलाई छात्रबृत्ति दिने सवालमा कमजोर छन् । तर, नेकले चाँगुनारायण नगरपालिका, त्यस वरपरका साविकका गाविसहरुलाई पनि छात्रबृत्ति छुट्याएको छ । नेकको बोर्ड बैठकले नै पास गरेर चाँगुनारायण नगरपालिकाको सिफारिसमा ७ वटा छात्रबृत्ति छुट्याएको छ । साथै, तत्कालिन गाविसहरु चाँगुनारायण, झौखेल, डाँछी, दुवाकोट, मुलपानीलाई पनि ३/३ वटा छात्रवृत्ति छुट्याईदिएको छ । ‘हामीले जुन क्षेत्रमा कलेज स्थापना गर्यौं त्यो क्षेत्रको शैक्षिक विकासका लागि पनि केही योगदान गर्नुपर्छ भनेर शुरुदेखिनै भनेका थियौं, त्यहि भएर स्थानीय तहलाई ५० देखि शतप्रतिशत छात्रबृत्तिको व्यवस्था गरेका हौं ।’ प्रिन्सिपल प्रा.डा. श्रेष्ठ भन्छन् ।
एक घर एक इन्जिनियर !
नेकले स्थानीय समुदायको शैक्षिक विकासका लागि हरेक वर्ष छात्रबृत्ति प्रदान गर्दा सबैभन्दा बढी लाभ स्थानीय जनतालाई भएको छ । २७ वर्षे इतिहासमा नेकको छात्रबृत्ति मात्रै पाएर त्यहाँका सयौं विद्यार्थी इन्जिनियर भइसके । ‘एक हिसाबले भन्नुपर्दा अहिले यहाँका अधिकांश घरमा इन्जिनियर छन् ।’ कलेजका प्रिन्सिपल डा. श्रेष्ठको दावी छ । स्थानीय तहसँगको समन्वयमा हरेक वर्ष १७ जना विद्यार्थीले पूर्ण तथा आंशिक छात्रबृत्ति पाएर पढ्ने गरेका छन् ।
शिक्षक कर्मचारीका छोराछोरीलाई पनि उच्च शिक्षा हासिल गर्न सहज होस भनेर नेकले छात्रबृत्तिको कोटा निर्धारण गरिएको छ । वर्षौंदेखि प्राध्यापन पेशा र कलेजको काममा दत्तचित्त भएका शिक्षक कर्मचारीका परिवारको लागि छुट्याइएको ७५ देखि शत प्रतिशत छात्रबृत्तिले दर्जनौं शिक्षक कर्मचारीका छोराछोरीले लाभ लिन पाएका छन् ।विश्वविद्यालय अन्तरगत प्राप्त गर्न सकिने छात्रबृत्ति समेत नेकमा छ । स्नातकमा ४९ तथा स्नातकोत्तरमा १५ सिटमा छात्रबृत्तिको व्यवस्था रहेको छ । सेमेस्टर अनुसार प्रोगाम टपर अवार्ड नै दिइन्छ । कलेजले प्रत्येक वर्ष लभभग १०० वटा सिटमा छात्रबृत्ति दिने गरेको छ । गरिब, जेहेन्दार लगायतलाई पनि कलेजले छात्रबृत्तिहरु दिने गरेको छ । देशका सबै क्षेत्रका गरिब, जेहेन्दार, मेहनती विद्यार्थीले इन्जिनियरिङ शिक्षा प्राप्त गर्न सकुन् भन्ने हेतूले प्रादेशिक छात्रवृत्ति अन्तर्गत सातै प्रदेशका लागि १/१ वटा काेटा छुट्याइएकाे छ ।
सामाजिक उत्तरदायित्वमा अग्रणी नेकविशुद्ध नाफारहित रुपमा सञ्चालित नेकको सामाजिक काम धेरै शैक्षिक संस्थाका लागि अनुकरणीय छ । हरेक वर्ष नेकले स्थानीय तहमा विभिन्न सामाजिक, शैक्षिक कार्यकालागि कार्य योजना र आवश्यक बजेट व्यवस्थापन गर्दछ । स्थानीय तहमा निर्माण हुने, सडक, बाटोघाटो, सामुदायिक भवन निर्माण, माध्यामिक विद्यालयलाई उच्च मावि बनाउने सवालमा समेत सहयोग गरेको छ । कलेजले तत्कालिन चाँगुनारायण गाविसलाई सभा हल नै बनाइ दिएकाे थियाे ।
