वी.पी. प्रतिष्ठानमा १२ वटा डाइलाइसिसका नयाँ बेडहरु थपिए
एक्सन खबर
धरान । वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृगौला रोगीहरुको उपचारार्थ नयाँ डाइलाइसिस उपकरण र बेडहरु थप गरिएको छ । ८ वटा वेडमा सञ्चालित इन्टर्नल मेडिसिन विभाग अन्तर्गतको डाइलाइसिस यूनिटलाई विस्तारित गरि २० बेड क्षमताको बनाइएको हो ।
थप गरिएको १२ वटा नयाँ वेडहरुलाई क्याथ ल्याब अगाडि नयाँ भवन निर्माण गरि छुट्टै डाइलाइसिस यूनिट स्थापना गरिएको छ । प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले डायलाइसिस बेडहरुको उद्घाटन गर्दै प्रतिष्ठानको सेवा विस्तारमा आफु गम्भिर भएर लागेको बताए । पछिल्लो समय मृगौलाका बिरामीहरु बढिरहेकोले ती बिरामीहरुलाई सेवा दिनका लागि डायलाइसिस बेड थप गरिएको डा. गिरीले बताए ।
‘यस भेगमा बढ्दै गएका मृगौलाका विरामीहरुलाई यस यूनिटले थप सहयोग मिल्ने तथा यस किसिमको सेवा विस्तारमा यस यूनिटले कोसेढुंगाको काम गरेको छ ।’ डा. गिरीले भने । पहिले सञ्चालनमा रहेको डाइलाइसिस वार्डमा हालको आइसियूलाई वेड संख्या वृद्धि गरी विस्तार गरिने योजना बनाइएको छ ।
जडान भएका डाइलाइसिस मेसिनहरु प्राविधिक रुपले उन्नत रहेका, विरामीहरुलाई सहज हुने प्रकारका, सञ्चालन गर्न सरल किसिमका भएको इन्टर्नल मेडिसिन विभागका प्रमुख डा. रबिन मास्केले बताए । उनले अब मृगौला रोगका बिरामीहरु प्रतिष्ठानबाट अन्त जानु नपर्ने जिकीर गरे ।
प्रतिष्ठानमा मासिक १ हजारको हाराहारीमा डाइलाइसिस हुने गरेको छ । जम्मा ८ वटा मेसिनले यति धेरै संख्यामा डाइलाइसिस गर्नु ज्यादै नै कठिन हुने गरेको थियो । उपकरण तथा बेड संख्या कम हुँदा डाइलाइसिस गर्न पालो नपाएर मासिक ५० भन्दा बढी बिरामीहरुलाई सास्ती हुने गरेकोमा अब उनीहरुलाई राहत मिल्ने प्रतिष्ठानले जनाएको छ ।
सन् १९९९ मा तत्कालिन उपकूलपति डा. शेखर कोइरालाको कार्यकालमा प्रा.डा. ओ.पी. काल्राको पहलमा मेडिसिन विभागका डा. संजिव कुमार शर्मालगायत नर्सहरु बेङ्मु तामाङ, शोभा गुरुङ र पुनम काफ्लेलाई वीर अस्पतालमा २ महिने डाइलाइसिसको तालिममा लिन पठाएपछि उपत्यका बाहिर पहिलो पटक प्रतिष्ठानमा २ वटा वेडबाट डाइलाइसिस सेवा शुरु गरिएको थियो । उक्त २ वेडले धान्न गाह्रो भएपछी विरामी आफैले घरमै गर्नसक्ने पेटबाट गर्ने ‘नियमित पेरियोनियल डायलाइसिस’ विधिको नेपालमै पहिलो पटक सफलतापुर्वक शुरुवात गरिएको थियो । उक्त विधि प्रतिष्ठानकै डा. सजिव कुमार शर्माले गरेका थिए ।
सन् १९९२ मै उपत्यकामा पहिलो पटक सिएपिडी विधिको सुरुवात गर्न खोजिए पनि सफलता हात परेको थिएन । सन् २००२ बाट प्रतिष्ठानमा शुरु भएको सिएपिडी विधी सन् २००७ सम्म नेपाल अधिराज्यभर प्रतिष्ठानमा बाहेक अन्य कतै विस्तार हुन सकेको थिएन । प्रतिष्ठानलाई सन् २००४ मा डा. शर्माको विशेष पहलमा बेलायतको रोयल लण्डन अस्पतालले ११ थान डाइलाइसिस मेसिन सहयोग स्वरुप उपलब्ध गराएको थियो । उक्त मेसिनहरु कतार एयरवेजले काठमाडौंसम्म निःशुल्क ढुवानी गरिदिएको थियो । तत्पश्चात मेडिसिन विभाग अन्तर्गतको डाइलाइसिस यूनिट स्थापना भएको थियो ।
उद्घाटन पश्चात आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपकुलपति डा. गिरीले प्रतिष्ठानको स्वास्थ्य सेवा तथा प्रशासनिक सेवातर्फ दिनानुदिन सुधार हुँदै गएको बताए । आफु उपकुलपति भएर आएको २ वर्षमा एक वर्ष मात्र राम्ररी काम गर्न पाएको एक्सन खबरसँग बताउँदै डा. गिरीले एक वर्ष प्रतिष्ठानका माफियाहरुसँग लड्दै दिन गएको जिकीर गरे ।
प्रतिष्ठानमा १०/१५ जना विभिन्न माफियाहरु रहेको दावी गर्दै उनले भने–‘२ वर्षमा १ वर्ष त यहाँका माफियाहरु सँग लड्दै मेरो दिन गयो । यी माफियाहरु प्रतिष्ठान बाहिर विजनेश गर्छन्, बिरामी बाहिर पठाउँछन्, बाहिर पसल सञ्चालन गर्छन् । प्रतिष्ठानको ७५ प्रतिशत राजश्व बाहिर पठाउनेहरुलाई परास्त नगरेसम्म प्रतिष्ठान सुध्रिँदैन । प्रतिष्ठान सुधार्न त्यस्ता माफिया विरुद्ध म लडिरहनेछु ।’ डा. गिरीले सरकार, स्थानीय नागरिकहरुले साथ र सहयोग गर्ने आफ्नो कार्यकालमा प्रतिष्ठानका सबै खाले समस्याहरु हल गर्ने जनाए ।
0 प्रतिकृया