Follow us:


Follow us

२३ जेठ २०८३, शनिवार
२३ जेठ २०८३, शनिवार


नेपाल इन्जिनियरिङ कलेजलाई ४ वर्षभित्र विश्वविद्यालय बनाउने उद्घोष

एक्सन खबर


नेपाल इन्जिनियरिङ कलेजलाई ४ वर्षभित्र विश्वविद्यालय बनाउने उद्घोष

भक्तपुर । नेपाल इन्जिनियरिङ कलेजलाई इन्जिनियरिङ विधाको विश्वविद्यालयका रुपमा विकास गरिनुपर्ने बताइएको छ । कलेजको २७ औं वार्षिकोत्सवको अवसरमा आयोजित समारोहमा बोल्ने वक्ताहरुले नेपालमा निजी क्षेत्रबाट सामाजिक रुपमा इन्जिनियरिङ शिक्षा दिन सकिन्छ भन्ने उद्देश्यले नेकको स्थापना भएको जनाउँदै अब कलेजलाई विश्वविद्यालय तहमा लैजानुपर्नेमा जोड दिएका हुन् ।

काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापा, जल तथा उर्जा मन्त्रालयका सचिव मणिराज गेलाल, कलेजका संस्थापक हरिप्रसाद पाण्डे, चाँगुनारायण नगरपालिकाका मेयर सोमप्रसाद मिश्र तथा जिल्ला प्रशासन कार्यालय भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरी लगायतले कलेजलाई आफैं प्रमाणपत्र प्रदान गर्ने तहको निकायका रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा.भोला थापाले कलेजको शैक्षिक गुणस्तरको प्रशंसा गर्दै आउँदा दिनमा पिएचडी र मास्टर्स लेवलमा नयाँ कार्यक्रम सञ्चालन गर्नुपर्ने तथा कलेजले सञ्चालन गर्ने शैक्षिक कार्यक्रमबाट स्थानीय तहमा अधिकतम लाभ मिल्नुपर्ने जनाए । ‘नेकको लामो शैक्षिक इतिहासले यसको गुणस्तरीयता दर्शाइसकेको छ । कुनैपनि कलेज बलियो छ भन्नेकुरा उसको पूर्वाधार र आम्दानीले भन्दापनि शैक्षिक, प्राज्ञिक उपलब्धीले निर्धारण गर्छ ।’

शैक्षिक क्षेत्रलाई कसरी अगाडी बढाउने भन्ने कुरा स्थानीय तह तथा राजनीतिक नेतृत्वको भूमिकाबाट निर्धारण हुने बताउँदै चाँगुनारायण नगरपालिकाले कलेज सञ्चालनको जिम्मेवारी लिएर उदाहरणीय कार्य गरेको बताउँदै उनले भने–‘संस्था कसरी चलाउने, कस्तो उद्देश्य लिनुपर्छ भन्ने कुरा राजनीतिक दलहरुले बाटो देखाउनु पर्छ । नेकलाई अगाडी बढाउन चाँगुनारायण नगरपालिकाले जुन प्रकारको मोडलको शुरुवात गर्यो यो आफैंमा अनुकरणीय छ ।’ प्रा.डा. थापाले भने ।

काठमाडौं विश्वविद्यालय र नेक विच शैक्षिक स्तरोन्नतीका लागि सहकार्य गर्नसक्ने बताउँदै उपकुलपति थापाले संस्था राम्रो हुन व्यवस्थापनसँगै शिक्षक, विद्यार्थी र कर्मचारीको उत्तिकै योगदान रहने स्मरण गराए ।

कार्यक्रममा बोल्दै जल तथा उर्जा मन्त्रालयका सचिव मणिराज गेलालले सामाजिक संस्था खडा गरेर गुणस्तरीय इन्जिनियरिङ शिक्षा दिन सकिन्छ भन्ने उदाहरण नेकले दिएको भन्दै कलेजका संस्थापक स्वर्गीय प्रा.डा. दीपक भट्टराईको योगदानको चर्चा गरे । ‘नेकलाई पुल्चोक क्याम्पसपछि मुलुककै उत्कृष्ट इन्जिनियरिङ कलेजका रुपमा लिइन्छ । अब यसको शैक्षिक, प्राज्ञिक ज्ञानको दायरा फराकिलो बनाउन क्वालिटी एजुकेशन, रिसर्चहरु बढाउनु पर्छ ।’ गेलालले भने ।

