जेठ ५ गतेभित्र मतगणना सक्ने आयोगको तयारीः प्रमुख आयुक्त
एक्सन खबर
धरान । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले सबै स्थानीय तहको मतगणना जेठ ५ गतेभित्र सम्पन्न गर्ने बताएका छन् । प्रदेश १ को मोरङका केही मतगणना स्थलको निरीक्षण गर्न आएका आयुक्तले धरानको निरीक्षण गर्दै जनशक्ति थप गरेर भएपनि ५ गतेभित्र मतगणना सम्पन्न गर्ने बताएका छन् ।
प्रदेश १ को इटहरी, सुन्दरहरैंचा लगायतका स्थानमा समेत मतगणनामा ढिलाई भएकोमा दलहरु लगायत सबैको सहयोग लिएर जनशक्ति थप गरेर भएपनि समयमै रिजल्ट सार्वजनिक गर्ने बताए । इटहरी, सुन्दर हरैंचा लगायतका स्थानमा दोब्बर जनशक्ति थप गर्ने तथा आवश्यक श्रोत साधनहरु उपलब्ध गराउने पनि बताए ।
उनले सिसिटिभी नभएको स्थानमा मतगणना नरोकिने पनि प्रष्ट्याएका छन् । ‘सिसिटिभी नभएका कतिपय स्थानमा सौहार्दपूर्ण अवस्थामा मतगणना भएर विजयी भएकाले सपथ ग्रहण गर्ने बेला भइसक्यो । सिसिटिभी हुँदा र नहुँदामा मतपरिणाम फरक हुँदैन ।’ उनले भने ।
कतिपय स्थानहरुमा स–साना विषयमा विवादहरु निकालेर मतगणना रोकिइरहेको अवस्थामा सहजीकरण गरेर जाने बताउँदै विना आधार आरोपहरु लगाएर आयोगको निष्पक्षतामा प्रश्न नउठाउन पनि उनले आग्रह गरेका छन् । निर्वाचन निष्पक्ष रहेको बताउँदै नेकपा एमालेले लगाएको आरोप निराधार रहेको पनि रहेको बताए ।
नेकपा एमालेले विज्ञप्ति जारी गर्दै आयोगले गरेको निर्वाचनमा प्रश्न उठाएको थियो ।
0 प्रतिकृया