Follow us:


Follow us

५ वैशाख २०८३, शनिवार
५ वैशाख २०८३, शनिवार


धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ निर्वाचित

एक्सन खबर
जेठ, ८, २०७९


धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ निर्वाचित

धरान । धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ भारी भतका साथ निर्वाचित भएका छन् । बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा कांग्रेस गठबन्धनका उम्मेदवार किशोर राईलाई ४७६२ मतान्तरले पराजित गर्दै साम्पाङ निर्वाचित भएका हुन् ।

निर्वाचन अधिकृतको कार्यालय धरानले आज अपरान्ह धरान उपमहानगरपालिकाको मेयरमा लौरो चिन्हधारी हर्क साम्पाङ निर्वाचित भएको घोषणा गरेको छ । साम्पाङले २०८२१ मत प्राप्त गर्दा निकटतम प्रत्यासी उम्मेदवार कांग्रेसका किशोर राईले १६०६९ मत मात्र प्राप्त गरेका छन् ।

नेकपा एमालेकी उम्मेदवार मञ्जु भण्डारी १२८२५ मत ल्याएर तेश्रो स्थानमा झरिन् । ०७४ सालको स्थानीय तहको निर्वाचनमा उनी उपमेयरमा विजयी भएकी थिइन् । भण्डारी मेयरका उम्मेदवार साम्पाङसँग ८९९६ मतले पछि रहिन् ।

उपमेयरमा भने गठबन्धन दलमा रहेका नेकपा माओवादी केन्द्रका उम्मेदवार आइन्द्रविक्रम वेघा निर्वाचित भएका छन् । एमालेका पद्मप्रसाद इस्वोलाई २९०४ मतान्तरले पराजित गरे । बेघाले २०५१० मत प्राप्त गर्दा इस्वोले १७६०६ मत प्राप्त गरेका छन् ।

यस पटक धरानबासीले भिड र जुलुस भन्दापनि एजेण्डा हेरेर उम्मेदवार छनौट गरेका छन् । कांग्रेस, एमालेले रंगीन घोषणापत्रमा ठूल्ठूला विकासे एजेण्डाहरु लेखेतापनि धरानबासीले पत्याएनन् । बरु टेम्पोमा सामान्य माइक लगाएर एक्लै धरानका २० वटै वडाका चौकचौक गल्लीगल्ली घुम्ने साम्पाङलाई विस्वास गरे ।

धरानको खानेपानी समस्यासँगै विभिन्न विक्रिति विसंगति विरुद्ध १० वर्षदेखि अनवरत एक्लै आवाज उठाउँदै आएका साम्पाङले धरानको खानेपानी समस्या समाधान गर्ने आफ्नो प्रमुख एजेण्डा रहेको बताएका छन् ।

आइतबार निर्वाचन अधिकृतको कार्यालयले अन्तिम मतपरिणाम सार्वजनिक गर्ने तयारी गर्दागर्दै स्थानीय धरानबासीको जितको शुभकामना थापिरहेका साम्पाङले धरानबासीलाई स्वच्छ खानेपानी खुवाउन नसके एक मिनेटपनि पदमा नबस्ने प्रतिबद्धता जनाएका छन् । साथै, धरान बस्ने नैतिक आधार पनि आफुसँग नरहने भन्दै साम्पाङले धरान नै छाडेर जाने सम्मको प्रतिबद्धता जनाए ।

‘जुन समस्यासँग १० वर्षदेखि लडिरहेको छु त्यही समाधान गर्न सकिन भने मलाई मेयरको कुर्सीमा बस्ने अधिकार छैन । खानेपानी समस्या समाधान गर्न नसकेको दिन पदबाट राजिनामा दिन्छु एकहप्ताभित्र धरान छाड्छु ।’ बैदेशिक रोजगारीको सिलसिलामा ७ वर्ष इराक, अफगानिस्तानमा विताएका जनताप्रति सरल नेतृत्वप्रति कठोर स्वभावका उनले भने ।

साम्पाङले धरानकाे समग्र विकाका लागि आफु सबैसँग सहकार्य गर्न तत्पर रहेकाे बताउँदै राजनीतिक दलका नेताहरूसँग सहयाेग गर्न अनुराेध गरे ।













0 प्रतिकृया