कहाँ पुग्ने सरकारकै नीति छैन : केपी शर्मा ओली
एक्सन खबर
काठमाडौं, १२ जेठ । नेकपा एमाले अध्यक्ष केपी ओलीले आफ्नो पार्टी सत्यसँग नलड्ने र शक्तिसँग नझुक्ने बताएका छन् । प्रतिनिधिसभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा बिहीबार सहभागी हुँदै ओलीले एमाले सत्यसँग नलड्ने र शक्तिसँग नझुक्ने बताएका हुन् ।
सरकारको संयन्त्र प्रयोग निर्वाचनमा धाँधली गरेको आरोप लगाउँदै ओलीले सत्यको सधैँ जित हुने बताए । एमाले कुनै शक्तिसँग नझुक्ने र सत्यसँग नलड्ने दोहोर्याउँदै उनले सधैँ सत्यको जित हुने बताए ।
नीति तथा कार्यक्रम चास्नीमा नडुबाएको जेरी जस्तो
अध्यक्ष ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रम चास्नीमा नडुबाएको तेल मात्र तारेको जस्तो रहेको टिप्पणी गरेका छन् । ‘नीति तथा कार्यक्रम वर्णमालाका अक्षरहरू भित्र रहेर हेर्दा व्याकरणीय र वाक्य अशुद्धता, संगति नमिल्नु, चास्नीमा नडुबाएको तेलमात्र तारेको जेरी जस्तो, खल्लो, झुल्टिएको, चास्नीमा हाल्न नभ्याएको, अर्थ ननिस्कने छ,’ उनले भने, प्रस्थान विन्दु के हो ? आदि के हो, मध्य के हो ? थाहा छैन ।’
सरकार नै जेरी जस्तो रहेको भन्दै उनले भने, ‘सरकारकै नीति छैन । जेरीजस्तो गुजुल्टिएको, गन्तव्य नभएको । कुनै नीति छैन कहाँ पुग्ने ।’ सरकारको नै नीति र गन्तव्य नै नभएको उनको आरोप छ ।
निर्वाचनमा प्रतिपक्षी दलमाथि सरकार निर्मम
ओलीले स्थानीय तह निर्वाचनमा सरकार प्रतिपक्षी दलमाथि निर्मम ढंगले प्रस्तुत भएको आरोप लगाए । सरकार र सत्तारुढ दलका कार्यकर्ता चुनावमा बुथ कब्जा गर्नेदेखि प्रतिपक्षी दलका कार्यकर्तामाथि आक्रमणमा उत्रिएको दावी गरे। सत्तारुढ दलका कार्यकर्ता र सरकारले प्रतिपक्षी दलका कार्यकर्तामाथि आक्रमणमा उत्रिने प्रहरीलाई नै परिचालन गरेको ओलीको आरोप छ ।
धाँधलीपूर्ण निर्वाचन गराएको बताउँदै उनले प्रमुख प्रतिपक्षी दलका कारण कुनै पनि केन्द्रको निर्वाचन स्थगित नभएको दाबी गरे । ‘प्रतिपक्षी दलका कारण कतै पनि निर्वाचन स्थगित भएन,’ ओलीले भने, ‘तर, राज्य संयन्त्र प्रयोग गरेर निर्वाचनमा धाँधली गरियो । पञ्चायतकालमा पनि नभएको धाँधली यसपटक गरियो ।’
प्रतिपक्षी दल सकाउने गरी सत्तारुढ गठबन्धन चुनावमा होमिएको आरोप लगाउँदै उनले लोकतन्त्रको मूल्यमान्यतामा रहने एमालेलाई सकाउने गरी गठबन्धन लागेको आरोप लगाए ।
वाइडबडी र सुनकाण्ड छानबिन गर्न सरकारलाई चुनौती
यस्तै, ओलीले वाइडबडी र ३३ किलो सुन काण्डको छानबिन गर्न सरकारलाई चुनौती दिएका छन् ।
आफूमाथि भ्रष्टाचार र अनियमितताको आरोप लगाइएको र रिजर्भ बैंकमा पैसा राखेको आरोपको जवाफ दिँदै ओलीले भने, ‘मेरो र मेरो श्रीमतीको चलअचल सम्पत्ति राज्यको नाममा गरेको छु ।’ आफूले रिजर्भ बैंकमा पैसा नराखेको बताएका ओलीले भने, ‘एक विद्वानले मैले रिजर्भ बैंकमा पैसा राखेको भन्नुभयो । रिजर्भ बैंकले पनि सुनोस्, त्यो पैसा उनै आरोप लगाउने विद्वानको नाममा गरिदिए हुन्छ ।’
आफूमाथि भ्रष्टाचार र अनियमितताको आरोप लगाउनेलाई आफ्नो चलअचल सम्पत्ति राज्यको नाममा गर्न ओलीले चुनौती दिए । ‘ममाथि औंला ठड्याउनुभन्दा अगाडि कुनै महानुभाव निस्कनुस् न राज्यमा नाममा सम्पत्ति हस्तान्तरण गर्ने । केपी ओलीलाई मुखभरिको जवाफ दिन भने पनि सम्पत्ति राज्यको नाममा गरेको यही संसदबाट घोषणा गर्नुस् त । म सम्माननीय पूर्वप्रधानमन्त्रीज्यूहरू मलाई घुमाइफिराइ छेड हान्नुहुन्छ । म भन्न चाहन्छु-गर्नुस् न तपाईहरु पनि राष्ट्रको नाममा, ट्रष्टको नाममा आफ्नो सम्पत्ति हस्तान्तरण । मेरो कतै पनि भएको चलअचल सम्पत्तिमा लोभ गर्नुपर्ने, अर्काेको नाममा राखेर बदनामी हुनुपर्ने कारण छैन । मैले सबै सम्पत्ति राज्यलाई दिएको छु ।’
प्रतिनिधिसभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुने क्रममा ओलीले आफू अस्वस्थ रहेको जानकारी दिएका थिए । छलफलमा भाग लिने क्रममा उनले आफू अस्वस्थ रहेकाले बसेर सम्बोधन गर्न सभामुख अग्निप्रसाद सापकाेटासँग अनुमति मागेका थिए । ‘म अस्वस्थ भएकाले आज बसेर सम्बोधन गर्नेछु,’ उनले भने ।
बुधबार बसेकाे एमाले संसदीय दलकाे बैठकले सरकारले ल्याएकाे नीति तथा कार्यक्रममाथि सूक्ष्म ढंगले केस्रा केस्रा केलाएर संसदमा प्रस्तुत हुन आफ्ना सांसदलाई निर्देशन दिएकाे थियाे ।
0 प्रतिकृया