नेपाल मेडिकल कलेजको २२ औं वार्षिकोत्सवः अन्सारीको प्रवेशसँगै स्वास्थ्य र प्रशासनिक सेवामा उल्लेख्य सुधार
एक्सन खबर
काठमाडौं । नेपाल मेडिकल कलेज प्रा.लि.को २२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बुढानिलकण्ठ स्थित होटल पार्क भिलेजमा आज सम्पन्न साधारण सभाको कम्पनीका अध्यक्ष डा. भोला रिजालले २२ औं वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै पछिल्लो समय कलेजको स्वास्थ्य सेवा, प्रशासनिक सेवा लगायतमा उल्लेखनीय सुधार भएको बताए ।
विरगञ्जको नेशनल मेडिकल कलेजलाई सफल रुपमा स्थापित गरेका बसरुद्धिन अन्सारीको कलेजमा प्रवेश भएसँगै स्वास्थ्य सेवा र प्रशासनिक सेवामा उल्लेख्य सुधार आएको पनि बताए । विगतका केही वर्ष कलेजमा आन्तरिक व्यवस्थापन कमजोर भएको स्मरण गर्दै डा. रिजालले कुनैपनि संस्था सफल हुनुको पछाडी कर्मचारीसँगै त्यसको नेतृत्व र कार्यकारी प्रमुखको भूमिका महत्वपूर्ण हुने प्रष्ट भएको बताए ।
वार्षिक साधारण सभामा उपस्थित सञ्चालक, शेयरधनीहरुलाई स्वागत गर्दै कलेजका सञ्चालक सदस्य प्रा.डा. जैनुद्विन अन्सारीले नेपाल मेडिकल कलेजलाई नेपालकै नमुना स्वास्थ्य संस्था बनाउने अभियानमा आफुहरु रहेको बताए । कलेजलाई सफल र सवल बनाउन सञ्चालक, शिक्षक, कर्मचारी तथा विद्यार्थीको मनोभावना मिल्नुपर्ने जनाउँदै डा. अन्सारीले कलेजको उद्देश्य प्राप्तिमा सबैले आ–आफ्नो भूमिका इमान्दारिताका साथ निर्वाह गर्नुपर्नेमा जोड दिए ।
अर्का सञ्चालक डा. आनन्द प्रसाद श्रेष्ठले नेपालको स्वास्थ्य तथा मेडिकल शिक्षामा नेपाल मेडिकल कलेजको गर्विलो इतिहास रहेको चर्चा गर्दै विचमा केही व्यवधानहरु आइपरेता पनि अहिले नयाँ टीम भित्रिएसँगै उल्लेखनीय सुधार भएको जनाए । मेडिकल कलेजको स्वास्थ्य सेवातर्फ उल्लेखनीय प्रगति भएको जनाउँदै डा. श्रेष्ठले आउँदा दिनहरुमा विशिष्टीकृत सेवाहरु प्रवाहमा जोड दिइने बताए ।
संस्थाका प्रबन्ध निर्देशक बसरुद्धिन अन्सारीले कुनैपनि संस्था सफल हुन कर्मचारी, सञ्चालकको भूमिका सदैव रचनात्मक र सकारात्मक हुनुपर्ने बताए । विगतमा कलेजको अवस्था मुल्यांकन गर्नुभन्दा पनि भावी उद्देश्य प्राप्तिमा सबै सकारात्मक भिजन दिएर अगाडी बढ्नु पर्ने जनाए । आफुले कलेजको व्यवस्थापन सम्हाल्दै गर्दा शिक्षक, कर्मचारी, विद्यार्थी तथा सञ्चालक सदस्यहरुले देखाएको विस्वास र भरोसाका लागि धन्यवाद दिए ।
मेडिकल कलेज भएकोले मुलकका लागि अपरिहार्य दक्ष जनशक्ति उत्पादनमा कुनै सम्झौता नगर्ने, स्वास्थ्य सेवातर्फ बर्तमान विश्व बजारमा विकास भएका नयाँ स्वास्थ्य प्रविधिहरु भित्र्याउने, विशिष्टीकृत सेवाहरु सञ्चालन गर्ने योजना बनाइएको जनाए । आम जनतालाई सर्वसुलभ शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न नेपाल मेडिकल कलेज प्रतिबद्ध रहेको जनाउँदै शेयर सदस्य तथा सञ्चालक सदस्यहरुबाट रचनात्मक सल्लाह सुझाव र सहयोगको अपेक्षा गरे ।
पछिल्लाे समय कलेजकाे स्वास्थ्य सेवा तर्फ इरमजेन्सी, जनरल ओपिडी, वार्ड तथा ल्याव सेवामा गुणस्तरीय सुधार भएको छ । स्वास्थ्य सेवामा जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न दक्ष जनशक्तिको ब्यवस्थापन गरिएको छ ।
२२ वर्षअघि आम नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै चिकित्सा क्षेत्रमा देशका लागि दक्ष जनशक्ति उत्पादन गर्ने हेतूले स्वर्गीय सच्चेबहादुर पहारीको नेतृत्वमा स्वर्गीय अञ्जनी कृष्ण श्रेष्ठ, स्वर्गीय इन्जिनियर दीपक भट्टराई लगायतको टीमले नेपाल मेडिकल कलेजको स्थापना गरेका थिए ।
राजधानी उपत्यकाबासी तथा उपत्यकासँग जोडिएका जिल्लाहरु नुवाकोट, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, मकवानपुर लगायत जिल्लाहरुका जनतालाई सर्वसुलभ शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा दिँदै आएको कलेजले अहिले एक मधेश प्रदेश र बागमती प्रदेश भरीका जनतालाई सेवा दिइरहेको कलेजका हस्पिटल इन्चार्ज दिलिप साहले जानकारी दिए ।
0 प्रतिकृया