नेकमा ११ वर्ष प्राध्यापकका रुपमा रहेर काम गरेका गेलालले आउँदा दिनमा आवश्यक भए सरकारी सेवाबाट अवकास पाएपछि पुनः नेकमै आएर सेवा गर्न आफु तयार रहेको जिकीर गरे ।

जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले नेक सामाजिक संस्था भएको र सामाजिक संस्था नै रहने बताउँदै विगतमा केही व्यक्तिहरुले संस्था हडप्न खोजेको र अहिलेपनि उनीहरुको सड्यन्त्र जारी रहेकाले त्यसका विरुद्ध कलेज सञ्चालक, शिक्षक, कर्मचारी र विद्यार्थीहरु विच एकता तथा खबरदारी आवश्यक रहेको जनाए । ‘कलेज निजीकरण गर्नेहरु विरुद्ध हाम्रो एकता अझै आवश्यक छ । यो सामाजिक संस्था हो, सामाजिक संस्थाकै रुपमा रहनुपर्छ ।’ उनले भने ।

पछिल्लो समय चाँगुनारायण नगरपालिकाले नेकलाई संरक्षण गर्न र स्थायित्वका लागि चालेको कदम प्रशंसनीय रहेको बताउँदै राजनीतिक दलहरुले कलेजका विषयमा दलीय स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्ने गेलालको भनाई छ ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीले नेपाल इन्जिनियरिङ कलेज सामाजिक शैक्षिक संस्था नै रहेको बताउँदै त्यसको इतिहासलाई कसैले मेट्न नसक्ने दावी गरे । कलेजलाई निजीकरण गर्नेहरुले पटक–पटक जिल्ला प्रशासनमा आएर दवाव दिएको स्मरण गर्दै सरकारी निकायले सोधखोज गर्दा आफुहरुले प्रष्ट रुपमा ‘नेक सामाजिक संस्था’ नै भएको प्रष्ट्याएको जनाए ।

कलेजका संस्थापक पूर्वमन्त्री हरिप्रसाद पाण्डेले कलेज स्थापनाको इतिहास स्मरण गर्दै कलेजको आम्दानी बचत हुन थालेपछि तत्कालिन सात जना सञ्चालक मध्ये लम्बोदर न्यौपानेले क्वालिटी एजुकेशन भन्दापनि पैसा कमाउने, कलेज हत्याउने उद्देश्य लिएकोले समस्या आएको बताए । ‘हामीले कलेज स्थापना गर्दा प्रष्ट रुपमा यसबाट मुनाफा नलिने भनेर निर्णय गरेका थियौं । तर, निजीकरण गर्न चाहनेहरुले कलेजका महत्वपूर्ण निर्णयहरु गायव बनाए ।’

स्वर्गीय प्रा.डा. दीपक भट्टराईको कलेज स्थापनामा महत्वपूर्ण योगदान रहेको बताउँदै पाण्डेले शुरुका केही वर्ष कलेज घाटामा गएपनि दीपक भट्टराईको पालामै कलेजको भौतिक संरचना निर्माण जग्गा व्यवस्थापन भएको जनाए । ‘दीपक सरले कलेजको आम्दानी पूर्वाधार निर्माण र जग्गा जमिन जोड्न खर्चनुभयो । कुनै समय शिक्षक कर्मचारीलाई तलब दिन धौधौ हुँदा उहाँले श्रीमतीको गरगहना समेत बेचेर तलव खुवाउनु भएको छ ।’ उनले भने ।

