नेक हल्ट प्राइजका विजेतालाई पुरस्कार वितरण
एक्सन खबर
भक्तपुर । नेपाल इन्जिनियरिङ कलेज (नेक) अन्तरगत हल्ट प्राइजका विजेतालाई पुरस्कार वितरण गरेको छ । सोमबार कलेजमा आयोजित एक कार्यक्रममा प्रमुख अतिथी कलेज सञ्चालक समितिका अध्यक्ष चाँगुनारायण नगरपालिकाका मेयर सोम प्रसाद मिश्र तथा कलेजका प्रिन्सिपल प्रा.डा. हरिकृष्ण श्रेष्ठले हल्ट प्राइज कलेज संस्करणका विजेता तथा नेपालबाट रिजनल प्रतिष्पर्धामा छनौटमा पर्न सफल भएका टीमलाई नगद तथा विभिन्न पुरस्कार वितरण गरे ।
सो अवसरमा बोल्दै नगर प्रमुख मिश्रले विद्यार्थीका इन्नोभेटिभ आइडियाले मुलुकको विकास निर्माणमा टेवा पुग्ने बताए । स्थानीय तहको विकास, वेस्ट मेनेजमेन्टका सवालमा इन्नोभेटिभ आइडियाहरु महत्वपूर्ण रहेको जनाउँदै नगर प्रमुख मिश्रले चाँगुनारायण नगरपालिका विद्यार्थीहरुको क्षमता विकासका लागि सहकार्य गर्न तत्पर रहेको पनि बताए ।
नेकपा एमालेका भक्तपुर इन्चार्जसमेत रहेका मिश्रले सो अवसरमा स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको घोषणापत्रमा कलेजसँगको सहकार्यमा चाँगुनारायण नगरपालिकामा आविश्कार केन्द्र स्थापना गर्ने योजना बनाएको बताए ।
कार्यक्रममा नेक हल्ट प्राइज प्रतिष्पर्धाबाट प्रथम द्वितिय र तृतिय भइ ग्लोवल रिजनल प्रतिष्पर्धामा छनौट भएका शिशी, ड्रक स्वाड तथा पिएस ३ नामक टिमहरूलाई पुरस्कार दिइएको थियो । प्रथम भएको टिम शिशी भारतको मुम्बई शहरमा हुने क्षेत्रीय प्रतियोगितामा र वाइल्ड कार्ड अन्तर्गत छानिएको टिम पिएस ३ पाकिस्तानको इस्लामाबादमा हुने क्षेत्रीय प्रतियोगितामा सहभागी हुनेछन्।
कोभिड–१९ को असरबाट विश्वको अर्थतन्त्र भताभुङ्ग भई धेरैले रोजगारी गुमाएकोमा अब कसरी विश्वलाई काममा फर्काउने भन्ने विषयमा केन्द्रित भई उत्कृष्ट अवधारणा श्रृजना गरी क्षेत्रीय प्रतियोगिता पार गर्न सक्ने टिमहरूलाई जुन २० देखि जुलाई ८ सम्म भर्च्युअल रूपमा र जुलाई २५ देखि अगस्त १२ सम्म अमेरिकाको बोष्टन शहरमा भौतिकरूपमा हुने ग्लोबल आक्सेलेरेटर नामक ६ हप्ते कार्यक्रममा सहभागी गराइने छ।
उक्त कार्यक्रममा प्रत्येक टिमले देखाउने कुशलता मूल्याङ्कन गरी जम्मा ६ वटा टिमलाई न्यूयोर्क शहरमा हुने एक लाख अमेरिकी डलरको हल्ट प्राईज प्रतियोगिताको लागि छनौट गरिने छ। फाइनलमा विजयी टिमलाई अमेरिकाका पूर्व राष्ट्रपति बील क्लिन्टनले पुरस्कार प्रदान गर्ने कार्यक्रम रहेको नेक हल्ट प्राइजकी डाइरेक्टर टानिया लामिछानेले बताइन् ।
पुरस्कार वितरण कार्यक्रममा नेक हल्ट प्राइजको संस्करणमा विजयी भएका शिशी, ड्रक स्वाड र पिएस ३ टीमले आ–आफ्ना नविनतम अवधारणाहरु पनि प्रस्तुत गरेका थिए ।
0 प्रतिकृया