Follow us:


Follow us

६ वैशाख २०८३, आइतवार
६ वैशाख २०८३, आइतवार


निजगढ टाँगियाबस्तीको पीडा कसले सुन्ने ?

एक्सन खबर


निजगढ टाँगियाबस्तीको पीडा कसले सुन्ने ?

इन्दिप कोइराला
बारा, ११ जेठ । बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने चर्चासँगै टाँगियाबस्ती भौतिक पूर्वाधारको सुविधाबाट बन्चित हुन पुगेको छ । सरकारले महत्त्वकांक्षी राष्ट्रिय परियोजनाका रूपमा रहेको निजगढमा बनाउने भनिएको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कार्य सुरु भएको छैन भने टाँगियाबस्ती भौतिक पूर्वाधारको विकासबाट बन्चित हुन पुगेको छ ।

टाँगियाबस्तीका स्थानीय भत्किएका घर बनाउन पनि आँट गर्न सकेका छैनन्। सरकारले टाँगियाबस्तीलाई अन्यन्त्र स्थानान्तरण गर्ने भनिएपछि स्थानीयले आफ्नै घर बनाउनसमेत पाएका छैनन् । जस कारण जीर्ण बनेका घरमा बस्न बाध्य छन् ।

टांगियामा विकास निर्माणको काम ठप्प छ । खानेपानी, विद्युत्, सडक र शैक्षिक पूर्वाधार विमानस्थलको योजनाकै कारण बन्न सकेको छैन । निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बन्ने चर्चासँगै रमाएका बारा जितपुरसिमरा उपमहानगरपालिका–१६ टाँगियाबस्तीका बासिन्दाको खुसी भने आजकल हराउँदै गएको स्थानीय लक्ष्मी गोलेले जानकारी दिइन् ।

सरकारले टाँगियाबस्तीलाई बेवास्ता गरेको स्थानीयको गुनासो छ । ‘हामीलाई व्यवस्थापन गर्न सरकारले कुनै चासो दिएन । अब हामीलाई विमानस्थल निमाण होइन, यही ठाउँको लालपुर्जा र विकास चाहिन्छ,’ टाँगियाबस्ती सराेकार समितिका संयोजक रमेश सापकोटाले बताए ।

विमानस्थल क्षेत्रभित्र रहेको मध्ये टाँगिया सबै भन्दा ठुलो बस्ती हो । ८ हजारभन्दा बढी जनसंख्या बसोबास रहेको बस्ती करिव ६५० बिघा क्षेत्रमा फैलिएको छ ।

तामागढी क्षेत्रको जंगल फडानीपछि रोपिएका बिरुवा गोडमेलसँगै बालीसमेत लगाउन पाउने गरी वन कर्मचारले २०३१ सालतिर सिन्धुली, रामेछाप, काभ्रे लगायत जिल्लाका सुकुम्बासीलाई ल्याएर बस्ती बसाएका थिए । बिरुवा हुर्केपछि अन्यत्र सार्ने भनिए पनि तत्काल उचित प्रवन्ध हुन नसक्दा बस्तीले स्थायी रुप लिएको थियो ।

निजी लगानीसम्बन्धी परियोजना समन्वय समितिको माघ २०६४ को सिफारिसअनुसार सरकारले त्रिवर्षीय योजना ०६४/६७ मा नेपाल प्रवेश गर्ने वैकल्पिक अन्तर्राष्ट्रिय हवाई मार्गका लागि  निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने घोषणा गरेको थियो ।













0 प्रतिकृया