सामाजिक रुपमा हुने हरेक गतिविधिमा नेकले दिल खुलेर सहकार्य गरेकैले चाँगुनारायणबासीले नेकलाई आफ्नो शैक्षिक धरोहर ठानेका छन् । ‘नेक विशुद्ध गैरनाफामुलक शैक्षिक संस्था भएकोले कलेजबाट जतिपनि आम्दानी हुन्छ त्यसको निश्चित हिस्सा सामाजिक काममै खर्च हुने गर्दछ ।’ प्रिन्सिपल डा. श्रेष्ठ भन्छन् ।
स्थानीय तहमा मात्र हैन नेकले पोखरा विश्वविद्यालयमा समेत आफ्नो उपस्थिति देखाइसकेको छ । कलेजले विश्वविद्यालयको पाठ्यक्रम तयार गर्ने कार्यमा सहयोग त गरेको छ नै, विश्वविद्यालय परिसरमा आजभन्दा १७ वर्षअघि २७ लाख खर्च गरेर परीक्षा हल नै बनाई दिएको छ ।
२०७० सालदेखि कलेज सञ्चालकहरु विच आन्तरिक किचलोमा रुमलियो । कलेजलाई निजीकरण गर्नुपर्छ भन्ने सञ्चालकहरुले स्थानीय तहमा दिइएको छात्रबृत्ति र सामाजिक उत्तरदायित्वका कामहरु बन्द गर्ने सड्यन्त्र गरेपनि कलेजलाई सामाजिक शैक्षिक संस्थाकै रुपमा चलाउने पक्षले त्यसाे गर्न दिएन ।
कलेजलाई सामाजिक संस्थाका रुपमै सञ्चालन गर्नुपर्छ भनेर ठूलो कानुनी लडाई भयो । त्यसमा चाँगुनारायण नगरपालिका त्यसमा पनि नगरप्रमुख सोमप्रसाद मिश्रले महत्वपूर्ण भूमिका निर्वाह गरे । कानुनी लडाईंमा एक हदसम्म सफलता प्राप्त गरेको नेकलाई अब चाँगुनारायण नगरपालिका मातहतमा सञ्चालन गर्ने तयारी भएको छ । नगरपालिकाको आठौं नगरसभाले कलेज सञ्चालन गर्ने निर्णय गरी कार्यविधी नै तयार गरेको छ । ‘नगर सभाले कलेज चलाउने भनेर कार्यविधी नै पास गरिसकेको र अब कलेजको बोर्डले पास गरेपछि नेक नगरपालिका अन्तरगत आउँछ ।’ मेयर मिश्रले भने ।
उनले नेकले नगरपालिकाको शिक्षामा मात्र नभई मुलुककै शिक्षाको विकासमा योगदान दिएको बताउँदै आगामी दिनमा विश्वविद्यालयको रुपमा लैजाने बताए । ‘कलेजले शैक्षिक विकाससँगै सामाजिक काममा पनि योगदान गर्दै आइरहेको छ । आउँदा दिनहरुमा पनि निरन्तररता हुन्छ ।’
पछिल्लो समय कोरोना संक्रमणको महामारीमा नेक र चाँगुनारायण नगरपालिका मिलेर १ सय वेडको आइसोलेसन सेन्टर नै सञ्चालनमा ल्याएका थिए । नेकको उक्त कार्यलाई चौतर्फी प्रशंसा मिलेको थियो ।
वि.सं. २०५१ सालमा स्थापना भएको नेकमा स्नातक, स्नातकोत्तर तथा मास्टर्स तहका विभिन्न विषयमा अध्यापन हुने गर्दछ । अहिले कलेजमा करिब २०७८ विद्यार्थीहरु अध्ययनरत छन् ।
0 प्रतिकृया