इटहरीको मेयरमा कांग्रेसका पाैडेल र उपमेयरमा एमालेकी चाैधरी निर्वाचित
एक्सन खबर
काठमाडौं, ८ जेठ । सुनसरीकाे इटहरी उपमहानगरपालिका मेयरमा नेपाली कांग्रेसका हेमकर्ण पौडेल निर्वाचित भएका छन् । उनी एमालेका यामकुमार चुङ्गवाङ सुब्बालाई ५ हजार १८ मतान्तरले हराएर मेयर बनेका हुन् ।
पौडेलले ३३ हजार ४९ मत ल्याउँदा सुब्बाले २८ हजार ३१ मत पाए । राप्रपाकाे आकाश लिम्बुले ३ हजार ९ सय ८ मत पाए ।
उपमेयरमा एमालेकी संगीताकुमारी चौधरी विजयी भएकी छन् । सत्ता गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका केशवकुमार विष्टलाई हराउँदै चौधरी उपमेयरमा निर्वाचित भएकी हुन् । चाैधरीले ३२ हजार ४ सय ३६ मत पाउँदा विष्टले १८ हजार ३१ मत पाए ।
बैशाख ३० गते सम्पन्न स्थानीय तहकाे निर्वाचनमा इटहरी उपमहानगरमा ७३ हजार ८ सय ३२ मत खसेकाे थियाे । इटहरीमा २०४६ साल यता नेपाली कांग्रेसले पहिलाे पल्ट जित निकालेकाे हाे ।
नेकपा एमालेले २०४९ सालमा गाउँ विकास समिति हुँदा र इटहरी नगरपालिका भएपछि २०५४ सालको निर्वाचन जितेकाे थियो । भने, २०७१ सालमा उपमहानगरपालिका घोषणा भएपछि २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि एमालेले विजय हासिल गरेको थियो ।
काे हुन् पाैडेल ?
नेपाली कांग्रेसकाे राजनीति गर्ने हेमकर्ण पाैडेलकाे जन्म २०३५ साल साउन ५ गते झापा कोरोबारीमा भएकाे हाे । २०५४ सालमा जनता क्याम्पसको स्ववियु सभापतिमा जितेका थिए ।
इटहरीमा हेमकर्णकाे उदय हुनुमा उनकाे बाेली व्यवहार पनि रहेकाे छ । स्पष्टावक्ता, साना–ठुला सबै उमेरकासँग शालिन रूपमा प्रस्तुत हुने पौडेललाई इटहरीबासीले जिउँदाको जन्ती र मर्दाको मलामीका रूपमा हेर्ने गरेका छन् ।
उनी सामाजिक क्षेत्रमा पनि सक्रिय रहेकाले कांग्रेसीकाे मात्र नभएर नेकपा एमालेकाे समेत मतबाट निर्वाचित भएका हुन् । पौडेलले नेपाल विद्यार्थी संघबाट राजनीति सुरू गरेका हुन् । नेपाल विद्यार्थी सङ्घ सुनसरी सदस्य (२०५५) तरुण दल सुनसरीको सचिव हुँदै २०५७ सालपछि नेपाली काङ्ग्रेस इटहरी नगर सभापति (निर्विरोध) तथा (दुई कार्यकाल निर्वाचित) व्यक्ति हुन् ।
0 प्रतिकृया