स्वर्गीय भट्टराईको योगदानको चर्चा गर्दै इन्जिनियरिङ पढ्ने विद्यार्थी नै कम हुने बताउँदै भएका विद्यार्थीबाट पनि थोरै शुल्क लिँदा कलेज घाटामा गएकोले २०६७ सालपछि ५२ प्रतिशत शुल्क बृद्धि गरेर कलेजलाई मुनाफामा लगिएको जनाए । ‘०६७ सालपछि कलेजको शुल्क बृद्दि भएर पैसा बचत हुन थाल्यो । विद्यार्थीहरु पनि बढ्दै गए । तर, कलेजको कार्यकारी पदमा आएका लम्बोदर न्यौपानेको नियत ठिक भएन ।’ पाण्डेले अगाडी भने–‘उनी कलेजको शैक्षिक गुणस्तर बढाउन भन्दापनि कसरी हुन्छ कलेज हत्याउने, पैसा कमाउने योजनामा लागे ।’

लम्बोदर न्यौपानेको सड्यन्त्र र कलेज हत्याउने योजना असफल पार्न दीपक भट्टराई, कलेज निजीकरणको विपक्षमा रहेका शिक्षक, कर्मचारी, विद्यार्थी, स्थानीय, राजनीतिक नेतृत्वले अहम् भूमिका खेलेको चर्चा गर्दै पाण्डेले अब कलेजलाई विश्वविद्यालय, प्रतिष्ठानका रुपमा अगाडी बढाउन सल्लाह दिए । ‘त्यसबेला हामीले यो कलेजलाई देशका ५ वटै विकास क्षेत्रमा पुर्याउने लक्ष्य लिएका थियौं । अब त्यो बेला आएको छ । म मेयर ज्यूलाई कलेज सञ्चालनबाट बचत भएको पैसाले अरु कलेज खोल्न र यसको शैक्षिक उन्नयनमा खर्च गर्न सल्लाह दिन्छु ।’

पोखरा विश्वविद्यालयका प्रतिनिधि अर्जुन गौतमले नेपालको इन्जिनियरिङ शिक्षामा नेक ब्राण्ड बन्न सफल भएको बताउँदै विचमा केही अफ्टेरा परिस्थितिहरु सृजना भएपनि कलेजको शैक्षिक गुणस्तर कमजोर नभएको बताए । कलेजको शैक्षिक गुणस्तर कायम गर्न व्यवस्थापन, फ्याकल्टी, कर्मचारी तथा विद्यार्थीहरुले कठोर मेहनत गरेको भन्दै विश्वविद्यालय कलेजलाई जस्तोसुकै सहयोग गर्न तत्पर रहेको बताए ।

कलेजका शिक्षक प्रतिनिधि सह–प्राध्यापक धर्मराज बगालेले इन्जिनियरिङ सरकारी क्षेत्रमा मात्र पढाई हुने समयमा नेकले निजी क्षेत्रबाट गैरनाफामुलक रुपमा कलेज चलाउन सकिन्छ भन्ने अवधारणा ल्याएको चर्चा गर्दै कलेज सञ्चालनमा शिक्षक, कर्मचारी विद्यार्थी र व्यवस्थापन एक अर्काविच सहकार्य गरेर अगाडी बढ्नुपर्नेमा जोड दिए । कलेज सञ्चालकले शिक्षकहरुको वृत्ति विकासका लागि नियमित रुपमा तालिम, सेमिनार तथा गोष्ठीहरु गर्नुपर्ने, समयमै पदोन्नति, बढुवा गर्नुपर्नेमा भन्दै उनले कलेजलाई सामाजिक संस्थाकै रुपमा राख्न आफुहरु एकबद्ध रहेको जनाए ।

कर्मचारी संघर्ष समितिका संयोजक मनोहर खनालले कलेज सामाजिक संस्थाकै रुपमा सञ्चालन हुनेमा आफुहरु ढुक्क रहेको भन्दै कलेजलाई नेपालकै शैक्षिक हब बनाउन व्यवस्थापन सक्रिय हुनुपर्ने बताए । खनालले हिजोको कहालीलाग्दो संघर्ष सम्झँदै कलेजलाई निजीकरण गर्नेहरुका विरुद्ध आफुहरु खबरदारी गरिरहने प्रतिबद्धता जनाए ।

