नेकको युनिभर्सल टेस्टिङ मेसिनमा अत्याधुनिक सफ्टवेयर अपग्रेड
एक्सन खबर
काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजको सिभिल इन्जिनियरिङको प्रयोगशालाको युनिभर्सल टेस्टिङ मेसिनमा अत्याधुनिक सफ्टवेयर अपग्रेड गरीएको छ । सिभिल इन्जिनियरिङमा फलामे डण्डीहरुको क्वालिटी तथा भारवहन क्षमता जाँच गर्न प्रयोग हुने युनिभर्सल टेस्टिङ मेसिनमा लेटेस्ट सफटवेयर अपग्रेड गरिएको हो ।
कलेजका सिभिल इन्जिनियरिङ विभागका प्रमुख इ. अजय खड्काले १२ वर्षअघि भित्र्याएको मेसिनमा नयाँ सफ्टवेयर अपग्रेड गरिएको बताए । ‘यो युनिभर्सल टेस्टिङ मेसिन हामीले सन् २००९ मै ल्याएपनि त्यसबेला सफ्टवेयर मेन्टेन नभएकाले म्यान्युवल्ली मात्र चलाइरहेका थियौं । हिजोबाट सिस्टम अपग्रेड गरिएको हो ।’ उनले भने ।
सन् २००९ मा कलेजले १० लाख लागतमा भारतबाट ल्याएको युनिभर्सल टेस्टिङ मेसिनले निर्माणजन्य क्षेत्रमा प्रयोग हुने फलामे डण्डीहरुको भारवहन तथा गुणस्तर मापन गर्न सकिन्छ । बजारमा विभिन्न कम्पनीहरुका फलामे छडहरु मापदण्ड अनुसार छन् कि छैनन् ? तिनीहरुको क्वालिटी कस्तो छ ? यस मेसिनले छुट्याउन सक्नेछ ।
कलेजले सिभिल इन्जिनियरिङका विद्यार्थीहरुको प्रयोगात्मक शिक्षण विधिमा प्रयोग गर्न युनिभर्सल टेस्टिङ मेसिनलाई अपग्रेड गरेको हो । १२ वर्ष अगाडी कलेजले यस्तो अत्याधुनिक टेस्टिङ मेसिन ल्याउँदा मुलुकका केही सिमित इन्जिनियरिङ कलेजमा युनिभर्सल टेस्टिङ मेसिन थिए । ‘त्यसबेला त यो मेसिन नेपालको कन्टेस्टमा अत्याधुनिक थियो । प्राविधिक कारणले सफ्टवेयर अपग्रेड गर्न सकेका थिएनौं । हिजो भारतबाट एकजना प्राविधिक बोलाएर सिस्टम अपग्रेट गरेका हौं ।’ अब सिभिल इन्जिनियरिङका विद्यार्थीले युनिभर्सल टेस्टिङ मेसिनबाट प्राक्टिस गर्न सक्छन् ।’ कलेजका प्रिन्सिपल प्रा.डा. हरिकृष्ण श्रेष्ठले भने ।
विद्यार्थीलाई आधुनिक प्रणालीसँग सात्क्षात्कार गराउँदै इन्जिनियरिङ शिक्षा प्रदान गर्न नेक सदैव तत्पर रहेको प्रिन्सिपल डा. श्रेष्ठले बताए । नेकबाट इन्जिनियरिङ गरेका हज्जारौं दक्ष जनशक्ति अहिले स्वदेश तथा विदेशका प्रतिष्ठित संस्थामा आबद्ध भएका छन् ।
नेपाल इन्जिनियरिङ कलेजले इन्जिनियरिङ विधाका विभिन्न विषयमा अध्ययन अध्यापन हुँदै आएको छ । सन् १९९४ मा सामाजिक शैक्षिक संस्थाका रुपमा स्थापना भएको कलेज पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त छ । त्यसो त, नेपालमा निजी क्षेत्रको लगानीमा गैरनाफामुलक तवरले सर्वसाधारणलाई इन्जिनियरिङ शिक्षा दिन सकिन्छ भन्ने उदाहरण नेकले प्रस्तुत गरेको छ ।
0 प्रतिकृया