कलेज सञ्चालक समितिका अध्यक्ष सोमप्रसाद मिश्रले आगामी ४ वर्षभित्र नेकलाई विश्वविद्यालयको तहमा लैजाने घोषणा गरे । आउँदो ४ वर्षभित्र कलेजलाई इन्जिनियरिङ विश्वविद्यालय, कुनै विश्वविद्यालयको आंगिक कलेज या इन्जिनियरिङ प्रतिष्ठानका रुपमा विस्तार गर्ने योजना रहेको बताए । ‘आउँदो ४ वर्षभित्र नेकलाई कि विश्वविद्यालय बनाउँछौं, नभए कुनै विश्वविद्यालयको आंगिक कलेज बनाउँछौं वा स्वास्थ्य प्रतिष्ठानहरु जस्तो आफैं सर्टिफिकेट प्रदान गर्नेगरी स्वायत्त इन्जिनियरिङ प्रतिष्ठान बनाउने छौं ।’ मिश्रले भने ।

कलेज निजीकरण हुन्छ कि भन्ने त्रास र अन्यौलतामा रहेका शिक्षक कर्मचारीलाई संवोधन गर्दै मिश्रले कलेज कुनैपनि हालतमा निजीकरण नहुने दावी गरे । ‘मैले विगत ४ वर्षदेखि भन्दै आएको कुरा हो, आजपनि भन्दैछु । तपाईंहरु कलेजको शैक्षिक गुणस्तर सुधार्न लाग्नोस्, पठन–पाठनमा लाग्नोस् । कलेज सञ्चालन सँगका सबै प्रकारका लडाईं हामी लड्छौं । हामी कुनैपनि हालतमा कलेज निजीकरण गर्न दिँदैनौं ।’

संघीय सरकारको शिक्षा मन्त्रालयले कलेज सञ्चालनको मोडालिटी बनाएर नगरपालिका मातहतमा ल्याइसकेको तथा चाँगुनारायण नगरपालिकाको आठौं नगरसभाले पनि कलेज सञ्चालनको कार्याविधि पासगरी स्थानीय राजपत्रमा समेत प्रकाशित गरिसकेकोले अब कुनैपनि अवस्थामा पछाडी फर्केर जानु नपर्ने अध्यक्ष मिश्रको दावी छ । ‘यो ४ वर्ष कलेज जोगाउन धेरै लडाईं लडियो अब अरु ४ वर्ष लड्नु पर्ला तर, यो कलेजलाई निजीकरण हुन दिँदैनौं ।’ चाँगुनारायण नगरपालिकाका मेयरसमेत रहेका मिश्रले कलेजको भौतिक पूर्वाधार निर्माण गर्न नगरपालिकाले कलेजलाई सार्वजनिक पर्ती जग्गा उपलब्ध गराउने समेत बताए ।

सो अवसरमा कलेजका प्रिन्सिपलले वर्षभरी कलेजले गरेका शैक्षिक तथा सामाजिक कार्य विवरण संक्षिप्त रुपमा पेश गर्दै कलेजको शैक्षिकस्तर सुधार्न र जिवनोपयोगी शिक्षा प्रदान गर्न कलेज प्रतिबद्ध रहेको बताएका थिए ।

वार्षिकोत्सव समारोहमा प्रमुख अतिथि, विशिष्ट अतिथि लगायतले २० वर्षदेखि कलेजमा सेवारत प्राध्यापक तथा कर्मचारीहरुलाई सम्मान गरिएको थियो । भने, कलेजको अतिरिक्त कृयाकलाप र विश्वविद्यालयको परीक्षामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पनि सम्मान गरिएको थियो ।

यसैगरी, कोरोना संक्रमणका बेला कलेजमा कोभिड आइसोलेसन केन्द्र सञ्चालन गर्न महत्वपूर्ण योगदान पुर्याए वापत कलेजका कर्मचारी मनोहर खनाललाई पनि सम्मान गरिएको छ । भने, कलेजका संस्थापकहरु हरिप्रसाद पाण्डे र इन्जिनियर सलिल भट्टराईलाई सम्मान गरिएको छ । यसका अलावा नेपाल इन्जिनियरिङ काउन्सिलबाट प्रोफेनल इन्जिनियरिङ सर्टिफिकेट प्राप्त गर्न सफल प्रिन्सिपल प्रा.डा. हरिकृष्ण श्रेष्ठ र प्राध्यापक तुसिता चाँंदनी शाहलाई पनि सम्मान गरिएको थियो ।













0 प्रतिकृया